Manoj Dhungana

ऊ पागल अवश्य छ तर विश्वास राख, उसको पागलपनमा सत्यता छ !

उपहार

मेरो कविता,
उपहार तिम्रो जन्मदिनको

आज खुलेर भनिदेउ प्रिय,
के चाहन्छौ तिमी ?

कवितामा उपहार
या उपहारमा कविता
चाहना तिम्रै, रोजाइ तिम्रै ।

समयको एउटा कालखण्ड
तिम्रो अदभूत सुन्दरता,
अनि भुनभुनाउने
हजारौ भमराहरु,

हो त्यहि भिडबाट निस्किएको
फरक धारको भमरा
मात्र एक मुस्कान पछ्याउँदै
कल्पेको थियो सुन्दर संसार ।

मेरो कविता
अझ भनौ साहित्यिक मेहनतले,
सफलता पाएकै हो
चन्द्रमालाई धर्तीमा ल्याउन
चन्द्रमामा दाग लगाउन,
ऐतिहासिक यात्रा सफल पार्न ।

साथ दिएकै हौ तिमीले
यात्रालाई गन्तब्यमा पुर्याउन
अगाध स्नेहका साथ
संगालिएका सपनाहरु साकार पार्न,
आजको यो स्वर्णीम युग जन्माउन ।

कहिले काहिँ म सुन्ने गर्छु
तिम्रा मनका तरंगीत आवाजहरु
आत्मग्लानी, दोषारोपण
अनि समाजका कानेखुसीका आभाषहरु

प्रियशी
तिमीलाई एउटा तितो सत्य त थाहा छ नि हैन ?
हत्केलाले सूर्यलाई छेक्न सकिन्न
तथापी छेकिएको आभाष दिलाउन सकिन्छ
त्यस्तै हो तिमीले सुनेका समाजहरु

आँगन पोल्दैमा र
झ्याई झ्याई बाजा बजाउँदैमा
सम्बन्धहरुलाई जिवीत राख्न सकिन्थ्यो भने
किन लाग्थे अदालतमा
सम्बन्ध बिच्छेदका फाइलका थाकहरु,
किन भड्किन्थे परदेशीका श्रीमतीहरु,
किन गाडिन्थे गिद्धे नजरहरु
निर्दाेष छोरी चेलीहरुमा
अनि किन भित्रिन्थे दोश्रो वा तेश्रो बिहे गरेर महिलाहरु ?

मेरो कविता
आज विबश छ सत्य ओकल्न
किन कि दुनिया स्वार्थी छ ।

तिमीले पस्किएको संस्कार,
देखाएको बाटो,
पर्याप्त छ हाम्रा लागि
समाज परिवर्तनका लागि
तिम्रा पुस्ताहरुका लागि

त्यसैले
आउ प्रिय, आउ
आज खुलेर प्रतिकारमा आउ
तिम्रो पुनर्जन्म हुदैछ आज
समाजले दिएका सारा पीडा भुलेर
यो खुल्ला आकासमा रमाउ

चुनौतीहरुको सामना गर्न
म सधैँ तिम्रो साथमा छु
जन्मदिनको खुसियाली मनाउ

मेरो कविता
तिम्रो जन्मदिनको उपहार
सुन्दरतालाइ निखार्ने
समाजसँग लड्ने हतियार
तिमी जे छौ उत्कृष्ट छौ प्रिय
तिम्रो जन्म उत्सवको भब्य शुभकामना ।

Posted on 2020-03-25