Manoj Dhungana

ऊ पागल अवश्य छ तर विश्वास राख, उसको पागलपनमा सत्यता छ !

सुहाग रात

बेलुकि ढिला सम्म ननिदाएर कुरा खेलाउने, बिहान चाँडै बिउँझिएर कल्पनामा पौडि खेल्ने दैनिकी भएको छ हिजो–आज । कार्यालयमा हाकीम साबको गालि, अनि भान्सामा डढेको तरकारी, मेरो दैनिकी खलबलिएको भान परिरहेको थियो मलाई । मन एकातिर, तन अर्कोतिर दौडने भएपछि सायद यस्तै हुँदो हो, मन भरि अनेक तर्कनाका छालहरु आउँछन्, तिनै छालहरु सँग बग्दै बग्दै धेरै टाडा पुगिसकेको हुन्छु मानौ मलाई फर्किनु नै छैन झै गरि, निक्कै पर पुगेपछि देखिन छाड्छ त्यो छाल, र म कल्पनाबाट वास्तबिकतामा आइपुग्दा गाल पार्ने दुर्घटना घटिसकेको हुन्छ ।
आफ्नै बिश्लेषणमा हेर्दा मन स्थिर नहुनुका दुइ कारण थिए । पहिलो, गएको शनिवार धेरै दिन पछि सखी मनितासँगको लामो बार्तालाप । मनिता, मेरो बाल्यकाल देखिको छिमेकि, मिल्ने साथी, हामी दुबै हुर्केको एउटै आँगन, बाह्रखरी देखि १२ सम्म सँगै पढ्यौँ, उसलाई भाग्यले साथ दियो, अमेरिका पुगी, आज डलर कमाउँदै बिदेशी जिवनशैली बाँचिरहेकी छ, अनलाइनमा उ भन्दै थिइ,
– यहाँ कसैलाई कसैको मतलब हुदैन, सबैको आफ्नै दुनिया छ, आफ्नै स्वतन्त्रता छ, न त कसैले कुरा काट्छ, न त कसैको डर । हप्ता भरिको निर्धारित समयमा कमाएको पैसा बस्न र खानको लागि पुग्दो छ, काम के गर्ने भन्ने चिन्ता छैन, जसले जे गर्दा पनि श्रमको सम्मान छ । आइतवार साप्ताहिक छुट्टी हुने हुँदा हामी साथीहरु जोडी बनेर शनिवार बेलुकी नै शहर बाहिर स्वतन्त्रताको उडान भर्छौ र आइतवार बेलुकी सम्म फर्किन्छौ । मन मिलेपछि जो सँग जसरी बस्दा पनि हुने कुरा मैले यहाँ सिकेकि छु, नेपालमा जस्तो बिहे गरेको जोडी मात्र सँगै बस्नु पर्छ अथवा एउटीको श्रीमती भएर जिन्दगी भरि उसैको घर धन्दा, बुहार्तन भोगेर बस्नु पर्ने बाध्यता यहाँ छैन ।
साथीको कुराले अचम्भित पार्यो मलाई, बिश्वासै नलागेर उसको कुरा काट्दै प्रष्ट हुन चाहेँ, उ पहिले कि मेरी साथी जस्ति कहाँ रहिछ र अब, अगाडी भन्दै गइ,
– हो त साथी, मैले बिहे चाहिँ गरेकि छैन, लिभिङ टुगेदर भन्छन् यहाँ, मन मिले पछि बिहे गर्नु पनि पर्दैन, इच्छा लागुन्जेल श्रीमान श्रीमति सरह सुख भोग गरिन्छ, सँगै बसिन्छ, काम पनि दुबैले मिलेर बराबर गर्ने हो, तर हामी नेपाली हौँ, हाम्रो नेपाली सँस्कारमा कानूनीरुपमा कुमारीत्व भँग गर्न सुहागरात पर्खनु पर्छ । यहाँ कुमारीत्व खुलेआम बिक्रिका लागि राखिन्छ, जसले धेरै रकम लगाउँछ, उसैले भोग गर्दछ । हाम्रा अभिभावकहरुले यस्तो कुरा पचाउन सक्दैनन् त्यसैले गाउँतिर चाहिँ कसैको कानमा नपार ल, तँ मेरी प्यारी भएर मात्र तलाई भनेको ।
एघार पढ्दै गर्दा एउटा केटोले प्रेमपत्र पठाएको थियो उसलाई, चिठ्ठि धुजाधुजा पारेर फाल्दै मायाप्रितिको चक्करमा लागेर जिन्दगी बर्वाद पार्न हुन्न है साथी, सिधै बुवा आमाले रोजेको केटो सँग बिहे गर्ने हो, भन्ने साथीसँग झण्डै आधा घण्टा अनलाइनमा कुरा गरेर फोन राखेदेखि मेरो गिदी हल्लिएको थियो । मलाई उसका कुराहरु पचिरहेको थिएन, साँझ पर्नु भन्दा पहिले छोरी घर आइपुगिन भने अताल्लिने हाम्रा बा आमाले यो कुरा सुने भने के होला....?, म कल्पना पनि गर्न सक्दिन ।
दोश्रो कारण थियो गाउँमा भएका बुवाआमालाई ज्वाइ कमाउने रहर । हिजोआज हरेक पटकको कुराकानीमा बुवाआमाले उठाउन थालेको प्रसंग हो ज्वाइ ।
– हेर छोरी, गाउँमा सबैका छोरीहरुको धमाधम बिहे हुनथाले, पोहोरपरार बिहे गरेका तेरा साथीहरु त छोराछोरी काखी च्यापेर माइती आउन थालिसके, छोरी मान्छेको जात, एक दिन बिहे गरेर पठाउनै पर्छ, उमेरले पनि बीस कटिहालिस्, तरुनी भएकी छोरी सँधै यसरी घर बाहिर डेरामा एक्लै बसेर हाम्रा लागि भनेर किन दुख गर्छेस् नानी, राम्रो घरमा परिस भने रानी बनेर बस्न पाउँछेस, गलत ठाउँ परियो भने सँधै नोकर्नी भइन्छ त्यसैले बेलैमा बिचार गर्नु, हामीले त आफ्नो भाग्य अनुसार आधा जिन्दगी कटाइ सक्यौँ बाँकी पनि जेनतेन चलिहाल्छ, तेरो त सिंगो जिन्दगी बाँकी छ, एक पटक हुन्छ मात्र भनिस भने बिदेशमा बसेर कमाइरहेका केटाहरुको कुरा आइरहेको छ, हामी घर परिवार हेरेर कुरा अगाडी बढाउँछौ, हैन आफ्नै खुसीले कसैलाई मन पराकि छस् भने पनि भन्, के छ तेरो बिचार ?
बुवाआमालाई के भन्नु मैले, गलत पनि केहि भनेजस्तो लाग्दैन तर बिहे भन्ने शब्दले पनि शरिरका सारा रौँहरु खडा हुन्छन् । स्नातक सम्म पढेर बिहे गर्न पाए पछि दुःख पाइयो भने पनि आत्मनिर्भर हुन केहि सहयोग हुन्थ्यो कि भन्ने रहर त छँदैछ, घरको जेठो सन्तान भएको कारण बुवाआमालाई आर्थिक रुपमा सघाउने र भाइबहिनी पढाउने पनि आफ्नै जिम्मेवारी हो जस्तो लाग्छ । पोहोर पनि प्रतिनिधि सभा र प्रदेश सभा चुनाबताका बेरोजगार जिन्दगी तह लगाउन पाए अभिभावकको किसानी गरेर जम्मा पारेको दुइचार पैसा बचत हुने र आफ्नो पढाइ खर्च जुट्ने सोचेर म्यादी प्रहरीमा छिरियो । आज म्यादी भन्दा दिर्घकालीन र सहज जागीर भएकै कारण आफ्नो जिन्दगी धान्न र बुवा आमालाई आवश्यक पर्दा सहयोग गर्न सक्ने सम्मको भएकि छु ।
बुवाले त सजिलै भनिदिनुभयो आफ्ना कुरा, कसैलाई मन पराएकी छस कि, तेरो बिचार के छ, राम्रो खानदानमा केटा खोज्छौ भनेर । कसका बाबुआमा आफ्ना छोराछोरीको उज्वल भविश्य नचाहलान् र ? तर छोरीहरु सँग आफ्नो मनको कुरा भन्न सक्ने साहस पनि त हुनु पर्यो नि...., हिजोको दिनमा म्यादी बटालियनमा छोरीको मनले खाएकोे राजकुमार जो आज बेरोजगार छ, जिन्दगी बनाउने अभियानमा संघर्षरत छ । त्यसैले केहि बर्ष समय दिनुस बुवा, म उसैलाई माया गर्छु, उसैसँग मर्ने बाँच्ने कसम खाएको छु र छोरी पाल्न सक्ने परिपक्व ज्वाइ नबने सम्म म पढ्ने बाहनामा उसैलाई पर्खिरहेकीछु भन्ने हिम्मत मैले जुटाउन सकेकि छैन र मैले भन्न सकिन भने पनि जिन्दगीले गलत ट्य्राक समाउन सक्ने भएकै कारण म हरपल भित्र भित्रै खलबलिएकी छु, निकाशका लागि एउटा बिष्फोट पर्खिरहेकि छु ।
मोबाइल बज्यो, बिनोदको कल थियो, उठाएँ
– तिम्रो कोठा कहाँ हो भन त ?
– किन ? कहाँ छौ र तिमी ?
– म हेटौडा आएको छु, के ?
– हेटौडा..., नजिस्क न बिहानै बिहानै ।
– तिमी नजिस्क के, पहिले लोकेसन भन न, म बसबाट भर्खर ओर्लिएको ।
– ए ल ल, त्यहाँ अटो वा मयुरी पाउँछ, नगरपालिका रोड, मकवानपुर क्याम्पस गेट भन, म त्यहि आइपुग्छु ।
– ल हुन्छ
उसले फोन काट्यो, घडी हेरेँ बिहानको ७ बजिसकेको रहेछ, अब मैले तातो ओछ्यान नछोडी कुनै उपाय देखिन, हात मुख धोएर दुध लिने पैसा बोकेँ र निस्किएँ क्याम्पस गेट तर्फ । उसको आकस्मिक आगमनले म अचम्भित भइरहेको थिएँ, जसको कहिल्यै छलफल पनि भएको थिएन र उ मेरो कोठामा पहिलो पटक आउँदै थियो ।
म्यादीे बटालियनमा साँझ बिहान हुने क्रियाकलापमा बिनोद प्रति म अलिकति आकर्षित चाहिँ भएकै हो, साथीभाइहरुले ख्याल ठठ्ठामा हाम्रो नाम एक अर्कामा जोडिदिएर जिस्काउन थाले, यो मौकामा बिनोदले कतिखेर मेरो मन चोर्यो थाहै पाइन ।
उ चढेको अटो मेरै अगाडी आएर रोकियो, मुसुकक मुस्कुराउँदै हातमा दुइटा प्लास्टिक झोला र जकेट लिएर ओर्लियो र मेरो पछि लाग्यो । गेटैमा घरबेटी अन्टिले सोधिन्
– यी बाबु चाहिँ को हो नि नानी ?
मनले भन्यो किन चासो परेको होला यो अण्टिलाई मेरो कोठामा जो आए पनि, मैले पनि सफेद झुट बोलेँ निदिएँ
– दादा हो अन्टि, फुपुको छोरा, अहिले नाइट बसबाट आएको ।
भित्र छिरेपछि बिनोदले एउटा झोला बाट डब्बा निकाल्यो जसमा मेरो नामको जन्मदिनको केक र मैनबत्तिको पकेट थियो र अर्को झोलामा मेरो जन्मदिनको उपहार, जसमा सिंगमर्मरको एक जोडी मायालु सिसा भित्र कैद थिए । केहि दिन अघि जन्मदिन याद रहेपनि यो मेरो लागि योजना नै नगरिएको सरप्राइज जन्मदिन थियो ।
केकमा मैनबत्ति गाडेर बाल्ने, निभाउने, केक काट्ने आनन्ददायी कार्यक्रम शुरु भए, उसले अनुहार भरि क्रिम लगाइ दियो मैले यो सबैको बदलामा बिनोदलाई ओठे चुम्बन दिएँ, केटो हौसिएर अनुहारको केक खाए झै गरि जवाफ फर्काउन सफल । केक घरबेटी अन्टिलाइ अलिकति दिएँ सबै परिवारले बधाइ दिए, अंकलले कलम उपहार दिनु भयो ।
आज त बिनोदलाई हेटौडा घुमाउनु पर्छ, अफिस जान पाइन्न भन्ने सोचेर बिनोदलाई कोठामा राखेर बाहिर आएँ र बिदा लिन हाकिम साबलाई फोन लगाएँ ।
– गुड मर्निङ सर....,
– गुड मर्निङ एण्ड ह्याप्पी बर्थडे मिस
– थ्याङ्क्यू सर, हजुरलाई सबैको बर्थडे याद हुन्छ है ?
– केक खाने बाहना नै आफ्ना स्टाफहरुको जन्मदिन हो अनि याद राख्नु परेन त ?
– सर आज मेरो दादा आएको छ, उसलाई घुमाउनु पर्छ, म अफिस आउन पाउँदिन है ?
– हो र.., ल हेर मेरो केक खाने अवसर गुम्यो त आज ?
– केक खाउँला नि सर भरे भोलि
– ल ल ठिक छ, आजलाई छुट्टी, दाजुलाई हाम्रो हेटौडा राम्रो सँग घुमाइदेउ ।
– हस, थ्याङ्क्यू सर
कोठामा पस्दा बिनोद टोलाइरहेको थियो, झस्कियो
– किन टोलाएको तिमी..., के भयो ?
– केहि भएको छैन, कहाँ गएकि थियौ ?
– म त हाकिम साबसँग बिदा माग्न फोन गर्न गएको नि, अव तिमी आएको बेला, हेटौडा घुमाइदिनु पर्यो भनेर ।
– तिम्रो आज छुट्टी छैन र, शहिद दिवस हो त आज, छुट्टी होला भन्ने सोचेर सरप्राइज दिन आको म त
– मेरो सरकारी जागीर हो र त्यसरी सबै सार्वजनिक बिदामा छुट्टी पाउन...., बरु भन न, के खान्छौ आज ?
– के खुवाउछ्यौ ? म त तिमीले दिएको जे पनि खाइदिन्छु
– फटाहा कुरा नगर है, कुखुरा खान्छौ कि खसी भनेको मैले ?
– तिमीलाई के मन पर्छ ?
– मलाइ त खसी मन पर्छ ।
– ल हुन्छ खसी नै खुवाउ
– ल म लिएर आउँछु, बस्दै गर है त
आज जे हुदै थियो सबै पहिलो पटक हुँदै थियो, न त बिनोद मेरो कोठामा आएको थियो, न त उसले मेरो हातले पकाएको खाएको थियो । मैले सक्दो प्रयास गरेँ कि आजको खाना अत्यन्तै स्वादिष्ट र अविश्मरणीय रहोस् ।
नभन्दै तारिफ गरिगरि औला चाटीचाटी खायो बिनोदले । खाना खाएर एउटा अटो लिएँ दिनभरिका लागि भनेर, हामी दुइ मिलेर हेटौडा घुम्ने घुमाउने पनि पहिलो पटक हुदै थियो, यात्रा शुरु भयो बनस्खण्डीबाट । दक्षिणकाली, भुटनदेवी, चुरियामाइ, भूवनेश्वर, गोरक्षेश्वर, त्रिबेणीधाम जस्ता तिर्थस्थल पछि पुग्यौ पुस्पलाल पार्क र अन्तमा शहिद स्मारक पार्कमा रमायौँ ।
कोठामा फर्किदै गर्दा बिनोदले भन्यो
– बस पार्क जाउँ न, मेरो भरे फर्किने टिकट लिनु छ
– आजै फर्किन्छौ..., २–४ दिन बस न...,
त्यस पछिका केहि पल हाम्रा आँखाहरुले बोले, हामीले बोलेनौ
– त्यो दिन पनि आउला नि, धैर्य गर, आज त फर्किनै पर्छ म
मैले अटोलाई बसपार्क लैजान भने, उसले साँझ ८ बजेको काठमाण्डौको टिकट लियो र हामी कोठामा फर्कियौँ ।
धेरै घुमिएछ आज भन्दै बिनोद मेरो ओछ्यानमा ढल्यो, मैले पनि थकान महशुस गरेकी थिएँ, म पनि पलङको एक कुनामा बसेँ । बिनोदले आफ्ना औलाहरुले बिस्तारै मेरो हत्केलाबाट पाखुरा तर्फ स्पर्स गर्यो, म तरंगीत भएँ, संभवत यो उसको पहिलो स्पर्स थियो । बटालियन समूह माझ साथीहरुले जिस्काएकै भरमा हामीले एक अर्कालाई मन पराउन थालेको भएपनि हामीले कयौ रात फोनमा घण्टौ सम्म कुरा गरेका थियौ, मनबाट मनलाई छोएका थियौँ तर मात्र दुइ जनाको उपस्थिति र सामिप्यता आज पहिलो थियो । बिनोदले बिस्तारै मलाई आफ्नो अँगालोमा कसिसकेको थियो, मेरा शरिरका रौहरु जुरुक्कै उठेका थिए, उसका हातका औलाहरु यत्रतत्र सर्वत्र दौडदै काउकुति लगाइरहेका थिए मलाई । मैले हेर्न सकिँन, आँखा चिम्लिए र उसैमा समर्पित भइदिएँ । जिन्दगीकै सर्वश्रेष्ठ आनन्दको अनुभूति हुँदै थियो मलाई, उ खेलाउँदै थियो म रमिरहेँ ।
अचानक बाबुआमा सँझिए, हाम्रो संस्कार सम्झिएँ र बिनोदको अँगालोबाट आफूलाई छुटाउँदै भने
– जे सुकै गर बिनोद, म तिम्रो लागि हुँ, तिमी मेरो लागि, म तिमीलाई धेरै माया गर्छु तर म मेरो सँस्कार पनि छोड्न सक्दिन, मेरो जे जति छ सबै तिम्रै हो तर हक चाहिँ बिहे पछि मात्र ।
उ केहि समय मौन रहयो मानौ मेरो कुरामा सहमत थियो । उसले केहि खुकुलो पारिदियो मलाई तर उसका हातका औलाहरु रोकिएनन् मैले त्यो स्पर्समा जुन आनन्द पाएँ सम्भवत कतै यो आनन्द छैन जस्तै लाग्दै थियो । हामी बिच भविश्यका योजनाहरु बन्दै गए, मलाई घरबाट बुवाले भन्नु भएको कुराहरु सुनाएँ, साथीले अमेरिकाबाट गरेको कुरा सुनाएँ, अफिसको काम, सानातिना कुरा सम्झिएका जति सबै सुनाउन भ्याएँ, लाग्दै थियो म बिनोदको अगाडी रित्तिएँ । उ भने शान्त स्वभाबमा अशान्त जन्माइरहेको थियो । केहि बोलिरहेको थिएन तर धेरै बोलिरहेका थिए उसका आँखाहरुले । अन्तत उसले फेरी मलाई आफ्नो अँगालोमा कसेर भन्यो कति बोलेकि तिमी, थाक्दिनौ है भन्दै आफ्ना ओठहरुले मेरा ओठहरु थुनिदियो, हातहरुले हात बाँधिदियो खुट्टाहरुले खुट्टा छेकिदियो, मेरो मौखिक सहमति उसले पाएको थिएन तर शारिरीक सहमती उसले अघिनै पाइसकेको थियो ।
केहि समय मै हामी दुबै शान्त भयौ, दुबैको शरिर पसिनाले भिजेको थियो, जिन्दगीमा पहिलो भूल गरेको महसुस हुँदै थियो, परिणाम के हुने हो थाहा थिएन ।
जाने बेलामा बिनोदले जिम्मेवारी लिँदै भन्यो,
– जे भयो समयको माग थियो, यसलाई गल्ति मानेर आफूले आँफैलाई दोषी नबनाउ । परिणाम जे हुन्छ म सहर्ष स्वीकार्नेछु । फरक यत्ति हो कि बिहे पछि मनाउने सुहाग रात आज हामीले अग्रिम मनायौ, म तिम्रो हो, तिमी मेरी हौ, हामी दुबै एक अर्काका लागि हौ । मलाई दुइ वर्षको समय देउ, म तिम्रो बुवाआमाका लागि सक्षम ज्वाइ बनेर तिम्रो हात माग्न आउने छु ।
अँगालोमा कसेर मिठो यादहरु छोड्दै उ बस चढ्न बसपार्क तर्फ लाग्यो म आजको जन्मदिनमा आएको आँधिहुरी र साथीले भनेका कुराहरु सम्झेर फेरी टोलाउन थालेँ ।

२० फाल्गुन २०७५, श्रद्धानगर, वासुदेव मार्ग, हेटौंडा ४, मकवानपुर

Posted on 2019-03-04