मादक शुक्रवार
सुरा तान्नेहरु त्यसै त शुक्रवार आउनै हुन्न गुड फ्राइडेको नाममा रेष्टुरेन्ट चहारीरहेका हुन्छन्, शुक्रवारै थ्रि स्टार होटलमा कसैले सुरा, सुन्दरी र नाचगान सहितको निमन्त्रणा दिन्छ भने त्यो भन्दा आनन्दमयी पल के हुन सक्ला र । अपवादमा म पनि त्यस्तै एक साँझको मज्जा लिन पुगेथेँ, नौ सेप्टेम्बर, २०१६ शुक्रवार ।
साँझ ७ः०० बजे हेटौडाको मुटुमा रहेको होटल सामनाको छैटौं तल्ला पुग्दा म काठमाण्डौको कुनै दोहोरी वा डान्स बारमा छु कि जस्तो लाग्दै थियो । ढोकैको आडमा दुइ भाइहरु बसेर बिभिन्न गुणस्तरका मदिरा तथा शितल पेय पदार्थहरुले सेवा दिइरहेका थिए, अग्रस्थानमा नाच्नका लागि सजाइएको मन्च, रातो र पहेँलो रंगका मिश्रीत पर्दा, कानका जाली तर्साउने गरि नेपथ्यबाट घन्किरहेका गीतहरु, इन्द्रेनीका सातै रंग मिसिएर गीतसँगै मन्चमा छरिएका प्रकाशहरु अनि प्रकाशको धिपधिपमा छेकिँदै देखिँदै गीतको तालमा नृत्य गरिरहेका उर्वशीहरु । प्याला समाउँदै म पनि हराउन थाले अर्ध नग्न उर्वशी र गीतका भाव सँगै लच्किरहेका तिनका कम्मरहरुमा ।
हलको दक्षिण–पश्चिम कुना केहि कलाकार, प्राविधिक टोली र डिजेले ओगटेका थिए, पश्चिम कुनामा थिए आयोजक र दर्शकदिर्घामा गोलाकार टेवल तथा कुर्सीहरुका माझ हातमा गिलास लिएर पेग लगाउँदै नृत्यावलोकन गर्दैगरेका म जस्ता करिव सत्तरी सहभागीहरु ।
आयोजक मध्येका बडेमानको ज्यान भएका एक धम्मरधुस उठेर अगाडी आए, प्राविधिक टोली सँंग कानेखुसी गर्दै माहोललाई शान्त बनाएर माइक्रोफोन समाते र शुरु गरे मन्तब्य दिन ।
– साथीहरु, तपाईहरु अचम्म मान्दै हुनुहुन्छ होला आजको यो जमघट देखेर । हामीले हाम्रो व्यवसायीक सफलताको एउटा सिंडी पार गरेको अवसरमा यहाँहरुलाई बिशुद्ध मनोरन्जन दिनका लागि यहाँ निमन्त्रणा गरेका हौँ । काठमाण्डौबाट झिकाइएका कलाकारहरुले अबको एक घण्टा आफ्नो प्रस्तुती देखाउनु हुनेछ । हामी बिचका प्रतिभाहरु पनि हामी देख्ने, सुन्ने छौं र दोश्रो चरणमा यहाँहरुले पनि आफ्ना डान्स पाट्नरहरु छानेर साथमा नाच्न पाउनु हुनेछ । त्यतिन्जेल यहाँहरु चुस्कीको मजा लिंदै कलाकारहरुको हौसला बढाउन मद्धत गर्नुहुनेछ भन्ने अभिलाषा राखेका छौ, यहाँहरुको आजको साँझको बसाइ सुखद रहोस ।
एक घण्टाको नाच हेर्न पाइने भएर होला मेरो नजर देब्रेहातको घडीमा पुग्यो भर्खर ८ मात्र बजेको रहेछ । सात बजे देखि हेरेका सबै नाचहरु त बोनस पो रहेछ जस्तो महशुस गरेँ । कलाकारका नाममा भर्खर १७ देखि २२ वर्ष नकाटेका आठ किशोरीहरु र बीस देखि तीस वर्षका आठ युवाहरु । तिनै मध्ये कोहि डिजे, कोहि प्राबिधिक त केहि डान्सरका रुपमा प्रस्तुत हुदै थिए । डिजेले आफ्ना कलाकारहरुले नाच्ने सबै गीत पालै सित बजाउँदै गए ।
लगातार बजाइएका १५ गीतहरु मध्ये अधिकाँश हिन्दी चलचित्रका सुपरहिट गीतहरु तिनको छनौटमा परेका थिए ।
बालम पिचकारी ......, वेबीको बेस पसन्द है......., सैया सुपर स्टार......, सुरज डुवा हे यारो......., मुन्नि बदनाम हुइ ......., शुभ होने ना दे, रात सोने ना दे....... यस्तै यस्तै उत्तेजित गीतहरुमा कुनै एकल नृत्य, कुनै सामूहिक, कतै नाइटो दर्शन, कतै बक्षस्थल, नितम्ब अनि पिडुलाहरु । साथमा हुटिङ्ग र वान्स मोर त थियो नै, प्यालामा चुस्की नलाएकाहरुलाई पनि मादक बनाउन सक्ने सामथ्र्य थियो ति अप्सराहरुका अंग प्रदर्शन सहितको नृत्य प्रस्तुति । दर्शकदिर्घाबाट एक प्यालाधारी दर्शक हौसिंदै मञ्चका कलाकारहरुको सुरतालमा मिसिएर आफ्नो प्रतिभा देखाउन गए, तुरुन्तै प्राविधिक र कलाकारका टोलीले उनलाई मञ्चबाट तल उतारे ।
गीत बज्ने क्रमको निरन्तरतामा एउटा यस्तो गीत बज्यो, जो पूर्णरुपमा नेपाली थियो । जसका दुइ–दुइ महिला पुरुष कलाकारहरु पनि नेपाली भेषभूषामा मन्चमा देखिए, नेपध्यबाट गीत बज्यो,
लै बरी लै लै, लै बरी लै लै, लै बरी लै लै लै, कुरुसैले बुनेको झुम्के रुमाल खै...., रौ काटेर बुनेको झुम्के रुमाल खै ?
अघिल्लो बर्ष मात्रै हाँस्यकलाकारहरुद्धारा अभिनित चलचित्रको यो गीतले सबैलाई मन्च तर्पm आकर्षित गर्न सफल भयो । मन्चका कलाकारहरु सहित सबै निम्तालु, तथा आयोजकहरु अग्रभागमा जम्मा भएर जानी नजानी गीत सँगै कम्मर मरकाउँदै झुम्न थाले । हेर्दा हेर्दै डेढ घण्टा भएछ कलाकारहरुले आफ्नो आधिकारिक प्रस्तुति शुरु गरेको पनि । कलाकारहरुले तयारी गरेर आएका गीतहरु सकियो भन्ने सन्देश पाए पछि आयोजकले फेरी माइक्रोफोन कब्जामा लिँदै आफ्ना कुरा राख्न थाले ।
– साथीहरु, अव कलाकारहरु केहि समयमा रिफ्रेस भएर आउनु हुनेछ त्यसपछि हाम्रो नाचगानको अर्को श्रृंखलामा थप नृत्यहरु निरन्तर देख्न पाउनु हुनेछ । यो बिचको समय हामी आफ्ना प्रस्तुति देखाउनेछौं । यस संस्था सँग प्रत्यक्ष अप्रत्यक्षरुपमा गाँसिनुभएका तथा हाम्रो निमन्त्रणामा पाल्नुभएका यहाँहरु सबैलाई यो माहौलको सदुपयोग गर्नका लागि हार्दिक अनुरोध गर्दछौं । यसै क्रममा हाम्रा अभिभावक, संस्था प्रमुखज्यूले आफ्नो मन्तब्य सहित एउटा गीत सुनाउनु हुनेछ ।
आयोजकले आफ्ना कुरा राख्दै गर्दा अघि नाचिरहेका कलाकारहरु बाहिरिदै थिए । यता आधा भन्दा बढि दर्शकदिर्घाका सहभागीहरु प्यालाको अधिनमा थिए, कसैको बोली लरबराउन थालेका थिए त कोहि शारिरिक सन्तुलन गुमाउँदै थिए । संस्था प्रमुखले गीत गाइरहेका थिए माइक्रोफोनबाट, थप सहभागीहरु पनि माइक्रोफोन तिर आकषर््िात भए, कसैले गजल सुनाए, कसैले गीत, कविता, सायरी भन्दै आ–आफ्नो प्रतिभा देखाइ रहेका थिए, खाना तयार भइसकेको हुँदा कोहि खाने अभियानमा लाग्दै थिए, केहि बाटो तताउँदै थिए । घडी हेरेँ, रातीको साढे दश बज्दै रहेछ, मन चिसो भयो मेरो । म पनि मोटरसाइकल लिएर गएको कारण मापसेमा परिएला भनेर मनमनै डराउँदै थिएँ । जिल्लामा मिरा चौधरी सरुवा भएर आएदेखि राती नौ बजे पछि उनका टुकडीले रेष्टुरेन्टको ढोका–ढोका पुगेर मदिरा बन्द गराउने र अटेरी गर्ने रेष्टुरेन्ट ब्यवसायीहरुलाई समातेर लैजाने गरेको कुरा म बाट लुकेको थिएन ।
७२ सालको चैत्र ३१ गते शुक्रबार तथा सालको अन्तिम साँझ भएकोले हामी केहि साथीहरु सपरिवार नयाँ वर्ष मनाउन हेटौडा कै बालकुमारी पार्टी प्यालेसमा भेला भएका थियौं, राती बाह्र बजे सम्म बसेर नयाँ वर्ष मनाउने सपना चकनाचुर पारेका थिए मिरा चौधरीकी पिए रक्षा सहितको टोलीले । सुरक्षाको कारण देखाएर नौ बजे पछि मदिरा र दश बजे भन्दा पछि होहल्ला, बाद्यबादन तथा गीत बजाउन नपाउने अन्यथा कानुनी कारवाही गरिने भनेर तर्साएको सम्झदै थिएँ । त्यसैगरि ७३ श्रावणको अन्तिम साता मार्टिनि रेष्टुरेन्टका भूजेल भाइलाई नौ बजे पछि पनि मदिरा ब्यवसाय गरेको भन्दै गेटबाट सुटुक्क पसेको प्रहरी टोलीले एक रात लगेर खोरमा जाकेको याद ताजै थियो मलाई ।
सोहि हलमा अघि देखि प्यालामा मदिरा खन्याएर सेवा दिइरहेका होटलका भाइहरुलाई सोधेँ, “यहाँ चाहिँ मिरा म्याडमको समूहले नौ बजे बन्द गर्न आउँदैनन् ?”
“मुल गेट त नौ बजे नै बन्द हुन्छ सर तर हामी त सधै यस्तै ड्यूटी गर्छौं, गेष्टहरुको कार्यक्रम नसकि छोड्न मिल्दैन, कहिले काहिँ १२–१ पनि बज्छ, तर अहिले सम्म त्यसरी पुलिस आएको हामीलाई थाहा छैन सर ।” एक भाइले मुसुक्क मुस्कुराएर नढाँटी बेलिबिस्तार लगाए ।
आखिर पैसा नै रहेछ ब्यापार चलाउने हतियार पनि जस्तो लाग्यो मलाई । यो तीन तारे होटल रातको बाह्र एक बजे सम्म नाचगान र मदिरामा रम्दा पनि कसैको रोकतोक छैन । सानातिना होटल तथा रेष्टुरेन्ट ब्यवसायीहरु नै किन मिरा म्याडमको तारो हुनुपर्ने ? ब्यवसायीमात्र हैन पुलिसको तारो सर्वसाधारण पनि भएका छन् । सबै प्रहरी प्रशासनलाई थाहा छ कुन होटल, रेष्टुरेन्ट कहाँ कहाँ छ र कसले कति मदिराको कारोवार गर्छन् भनेर ? मापसे नै चेक गर्न चाहेको हो भने नौ बजे पछि सबै मदिरा ब्यवसायी होटल र रेष्टुरेन्टको मुल गेटमा बसेर जाँचे त भैगो नि, सतप्रतिसत सवारी चालक पक्रिन सकिन्थ्यो, तर यस्तो कहिल्यै गरेको देखिन मैले । बरु कुना काप्चाका शाखा सडकहरुमा ढुकेर रक्सी नै नखाएका सवारी चालकहरुलाई अर्काको जुठो लागेको मेसिनमा मुख लगाएर फुक्न लगाइरहेको भेटिन्छ टन्न जाँड धोकेर मापसे जाँच्न बसेका प्रहरीहरु । आखिर जति पनि मापसेमा समातिन्छन् सबै सर्वसाधारण हुन्छन् । ठूला घरानाका नागरिकहरु न त प्रहरीले समात्न सक्छ न त कार्वाही गर्न नै । उल्टै माथिल्लो तहका अधिकृतको फोन आउँछ र “गल्तिभयो हजुर, मैले चिन्न सकिन” भनेर स्यालुट ठोकेर पठाउन बाध्य हुन्छन् ।
फेरी आयोजकले नयाँ कुरा उदघोष गरे,
– साथीहरु, तपाईहरु केहि चिन्ता नलिनुस्, हामी सँग यातायताको पनि ब्यवस्था छ, यहाँहरुलाई सुरक्षित रुपमा घर पुर्याउने हाम्रो जिम्मा । खाना खाइसकेर हामी फेरी कलाकारहरु सँग जोडी–जोडी भएर नाच्ने छौँ, गाउन जान्ने साथीहरुले गाउनु हुनेछ । आजको यो शुक्रबार यहाँहरुको सानदार शुक्रबार हुने कुरामा म विश्वास दिलाउन चाहन्छु ।
म पनि ढुक्कै भएर रमाइलो गर्ने मुडमा पुगेँ, खाना खान लाग्दा अघि नाचिरहेकी मध्येकी एउटी उर्वशी सँगै परिन् । लेखक भएको नाताले आँखा, कान र मस्तिष्कलाई स्याटलाइट सरह प्रयोग गर्दै डाटा संकलन गर्नु मेरो धर्म । ता कि पाठकहरुले कथाका माध्यमले घटनाक्रमलाई सहजै रुपमा कल्पनामा ढाल्न सकुन् र सत्यतामा आधारित कथा बन्न सकोस् । यहि स्वभावले मलाई अलि बढि नै खोजिनिति गर्ने बनाएको जस्तो लाग्दै थियो । उनका ब्यक्तिगत र ब्यवसायिक सबै विषय वस्तुमा छिर्न खोजे । लजाइ–लजाइ जिन्दगीका पर्दाहरु खोल्दै थिइन् मेरा सामू, तर बिडम्बना, थोरै खानामा उनको पेट भरियो र लागिन् आफ्नै टोली भएतिर । गाउँमा प्लस टु सकेर उच्च शिक्षा अध्ययन गर्ने क्रममा काठमाण्डौ पसेकि उनी नाच सिक्न नाट्यकला केन्द्रमा भर्ना भइछिन्, नाच्न पनि जानिन् तर प्रस्तुति देखाउने ठाउँ छैन । ठेकेदार मार्पmत हातपर्ने पारिश्रमिक थोरै भए पनि नयाँ नयाँ ठाउँ गएर सभ्यहरुको भिडमा आफ्नो भब्य प्रस्तुति दिन पाइने र कहिले काँही रामै्र बक्सिस पाइने कारण यो समूहमा आवद्ध भएकि रहिछिन् उनी ।
अघि दर्शक दिर्घामा रहेका सहभागीहरु आधा भन्दा बढि हराइसकेछन् हलबाट । मुस्किलले बाँकी तीस–बत्तीस दर्शकहरुलाई मदिरामा झुमाउन उर्वशीहरुले नयाँ प्रयोग गरे । सबैका प्यालाहरुमा आफ्नै हातले मदिरा, सोडा, पानी, आइस पस्कदै गए । अघि नै प्याला छोडेकाहरु पनि हौसिएर फेरी पिउन थाले । गीत फेरी घन्कियो कानको जाली रन्किने गरि । कलाकार रुपी उर्वशीहरुले अलि बढि मात्तिएका, अलि बढि लर्बराएकाहरुलाई खोजिखोजी हात समाएर लिएर गए मन्चमा । बिस्तारै सबै मन्चमा चढे, कलाकार छानीछानी कम्मर जुधाएर सँगै नाचे, नचाए । सुरमा भएकाहरुलाई कलाकारले नाचका केहि स्टेपहरु पनि सिकाइ–सिकाइ नचाए ।
कलाकारहरु माथि दुब्र्यवहार नहोस भनेर आयोजकहरु बेलाबेलामा दुरी कायम राखेर सभ्य तरिकाले नाच्न आग्रह गर्दै थिए । पौने बाह्र बज्दा सम्म दर्शकदिर्घाका अधिकाँशलाई ढालिसकेको थियो मदिराले । कोहि टेवलमा निदाइरहेका थिए, कोहि हलचल गर्न नसक्ने अवस्थामा थिए भने दश जना जति होस मै देखिन्थे । अघि देखि बेलाबेलामा माइक्रो फोन लिएर आफ्ना कुरा राख्ने आयोजक मध्येका बडेमानका धम्मरधुस एउटी कलाकार सँग करिव वाँच मिनट देखि एउटै शैलीमा आफ्नो कुरा मनाउन खोजेको र नमानिरहेको परिस्थिति सहजै अनुमान गर्न सकिन्थ्यो । अचानक वातावरण शान्त भयो, सबै कलाकारहरु सोहि स्थानमा भेला भए, कलाकार सहितका प्राविधिक टोलीहरु आयोजकसँग चिढिएको अथवा सभ्झौता भन्दा बाहिरका कुराहरु भएको बुझियो । जसको कारण कलाकारहरुले भोलि बिहान फर्किने योजनालाई छोट्याउँदै तुरुन्तै आफ्ना सामान प्याक गरेर काठमाण्डौ फर्किने निर्णय गरेर हल बाट बाहिरे ।
आयोजकले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको र होटल बाहिर रहेको बस मार्पmत सबैलाई आ–आफ्नो वासस्थान सम्म सुरक्षित लगिने सूचना जारी गर्यो । सुरमा भएकाहरुले बेसुरेहरुलाई होटलको छैटौ तल्लाबाट होटल बाहिर सम्म ल्याउँदा बोलेका, दिइएका अभिव्यक्तिहरु वा भनौ तिनका बेसुरका कुराहरु निक्कै मार्मिक र अकल्पनिय थिए । लाग्थ्यो तिनका अवाजहरु रेकर्ड गरौँ र सुरमा भएको बेला तिनैलाई एक पटक सुनाउँ जस्ता ।
वास्तवमा त्यो सानदार शुक्रवार थियो दर्शक भएर बसेका म जस्ता आममानिसका लागि भने आयोजकहरुका लागि पनि हेटौंडामा नयाँ प्रयोग थियो काठमाण्डौका कलाकारहरुका प्रस्तुति सहितको मादक शुक्रवार ।
२५ भाद्र, २०७३, मनोरस वाटिका, श्रद्धानगर, हेटौडा – ४, मकवानपुर
Posted on 2016-09-10