Manoj Dhungana

ऊ पागल अवश्य छ तर विश्वास राख, उसको पागलपनमा सत्यता छ !

अम्रिकने माया

साँझ ५ बजे भक्तपुरे ह्यारी आफन्तहरु सहित कुरा छिन्न आउने भनिए पनि निलु र उनका आफन्त तथा निम्तालुहरु तीन बजे देखि नै पुरानो सिनामंगलको शान ब्याङ्केटमा तैनाथ थिए । खानपानको ब्यवस्था ब्याङ्केटले गरिदिने भएपछि काम खासै थिएन कसैको । पुरुषको अनुपातमा महिलाहरुको बाक्लो उपस्थिति अनि तिनका गहना र साडी हेर्दा प्रतिस्पर्धामा एक भन्दा अर्कि राम्री देखिने होडबाजी नै चलाए जस्तो लाग्दै थियो । हरेक महिलाहरु अलग अलग अत्तरका बास्नाहरुमा मग्मगाइरहेका थिए । निमन्त्रणा पाएको नाताले म पनि शुरु देखि तमासे भएको थिएँ अनि सुन्दै थिएँ महिलाहरुको घरी गहना र साडीको कुरा त घरी बेहुलो पट्टीका कुरा ।
निलु, भर्खरै समाज शास्त्रमा स्नातक सकेकी, हिस्सी परेकी, फरासिली तेइस वर्षकी तरुनी । केटो नआइपुग्दा सम्म उनी स्वतन्त्रताको आकासमा उडिरहिन्, अनेक पोजमा तस्विरहरु खिचाउदै थिइन् शान ब्याङ्केटको प्रांगणमा, घरी घुम्टोमा लुकेर त घरी घुम्टो उडाएर, घरी पोखरीको पानी छामेर त घरी बगैचामा ढलीमली गरेर । केटा सहितको झण्डै पाँच दर्जन मानिसहरुको टोली मूलगेटमा आएको खबर पाउना साथ बेपत्ता कुदिन् हल भित्र रहेको बेहुलीघर तिर । निलुका परिवारले स्वागत गर्दै हलमा प्रबेश गराए जम्बो टोलीलाई ।
केटोलाई मन्चमा चढाइयो, अघि सम्म कि चटपटे निलुलाई पनि लज्जालु र शान्त स्वभाव कि दुलहि बनाएर ल्याइयो मन्चमा ।
–जोडी चै भगवानले जुराइ दिएकै हुन् है ? केटाकेटी देखभेट नै नगरी कुरा छिन्दा पनि कस्तो चिटिक्क सुहाएको जोडी .... ।
–नाक चाहि अलि ठुलो रहिछ केटोको ।
–केटो जस्तो भए पनि के भो र अमेरीकामा बस्ने भएपछि भै गो नि ।
–नाम चै कस्तो असजीलो हो केटाको, ह्यारी रे, बरु हरी भन्नु नि ।
यस्तै प्रतिकृयाहरु सुन्न थालियो केटि पक्षका महिलाहरुबाट ।

पण्डितजीले कुरा छिन्ने बिधि सुरु गरे, ब्याङ्केटका बेहराले पाहुनाहरुलाई स्न्याक्स र कोल्ड ड्रिङ्कले सत्कार गरे । मन्चको कार्यक्रम सकिदा दुबैका गलामा बास्नादार फुलका माला थिए, आफन्तहरुले मन्च छोडीदिएपछि केटा–केटी हल्का मस्किदै बार्तालाप गर्दै गरेको प्रष्ट देखिदैै थियो । निलुका साथीहरुले सुन्दै नाचौं नाचौं लाग्ने नेपाली गीतहरु घन्काए, मञ्च अगाडीको खुल्ला भागमा निलुका दिदी बहिनीहरु गीत सँगै झुम्न थाले । निलुकि बहिनी शिलुले भावी दुलाहा–दुलहीलाई डोहोर्याउँदै ल्याइन् र केहि हद सम्म नचाउने प्रयास सफल पारिन् । नयाँ जोडीसँगै मस्किएर नाच्नेहरुको भिड बढ्दै जाँदा कति बेला दुलाहा–दुलही त्यो भिड बाट हराए कसैले पत्तो पाएनन् । सात बज्दा नबज्दै केटोको टोलीले खानपीन गरेर बिदा भए । अव बाँकी भए निलु र उनका निम्तालुहरु । निलु दिल खोलेर नाच्दै थिइन् आफ्ना दिदी बहिनीहरु सँग । उनका संङ्गीहरु भन्दै थिए उनले आज सम्म यसरी खुलेर नाचेको कसैले देखेका थिएन रे । सायद उनको जीन्दगीको यो रंगीन समयले उनलाई रंगाइरहेको थियो बिभिन्न रङ्गहरुमा ।

मेरा मनमा पनि खड्केको थियो ति महिलाहरु मध्ये कसैले भनेको कुरा, केटाकेटी देखभेट नै नगरी छिनेको कुरा । निलुको मन खोतलेर छताछुल्ल पार्ने रहर जाग्दै गयो । खानपिन चल्दै गरेपनि म जिज्ञासा मेटेर मात्र खाने निधो गर्दै उनलाई भेट्ने मौका पर्खदै थिएँ । अचानक मेरै सामू देखा परिन् । म ङिच्च दारा देखाउँदै आफ्ना कुराहरु तेर्स्याउन थालें ।

–जिन्दगीको नयाँ अध्याय शुरु गर्दैछौ, धेरैधेरै बधाइ निलु ।
–धन्यवाद, अव त तिम्रो पनि बेला भएन र भन्या, कहिले हो ?
–समय आउला नि मेरो पनि, खुसि छौ नि तिमी ?
–एकदम.., मेरो खुसि को सीमा छैन आज ।
उनले पलभर मै जवाफ फर्काइन् । मैले गर्न चाहेका सबै कुराहरु बिर्सीएँ, हतार हतार एउटा प्रश्न जन्माएर पछारेँ उनको सामू ।

–के रे नाम, ह्यारी भनेको हो ?
–हैन हो ह्यारी त, हरी खरेल हो, शुरुशुरुमा अमेरिकनेहरुले उच्चारण गर्न नजानेर ह्यारी भनेछन् अनि त्यहि फेमस भएछ अहिले ।
–आज सम्म तिमीले कति पटक भेट्यौ हरीलाई ?
–अमेरिकाबाट आउनु भएको तीन दिन भयो र मेरो आजको भेट पनि तेश्रो हो ।
झनै अचम्भित बनायो मलाई निलुको जवाफ र आत्मविश्वासले ।
–आजको युगमा पनि तीन दिनमा जीन्दगीको फैसला गर्न सम्भव छ र निलु ?
–म पनि त्यस्तै सोच्थे, केहि महिना अघि सम्म । तर सम्भव रहिछ र त (हाँस्दै) आज फैसला गरेँ मैले ।

हाम्रो सम्बन्ध बाल्यकाल देखि कै थियो । उनी बहिनीकी साथी भए पनि म उनको साथी भन्दा कम थिइन । उनीहरुका सबैकुरा म सम्म आइपुग्थे । बहिनीले बिएससी नर्सिङ रहर गरेर पढ्न बाहिर गएदेखि बहिनीको सट्टा पनि म नै साथी भएको थिएँ निलुको । उनको र मेरो परिवारमा आउने, बस्ने र खाने सामान्य भएको कारण सायद उनलाई खुल्न गाह्रो भएन म सँग । गफकै सुरमा उपस्थित भिडबाट केहि पर एकान्ततिर डोर्याइन् उनले मलाई अनि सन्तुष्ट पार्दै गइन् मेरा जिज्ञासाहरुलाई ।

–वहाँ अस्ति आउनु भएको हो अमेरीकाबाट एक महिनाको लागि । आएकै दिन म वहाँलाई रिसीभ गर्न एयरपोर्ट पुगेँ र वहाँको घर भक्तपुर सम्म पुगेर फर्किएँ, त्यो हाम्रो पहिलो प्रत्यक्ष भेटघाट थियो । दोस्रो भेट हिजो वहाँलाई बुवा ममी संग भेटाउन घरमा बोलाएँ र आज तेस्रो भेटमा कुरा छिनियो र तीन दिन पछि बिवाह गरेर सधैका लागि एक हुदैछौं । तथापी हामी बिगत ६ महिना देखि फेसबुक, स्काइप र भाइवरको माध्यमबाट भेट्दैछौ र मानसिक रुपमा धेरै नजिकिएका छौ । घर परिवार बिच पनि कयौ चरणका बार्ताहरु हुँदै आजको निर्णय सम्म पुगिएको हो ।

–आखिर त्यस्तो के जादु भयो निलु जसको कारण आज सम्म हरेक दिन, साँझ–बिहान देखिएका, नजिकैबाट संगत गरेकाहरुलाई तिमीले नियाल्न सकिनौं, विश्वास गर्न सकिनौ तर आज कहिल्यै नदेखेको एउटा अन्जान ब्यक्ति सँग तिमी जिन्दगी बिताउन तयार भयौँ ?
म भाबुक भएँ, अनायासै मेरा आँखाहरु रसाए,अँध्यारोका कारण उनले मेरो नजरमा छचल्किएको आँशु देखिनन् म सम्हालिए, आँशुहरु आँखैमा सुकाएँ ।
–त्यस्तो जादु नै भएको भन्न लायक पनि केहि छैन, बढेकी छोरी घरमा भएपछि आँखा लगाउने धेरै हुँदा रहेछन् । तीन चार वर्ष देखि पाहुना बनेर घरमा आउने महिला नातेदारहरुको आँखाको तारो भएकी थिएँ म । अधिकाँसको मुखमा एउटै कुरा हुन्थ्यो, “छोरी त हलक्कै बढिछ, बिहे गर्ने बेला भएछ त अव” कहिले काहिँ खासखुस गरेको पनि सुन्थें नातेदारहरुले “यति राम्रो बानी ब्यवहार, स्वभाव भएकीलाई आफ्नै नातामा पार्न पाए कति जाती हुन्थ्यो ?” ममी–बुवाले छोरी पढ्दैछ, पढाइ पुरा नगरी र ऊ आफैले बिहे गर्ने रहर नगरे सम्म कुरा नचलाउने भनेर टारीदिनु भएथ्यो त्यो पल । मेरो कुरा गर्ने हो भने मलाई कलेजमा मात्र हैन स्कुल देखि नै प्रेम–पत्रहरु टन्नै आउँथे । अधिकांश पत्रहरुले मेरो रुपको, यौवनको वर्णन गर्दथे । बेनामी पत्रले आधा रात सम्म मन तरंगीत गराउंथ्यो । पत्र लेख्ने मान्छे चिन्न मन लाग्दथ्यो, केहि नामहरु अनुमान लगाउंथे तर यकिन गर्ने आधार म संग थिएन । दोहोर्याइ, तेहेर्याइ पत्र पढेर मख्ख पर्थे, मलाई के देखेर मन पराए होलान् जस्तो लाग्थ्यो, फेरी मलाई मन पराउने पनि मान्छे रहेछन् भनेर दंग पर्थे, तिनका पत्रका भावहरुमा मन डुलाउथेँ, प्रफुल्लित हुन्थें तर भोलि पल्टै मेरो मनले भन्थ्यो कि मेरो मनको राजा हुन सक्ने कोहि छैन । त्यसैले पनि होला आज सम्म मैले कसैको प्रेम–पत्रको जवाफ फर्काइन । पोहर श्रावणको पहिलो सोमबार म र ममी पशुपती मन्दिरबाट फर्किने क्रममा बाटोमा रन्जु फूपु (बुवाको ठूला बुवाकि छोरी) ले ममीलाई भनेकि थिइन् ।
–भाउजु नानु यति सोझि र शान्त छिन्, जहाँ पायो त्यहि बिहे गरेर दिँदा कस्तो पर्ने हो दुलाहा ? बरु मेरो कान्छा ससुराको जेठा छोरालाई दिनुपर्छ है ?, उनी जाँड रक्सी केहि खाँदैनन्, लप्पन छप्पन केहि नजान्ने सोझा छन्, आठ बर्ष देखि अमेरीकन सिपाइ भएर टन्नै कमाका पनि छन् । यसपाली बिहे गर्न खोजिराछन्, के छ हजुरको बिचार ?
अमेरीका बस्ने र टन्न कमाउने भनेको सुनेपछि ममीको तेस्रो नेत्र खुल्यो, अहिल्यै छोरी दिउँकि जस्तो गर्नुभो तर फुपुले बिहे जस्तो कुरा दाजु सँग पनि छलफल गर्नु र नानुको पनि बिचार बुझ्नु पर्छ भनेपछि घरमा मेरो बिहेको कुरा शुरु भयो । म स्नातकको अन्तिम वर्षमा थिएँ, बिवाहको सम्बन्धमा मेरो राय माग भयो । मैले केहि निर्णय गर्न सकिंन, कयौँ देखिएका अनुहारहरु सँग त जिन्दगी बिताउने प्रसंगमा म सन्तुष्ट थिइन भने यो देख्दै नदेखेको ब्यक्ति कसरी हुन सक्ला मेरो जीवनसाथी ? मन सम्हालिएन, फेसबुक मार्फत फूपुले केटोको दर्शन गराइदिइन् केटो आहा भन्ने लायक त थिएन तर छि भन्नुपर्ने पनि केहि थिएन, सानै देखि (अंकलकी छोरी) बहिनी सँगको मेरो आत्मियता रहेको कारण उसको राय बुझ्न चाहेँ, उसको जवाफ सिधा र प्रष्ट थियो ।
–अमेरिका जान पाइने भएपछि अरु थोक किन हेर्छेस्, जमाना पैसाको हो, पैसाले सबैथोक समायोजन गर्छ । अहिले मान्छे अमेरीका जान भनेपछि नक्कली बिहे गरेर त जान्छन् तँलाइ त ग्रिनकार्ड होल्डर सँग साँच्चिकै बिहेको कुरा आको छ । मैले भनेको मान्छेस् भने खुरुक्क हुन्छ भनिदे । आखिर आफन्तहरुले ल्याएको कुरा हो नराम्रो पनि त ल्याएका छैनन् होला नि ।
सरल र सहज रुपमा बहिनीले दिएको जवाफले मलाई घाइते बनायो । मन भित्र एउटा पाप जन्मियो “बहिनी पनि स्वार्थी रहिछ” धेरै सोचेँ अन्तमा भविश्य केहि नसोची ममी बुवाको आज्ञाकारी बनेर समय सँग सम्झौता गरेर बिहे गर्न राजी भएँ । बुवाममीले कमसेकम ६ महिना समय पाए बिहेको तयारी गर्न र मनमा रहेका जिज्ञासा मेटाउन सजिलो हुने भनेर समय माग्नु भयो तर केटो दशै मनाउँन आउँदा बिहे नगरि नछाड्ने भनेपछि बुवाममीले छोरी दिने कुरामा राम्रो सँग नबुझि र तयारी नगरी नदिने अड्डी लिनु भयो । मेरो बिहे नहुने कुरा बहिनीले थाहा पाए पछि ऊ राजी भइ बिहे गर्न र फूपु मार्फत बहिनीको कुरा चल्यो बिहेको । दशैमा घर आएको केटोले मंसिरमा मेरै सामू बहिनी बिहे गरेर लग्यो, म हेरेको हेर्यै भएँ । सायद भावीले मेरो भाग्य यस्तै लेखेको थियो होला भनेर चित्त बुझाएँ ।
फेरी रञ्जू फूपुले आफ्नै नातामा पर्ने अर्को केटाको कुरा ल्याइन् । उनी पनि अमेरीकामा सात बर्षदेखि संघर्ष गरेका र अहिले राम्रो ब्यवसाय गरेर जमेका सोझा केटा भन्दै फेसबुकमै दर्शन गराइन् । केटाको पढाइ, सम्पत्ती सहित तीन पुस्ताको खोजीनिती गनुभयो बुवाले, फूपु रेडियो बजाए जस्तै बजिरहिन् । द्धन्दकालमा पढिरहेको केटो माओवादीको शिकार नहोस भनेर बाबुआमाले बिदेश पठाएका रहेछन्, जसको कारण केटोले स्नातक पुरा नगरेको देखियो । फूपुले हतार गर्नुपर्दैन दाजु, दुबै पक्षमा कुरा मिले बिहे गर्ने हो, बिचार गर्नुहोला म उता पनि कुरा चुहाउँछु भनेर बिदा भइन् ।
एक दिन साँझ फेसबुकको म्यासेन्जरमा नयाँ साथी बनाउने अनुरोध आयो, हेरेँ हरी खरेलको रहेछ । फोटो खोलेर हेरेँ, काटीकुटी त्यहि अनुहार जुन फुपूले देखाएकी थिइन् । मन ढक्क फुलेर आयो, के गर्ने के नगर्ने भयो, ३–४ दिन फेसबुक नै खोलिन । त्यसपछि आत्मबिश्वास बढ्यो जे त पर्ला भनेर अनुरोध स्वीकार्दै साथी बनाएँ, केटो अनलाइन मै रहेछ, तुरुन्तै म्यासेज आयो ।
–हाई, रञ्जु दिदीले कुरा गर्नुभएको होला मेरो बारेमा ।
–हजुर ।
मैले यत्ति हो जवाफ फर्काएको, त्यसपछि फेरी ६–७ दिन हाम्रो कुरा भएन । एक दिन फेरी अर्काे म्यासेज आयो ।
–के गर्दैछौ आजकल ?
उसको प्रश्नको जवाफ फर्काउँदै, त्यहि सवाल उसलाई सोध्दै गर्न थालेपछि बल्ल हामी बिच दोहोरो कुरा शुरु भयो । मेरो बायोडाटा सबै उसले लियो, मैले उसका सबै कुराहरु खोतलेँ । दुबैका भविश्यका योजना र आ–आफ्नो कल्पनाको जीवनसाथीका चर्चा पनि गरियो । हाम्रा म्यासेजका गफहरुले प्रगती गर्दै हामी भिडीयो च्याट तर्फ़ उन्मुख भयौं । पहिलो पटकको भिडियो च्याट निक्कै असहज थियो हाम्रो, ऊ मलाई घुर्थ्यो, म उसलाई, निःशब्द भएर । त्यसपछि एक हप्ता हाम्रो सम्पर्क भएन । दोश्रो भिडीयो च्याटमा हामी एक अर्कालाई हेरेर हाँसी मात्र रहयौं । फेरी ४–५ दिन शान्त, तेस्रो पटकबाट बल्ल बोली फुट्यो दुइटैको । नेपाल र अमेरिकाको समय मिलाउनु त थियो नै दुबैको फुर्सद मिलाउन खोज्दा कहिले काँही हाम्रो सबै भन्दा दुस्मन नेपाल टेलिकम र नेपाल बिधुत प्राधिकरण हुने गर्दथ्यो, कहिले नेट छैन त कहिले बिजुली । फलस्वरुप हामीले कहिले काहीं गफ्फिने क्रममा निन्द्रा माया मारेर रात छर्लङ्ग पार्दथ्यौ । फेसबुकमा गाँसिएको मित्रतामा टुसा पलाउँदै गर्दा मलजल गर्यो भीडियो च्याटले । अनि कति नै समय लाग्दो रैछ र अम्रिकनेको मायाजालमा फस्न ? बरु यता बुवाममी भने केलाउँदै हुनुहुन्थ्यो उसको ग्रिनकार्डको सत्य तथ्य ।
–रिफ्युजी भएर बसेकाहरुले आफ्नो देश आउन पाउँदैनन् रे आइहाले भने जान पाइन्न रे अनि हाम्री छोरी कसरी जान पाउँछे त अमेरीका ? जान नपाउने भए त राम्रै हैसियतको सरकारी जागीरे ज्वाइ त नेपाल मै पनि पाइन्छ नि ।
बुवा एकातिर सरकारी जागीरे अर्कोतिर आफ्नी एकलौटी छोरीको भविश्य पनि बनाउनु थियो वहाँलाई । तर मेरो भर्खरै शुरु भएको मायाको चल्लो मर्ने संकेत देखियो, मैले हरिलाई घरमा चलिरहेका सबैकुरा नढाँटी शेयर गरेँ । उसले मलाई चित्त बुझाउन अमेरीकामा ग्रिनकार्ड पाउन सकिने कानुनी आधारहरु, भिसाका प्रकारहरु र हाल आफूसँग रहेको वास्तविक कागजातहरु र भविश्यमा बिहे गरेर म त्यहाँ पुग्न सकिने विकल्पहरु सबै शेयर गरेपछि मैले पनि त्यसैको आधारमा आफन्तहरुलाई बुझाउन खोजेँ ।
अन्ततः हामी दुबैका अभिभावकहरु एकले अर्कोको घरजग्गा सम्पत्ती, पारिवारिक स्थिति सबै जाँचपडताल गरे र बार्तामा बस्न राजी भए । नटुंगिएका र अस्पष्ट सबै कुराहरुको छलफल चल्यो, दुबै पक्ष प्रष्ट भए बिहे गर्न र गराउन । केटो असारमा आएर झ्याई पार्ने भयो अनि केटि पनि अमेरिका पुग्ने भइ एक दुइ सालमा । बाबुआमाकोे मन्जुरी सँगै भविश्यको अमेरीका बसाइ साकार हुने देख्दै थिएँ म । त्यसपछि पो झाँङ्गियो त मेरो र अम्रिकनेको मायाप्रिती स्काइप, भाइवर, फेसबुकमा जताततै । अव त आफ्नै भइयो जस्तो लागेर होला, उसका माग अनौठा र गोप्य हुन्थे, मैले पुरा नगर्नुपर्ने कारण पनि केहि थिएन । बिजुली र इन्टरनेटले साथ दिएसम्म चौबिसै घण्टा जस्तो कानमा इयरफोन र हातमा उसैले पठाएको आइफोनमा उसै सँग भिडियोमा रमाउँदा हामी स्पर्स बाहेकका हरेक कुरा प्रत्यक्ष भेटघाट सरह नै पाइरहेका थियौ, एक आपसमा मनमुटु साटीरहेका थियौं । अनि बल्ल महशुस भयो मलाई, आखिर मन नै त हो रहेछ सबैथोक । अव तिमी आफैं भन, जीन्दगीको फैसला गर्न तीन दिन कम हो त ?
उनका माया प्रेमका कथा सुन्दै गर्दा भाबुक मेरो मनले ट्र्याक भन्दा बाहिर गएर नयाँ प्रश्न जन्माइदियो ।
–मैले प्रेम प्रस्ताव राखेको भए के तिमीले स्विकार्थ्यौ निलु ?
–सायद त्यो दिन आएको भए आज यो दिन आउथ्यो र ?
भाबुक हुदै प्रश्न माथि प्रतिप्रश्न राखेर आफन्तका भिड तर्फ़ मिसिइन् निलु । खानपिनको अन्तिम चरण चल्दै थियो, कोहि घर फर्किने तयारीमा थिए । उनको प्रतिप्रश्न कुनै शिकारीले छोडेको बाँण झैं मेरो मनमा रोपियो । आखिर गल्ति मेरै थियो, उनलाई के थाहा उनका हातमा परेका सबै बेनामी पत्रहरु मैले जन्माएको थिएँ भनेर । लुकिलुकि एक्लै माया गर्ने, आफ्नो परिचय दिन नसक्ने मायालुहरुले पाउने पुरस्कार सायद यस्तै हुन्छ । म शान ब्याङकेटबाट चुपचाप बाहिरिएँ र नजिकैको मधुशाला छिरेर अम्रिकने ह्यारी–निलुको पिरतीका कथा अनि खुल्न नसकेको आफ्नो विगत दुबैलाई बिर्सने कोसिसमा भोकोपेटमा चुस्कि लगाउँदै गएँ ।

१७ भाद्र, २०७३, मनोरस वाटिका, श्रद्धानगर, हेटौडा – ४

Posted on 2016-09-02