Manoj Dhungana

ऊ पागल अवश्य छ तर विश्वास राख, उसको पागलपनमा सत्यता छ !

जन्मदिन

यादवजी को जन्मदिन भोलि अर्थात मंसिर २६ गते भए पनि २५ गते बिहानै देखि आफन्त र मित्रहरुले टेलिफोन र मोबाइलमा घण्टी बजाइरहे शुभकामना टक्र्याउन । मोबाइलको म्यासेजमा पनि थपिदै थिए शुभकामनाहरु । टेलिफोन राखेर उनी सोच्न बाध्य भए, एक दिन अगाडी नै कसरी ओइरिन थाले शुभकामनाहरु । फेरी मोबाइल बज्यो, उनका एक नजिकका मित्रको फोन थियो, आपूm अलमल्लमा परेको कुरा साथीलाई सुनाएपछि थाहा पाए कि उनको फेसबुक एकाउण्टले राति १२ बजे देखि नै जन्मदिन भनेर प्रचार गरेको रहेछ ।

टन्न जाँड धोकेर बेहोसीमा सडकमै लडेको जड्याहा भोलि पल्ट बिउँझिँदा जस्तै छ्यांग भए उनी, बिक्रम सम्बत र इश्वी संवतको मेल नहुँदा पहिले पनि कुनै कुनै साल कहिले एक दिन अगाडी कहिले एक दिन पछाडी जन्मदिन पर्ने गरेको कुरा सम्झेर । हेर्दाहेदै उनी चालीस बसन्त पार गर्दै एकचालीस औं वर्षमा प्रवेश गर्दैछन् यो २६ गते देखि । अघिल्ला वर्षहरुमा केक काट्ने, साथीभाइ जमघट गराएर पार्टी गर्ने यादवजीको यसपालि कुनै जोश जाँगर देखिँदैन, न त खुसी नै बरु जन्मदिन सम्झेरै फतक्कै गलेका छन् झोक्राएका छन् उनी । केहि दिन देखि अफिसियल तनावका कारण उनले फेसबुक पनि हेर्न भ्याएका थिएनन् । याद मात्र आएको भए उनी कमसेकम जन्मदिन आसपास केहि दिन एकाउण्ट बन्द गर्ने सोचमा थिए ।

“हैन किन एकाबिहानै टोलाउन थाल्नु भयो तपाई ? कसले के भनिदियो टेलिफोनमा ?”

हातमा चिया लिएर आएकी उनकि श्रीमती रमिला उनको भाव बुभ्mन खोज्दै थिइ । मोबाइलमा अर्को म्यासेज आयो ः “जन्मदिनको शुभकामना सर” ।

चिया समायउँदै भन्छन् “के टोलाउनु नि, हेर्न यहाँ आप्mनो जन्मदिन भोलि छ, आजै देखि टेलिफोन, मोबाइल र म्यासेजबाट शुभकामना आको आइ छ । हिजो अस्ति याद भाको भए त्यो फेसबुक बन्द गर्न हुन्थ्यो २÷४ दिनलाई, यो कुरा यादै भएन । त्यहि हेर्दै शुभकामना दिँदै, आज दिनभरी दिक्क भइने भो, अझ फेसबुकमा पनि कत्ति शुभकामना आएका होलान् ।”

“त्यति सानो कुरामा पनि किन धेरै सोच्नु भाको ? सबैलाई धन्यवाद भनिदिनुस न त, भोलिको सट्टा आजै शुभकामना दिन्छन भै गो, हैन मेरो जन्मदिन त भोलि हो भन्नु भो भने भोलि पनि यत्तिकै हो ।”

“हैन यो बुढेसकालमा पनि के को जन्मदिन मनाउनु, अब त छोराछोरीको पो पालो हो त ।”

“ओहो.. ओहो.. हेर न यो बुढा पनि....., पोहर सम्म साथीभाइ बटुलेर, केक काटेर भोज ख्वाएको मैले कहाँ बिर्सेको छु र ? आपूmले मासु नखाने भएपनि बुढाको जन्मदिन रमाउन् न त भनेर मासु पुलौ तयार गर्ने म ज्यूदै छु ।”

“उहिलेका कुरा खुइलिए के बुढी, पोहर सम्म त म पनि युवा नै थिएँ । पच्चिस वर्ष देखि चालीस बर्ष सम्मका मान्छे युवामा गनिन्छन् क्या , अव त एकचालीस लागियो त.., के चुरीफुरी गर्नु ? छोराछोरी पनि १८÷२० वर्ष भइसके, बरु हामीले पनि यो केक काट्ने भोज खुवाउने बिदेशी संस्कार हो यसको सिको गर्नुहुन्न र त्यसमा हुने खर्चलाई असल काममा लगाउनु पर्छ भनेर छोराछोरीलाई असल बाटो देखाउनु पर्ने ठाउँमा कहाँ केक काट्ने पार्टी गर्ने तिर लाग्नु ?”

“बल्ल बुढाको घैटोमा घाम लाग्यो कि क्या हो...., हाम्रो देशका नेताहरुको घैटोमा पनि यस्तै घाम लाग्द्या भए साँडेले गाइ ओघटेको जस्तो ती साठ्ठी सत्तरी बर्षका बुढाहरुले सरकार र कुर्सी ओगटदैन थे कि, तर खै मलाई त बुडाको पनि भर लाग्या छैन है, भोलिको दिन नसके सम्म म त केहि भन्न सक्दिन । त्यो नरेन्द्रबाबु आएर “कहाँ हुन्छ त्यसरी, तेरो जन्मदिनमा मैले पार्टी खान नपाउने ?” भनेपछि तपाईको मुड फेरीइहाल्छ अनि “जा जा बुढी मासु किनेर ल्याएर भुट्दे त” भनेर अह्राउने मलाई नै हो । नरेन्द्रबाबुले बोतल बोकेर आइहाल्नु हुन्छ ।”

“यसपालि त्यस्तो नहोला बुढी, मलाई मुड नै चलेको छैन भन्या । त्यसमाथि चालीस बर्ष पुरा भइयो बाँच्ने उमेर सकिन लाग्या हो कि जस्तो पो भा छ त ।”

“ह््या.., त्यस्तो अशुभ नबोल्नुस न हजुर पनि । यो धर्तीमा जन्मेपछि एक दिन मर्नै पर्छ भन्ने त सबैलाई थाहा भएकै कुरा हो नि । त्यसलाई पनि निरन्तर सम्झेर डराइरहने हो भने बाँच्नु को के अर्थ ?  बरु बाँचुन्जेलमा केहि यस्तो काम गर्नुस जुन कामले गर्दा मरेर गएपनि दुनियाले तपाईलाई सम्झीरहोस् न ।”

“यो चाहिँ सहि कुरा गरिस् है तैले । मलाई पनि भित्रै देखि यस्तै केहि गर्न मन लागेको हो के । तर गर्ने के भनेर पो अल्मलिएको छु । पहिला पहिला जस्तो भए कुवा खनाएर पनि नाम राख्न सकिन्थ्यो अहिले त अब घरघरमा धारा छ कुवाको पनि  के महत्व ?”

“हजुर मान्छे चै हो के..., कुन जुगमा त्यो घाँसेले खनाएको कुवा त्यतिबेलाको आवश्यक्ता थियो र पो त्यसको महत्व रहयो आज त्यो कुवा सँग दाँजीएर हुन्छ ? आजको आवश्यक्ता अनुसार पो सोच्नुपर्छ त । बरु यसो बजार घुम्नुस् आउँदा अलिकति हरियो सागपात, नुनतेल, चीनी पनि किनेर ल्याउनुस् अनि बजार सर्वे पनि गर्नुस, सामूहिक हित हुनसक्ने जस्तो सामाजिक काम गरे पनि भै गो नि ।”

“कहिले काँही त मेरी बुढी पनि काइदा कुरा गर्छे, हेरौ न त यसपालि जन्मदिनमा केहि नयाँ गर्न सकिन्छ कि । ल तँ चाहि झोला, पैसा र लिस्ट ठिक पार्दै गर् म फ्रेस भएर आउँछु ।”

यादवजी साढे सात बजे बजार पुगे, श्रीमती रमिलाकोे लिस्ट अनुसार सामान किन्दै गए, फर्किने बेला उनको नजर सडकको पारी पट्टी पर्यो । नगरपालिकाले उठाउन नभ्याएको फोहरको डंगुरमा केहि ८ देखी १४ वर्ष सम्मका देखिने केटाहरु आगो बालेर तापीरहेका थिए । उनले नजिकै गएर नियाले, च्यात्तिएका मैला कपडा, जिउभरी मयलको पत्र, कोहि जाडोले कामीरहेका देखेर सारै माया लागेर आयो उनलाई । उनले आफ्नो मोबाइल झिकेर फोटो खिच्न तेर्साए । केहिले मुन्टो लुकाए, केहिले पोज दिए, एउटाले प्वाक्क बोल्यो ।

“ए अंकल, किन फोटो खिचेको हाम्रो ? कति रुपैयामा बेच्नु हुन्छ यो फोटो ? ”

“सडक बालकको कुरा सुनेर चकित भए यादबजी, हैन तिमीलाई कसले सिकायो हँ यस्तो कुरा ? कसले बेच्छ तिमीहरुको फोटो अनि कस्ले किन्छ ? हामीलाई अरुण सरले भन्नुभएको ।”

“को हो अरुण सर भनेको ?”

“हामीलाई माया गर्ने मान्छे हो वहाँ । वहाँले भन्नुभाको खैरेहरुले हाम्रो फोटो खिचेर नेपालमा यस्ता गरिब छन् भनेर कता कता पेश गर्छन् रे अनि हाम्रा लागि आउने पैसा आपैm लिन्छन् रे । आजकल त नेपालीहरुले पनि त्यस्तै गर्न थाल्या छन् भन्नु हुन्थ्यो आज फेरी तपाईले फोटो खिच्नुभयो ।”

“म त्यस्तो मान्छे हैन बाबु हो, म त तिमीहरुका लागि केहि गर्न सक्छु कि भनेर हेर्दै थिएँ, घर गएर सल्लाह गरौला भनेर फोटो खिचेको । अनि त्यो अरुण सर के गर्नुहुन्छ ? कहाँ बस्नु हुन्छ भन्न सक्छौ ? ”

“त्यो त हामीलाई थाहा छैन तर वहाँ हामीलाई भेट्न हरेक दिन आउनु हुन्छ, राम्रा कुरा सिकाउनु हुन्छ । सधै खान दिनु हुन्छ । हामीलाई यो सडक बाट लगेर घरमा राख्ने, राम्रो सँग बस्न, खान दिने, पढाइदिने, राम्रो मान्छे बनाउने पनि भन्नु भएको छ ।”

“अनि कति बजे आउनु हुन्छ त अरुण सर ?”

“बिहान १० बजे तीर, साँझमा साढे सात तिर ।”

“तिमीहरु कति जना हुन्छौ यहाँ ? सधै बस्ने यहि हो ? अहिले त हामी ७ जना हो, कहिले बढ्छ, कहिले घट्छ,ठेगानै हुँदैन । हामी यतै हुन्छौ, वहाँ आए पछी हामी यहि होटलमा खाना खाने गरेका छौ ।”

“ल त्यसो भए म पनि भरे बेलुकि वा भोलि बिहान तिमीहरुको सर भेट्ने गरी आउँछु, बरु एकचोटी सबै जना एकै ठाउँमा बस त म एउटा फोटो लिन्छु ।”

सबै बालकहरुले सामूहिक फोटो खिच्न पोज दिए र यादवजीले मोबाइलमा कैद गर्दै आफ्नो बाटो लागे ।

घर पुग्नासाथ उनले आफ्नी धर्म पत्नीलाई सबै बृत्तान्त सुनाएर फोटो देखाए । उनीले पनि फोटो र घटनालाई मध्य नजर गर्दै सल्लाह दिइन् जन्मदिनका अवसरमा सबैका लागि सुइटर किनेर उपहार दिनका लागि ।

त्यो भन्दा पहिले साँझ साँढे सात बजे बुढाबुढी नै एक पटक अरुण सर र बालकहरुलाई भेट्न जाने सल्लाह भयो ।

भर्खर साढे आठ बज्दै थियो, यादवजी लाई कहिले साँझको सात बज्ला र बजार जाउँ जस्तो भयो । खाना खाएर अफिस गए, अफिसमा पनि शुभकामनाको ओइरो लाग्यो । उनले आज मेरो जन्मदिन हैन नि.., भन्न लागेका थिए, तुरुन्तै उनलाई श्रीमतीले भनेको कुरा याद आयो । दुइ दिन जन्मदिन मनाउनु भन्दा एकै दिनमा धन्दा सकिन्छ भन्ने सोचेर उनले सबैलाई धन्यबाद फर्काए । साथीहरु कोहि ट्रि«ट माग्दै थिए त कोहि पार्टी खोज्दै थिए । उनले भैहाल्छनि, भनेर औपचारीकता मात्र पुरा गरिरहे । सबैको नजरले उनलाई अघिल्ला दिनहरुको तुलनामा गंभीर देखिरहेका थिए । उनको मस्तिस्कमा ति सडकबालकहरुका अभाब र मलिन अनुहार, पोहर परार मनाउने गरिएको जन्मदिन र नरेन्द्र सँग सुर हराउने गरि खाने गरेको ह्वीस्की घुमिरहेको थियो । एकै ठाउँमा बसेर सकाइने ह्वीस्कीको खर्चले ति बालकहरुको धेरै आवश्यक्ता पुरा गर्न सक्ने उनको अनुमान रहयो ।

बिहानको दृष्य र साँझको योजना नरेन्द्रलाई नभन्ने हो भने उसले भोलि पनि बोतल बोकेर नआउला भन्न सकिन्न । त्यसैले ऊ अफिस बाहिर निस्किएर नरेन्द्रलाई फोन गर्यो र सबै नालीबेली लगायो ।

यादबजीको कुरा सुनेर नरेन्द्र झन खुसी भयो र साँझ ऊ पनि सँगै बजार जाने भयो ।

घर अगाडी एउटा कारले हर्न बजाएको सुनेर यादबजीले ढोकाबाट चिहाए,

“ए नरेन्द्र, दुइ मिनट पख है भाउजु तयार हुदैछे ।” नरेन्द्रले हुन्छ को इसारा गर्दै गाडीको इन्जीन बन्द गर्यो ।

क्षण भरमै तीनैजना नरेन्द्रको कार चढेर बजार पुगे । वरिपरी बालकहरु राखेर एउटा हँसिलो अनुहारको लिखुरे ब्यक्ति मम खुवाउँदै, खाँदै थिए । उनीहरुको प्लेट हेर्दा लाग्दै थियो मम को पहिलो गाँस मात्र हालेका थिए उनीहरुले । सबै बालकहरुले चोर औलाले यादबजी तीर इसारा गर्दै त्यो पातले हँसीलो ब्यक्तिको ध्यानाकर्षण गराए । यादबजी रमिला र नरेन्द्रले आफ्नो परिचय दिए ।

“नमस्कार, म अरुण शर्मा, मास्टरको बिद्यार्थी, मैले थेसिसको बिषय छानेको थिएँ सडक बालक र जीन्दगी शिर्षकमा । त्यसैको शिलशिलामा मैले यिनीहरुलाई भेटँे, किन बालकहरु सडकमा आइपुग्छन् ? यसको रोकथाम के हुन सक्छ भन्ने बिषयमा जान्न यिनीहरुको दैनिकी अध्ययन गर्दै गएँ । आँखाले देखिने र नदेखिने सबै पिडा पनि महशुस गरेँ । मैले आफ्नो थेसिस त सकाएँ तर यिनीहरु जहाँको तहँी रहे । मैले यिनीहरुको बारेमा धेरै कुरा बुझिसकेँ, मैले जति यिनीहरुका लागि अरु कस्ले गर्न सक्ला र जस्तो मनमा आयो । यिनीहरुलाई सडकबाट उठाएर लैजाने र यिनका परिवार खोजी गरी परिवारमा स्थापित गर्ने सपनाले डेरा जमायो । बिदेशबाट जागिरको लागि राम्रो अफर आएको थियो तर यिनीहरुको भविश्य अन्तकार बनाएर आफ्नो भविश्य कसरी बन्ला र ? भन्ने सोचका कारण बिदेश गईन र यहि अभियानमा लाग्दै छु  । साँझ बिहान आउँछु, खुसी साट्छु, जानेका कुरा सिकाउँछु । केहि सरकारी तथा गैरसरकारी निकाय सँग सहयोगको अपील गरेको छु । आशा गर्दैछु, सम्भवत चाँडै नै यिनीहरु सडकबाट बासस्थान पुग्ने छन् ।”

यादबजीका बुढाबुढी तथा नरेन्द्र अरूण सरको कुरा सुनेर टोलो भए ।

“यो पो हो त पून्यको काम ।” यादबजी हौसिएर बोले, “म पनि केहि सहयोग गर्ने सोच्दैछु, ल भन्नुस के गर्दा सहज हुन्छ यिनीहरुलाई ?”

“तपाईहरु जस्ता सहयोगी हातहरुको यिनलाई खाँचो छ, धैर्य गर्नुस केहि समय, बासस्थानको ब्यवस्था भयो भने सिंगै घर बसाउनु छ । त्यसपछि यहाँहरुलाई जानकारी गराउछु म ।”

रमिला र नरेन्द्रले अरुण सरको अभियानको भब्य तारिफ गर्दै आपूmहरु निरन्तर सहयोगमा जुट्ने बाचा गर्दै भोलि उनीहरुलाई यादबजीको जन्मदिनको अवसरमा सुइटर दिन चाहेको  बताए ।

बालकहरु जाडोमा सुइटर पाउने सुनेर दंग परे । बिहान ९ बजे सुइटर सहित भेटघाट गर्ने बाचा गदै रमिलाले सबै बालकहरुको शरिरमा बित्ताले नापेर हिसाब लगाउदै गइन् । बालकहरु र अरुण सर सँग बिदा हुदै तीनै जना लागे बजार सुइटर खरिदका लागि ।

बिहान पौने नौ बजे अरुण सर र बालकहरु तयारी अवस्थामा थिए । पटक पटक सहयोगको आश्वासन दिनेहरु, सरकारी निकाय तथा नाम चलेका सबै पत्रकारहरुलाई जानकारी गराएछन् अरुण सरले । यादबजी श्रीमती र मित्र नरेन्द्र सहित समय मै उपस्थित भए । अरुण सरले यो सबैखाले ब्यक्तित्वहरुको सहभागिताको अवसर सदुपयोग गर्दै पृष्टभूमिका अतित देखि बर्तमान सम्मका सबै इतिहाँस केलाएर राखिदिए । त्यसपछि रमिलाले अगाडी आएको बालकको साइज हेदै सुइटर छानेर श्रीमानको हातमा राखिदिँदै गर्न थालिन् । यादबजीले पनि सबैलाई आफ्नै हातले स्वीटर लगाइदिए । सँगैको होटलले उसस्थित सबैलाई चिया तथा बिस्कुट बाँड्यो । चिया बिस्कुटर र बालकहरुको आजको खाना मैले खुवाएँ भन्दै नरेन्द्रले होटलमा भूक्तानी गरे ।

यादवजी खुसी भएर सबैलाई सम्बोधन गर्नथाले,

“आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु, तपाईहरु पनि याद गर्नुहोला यी बालकहरु, जो हाम्रै समाजमा आफ्नो भविश्य खोज्दैछन् । तपाई हामीको सानो सहयोग, यिनीहरुका लागि उपलब्धि मुलक हुने रहिछ भन्ने थाहा पाएँ आज । मैले चालीस बर्षको जिन्दगीमा कयौ पटक हजारौ खर्चिएर भब्य जन्म उत्सव मनाएँ तर आज जुन सन्तुष्टि पाएँ बिगतका सबै जन्मदिन फिक्का महशुस भएको छ । त्यसैले आउनुस सबै मिलेर एउटा कोशिष गरौँ । यि बालकहरुका भाग्य बिधाता बन्नका लागि, धन्यबाद । ”

यादबजी सुइटर लगाएका बालकहरु सँग सामूहिक तस्बिर खिचाउँन थाले साथमा साथी र श्रीमती सहित, अनि तुरुन्तै फेसकुकको बालमा हालेर लेखेः–

“आज जिन्दगीले नयाँ बाटो भेटेको छ, आत्मसंतुष्टी मिलेको छ । जन्मदिनको शुभकामना टक्र्याउनुहुने सबै मित्र तथा आफन्तजन प्रति हार्दिक नमन ।”

२०७३ जेष्ठ ३१ गते

मनोरस वाटिका, हेटौडा –४

Posted on 2016-06-13