मेराे देश
बिदेशी नयाँ साथीहरु सँगको
परिचयमा म प्राय भन्ने गर्छु
सगरमाथा थाहा छ तपाइलाई ?
गौतम बुद्ध को नाम सुन्नु भएको छ ?
हो मलाई गर्व छ , नेपाली हुनुमा
जहाँ विश्वको सर्वोच्च शिखर सगरमाथा उभिएको छ
मेरो पहिचानको लागि ।
जहाँ शान्तिका अग्रदुत गौतम बुद्ध जन्मिएका थिए
विश्वमा शान्तिका सन्देशहरु बाँड्नका लागि ।
विश्वको नजरमा सगरमाथा
एउटा सफलताको शिखर
जसलाई हरेकले चुम्ने लक्ष राख्दछन्
कोहि सफल रहेका छन् त कोहि बिफल पनि
सगरमाथाको प्रतिनिधित्व गर्दैछ
मेरो टोपीले पनि ।
सगरमाथा नभएको भए मेरो देश
जो कसैको हुन सक्थ्यो
जसरी टोपी नभएको टाउको भएको छ ।
हो मेरो शिरको टोपी
सगरमाथाले देश चिनाए जस्तै
विश्वभरी मलाइ चिनाएको छ
नेपालीको पहिचान दिलाएको छ ।
सांसारिक मोहमा फसेर
मानिसहरुले पाउने दुःखको जड भन्नु नै
अज्ञानता हो
अज्ञानको अन्त्यष्टि नै ज्ञान हो
शान्तिको मार्ग हो ।
बुद्धका उपदेश र शान्ति सन्देश
विश्व भरी छरपस्टिएकै कारण पनि
ज्ञानीहरुको मन मन्दिरमा
आज पनि बुद्ध ज्यूँदा छन् ।
त्यसैले
मलाइ भन्न मन लाग्छ
नेपाल मेरो देश
सगरमाथा र बुद्धको देश
मेरो पहिचानको देश,
मेरो स्वाभिमानको देश ।
१२ जेष्ठ २०७३
Posted on 2016-05-25