दोषी उमेर
भरखरै एसएलसी परिक्षा सकिएर फुर्सत पाएकी सन्ध्या कामको खोजीमा शहर पसिन् । घरको आर्थिक स्थिती नाजुक भएकै कारण सानै देखि मामाले लगेर पालन पोषण गरेपनि, मावलि पनि मध्यम वर्गिय परिवार भएकोले सानै उमेर देखि नै रेडियोमा बालकार्यक्रम संचालन गरेर आफ्नो खर्च टार्ने गर्थिन् सन्ध्या ।
सायद भाग्यले साथ दियो उनलाई, शहरको प्रमुख राजमार्गमा निकै चल्तीमा रहेको बंशिलाल कस्मेटिक स्टोरमा सेल्स गल्सको काम हात पर्यो । एसएलसी पछिको खालि समयलाई अस्थायी रुप मै भए पनि सदुपयोग गर्न रोजगारीमा छिरेकी सन्ध्याको इमान्दारिता र पारिवारिक परिस्थिति थाहा पाएपछि कलेजको फि तथा पकेट खर्च पुग्ने गरि पारिश्रमिक मिलाइदिए साहुजी बंशिलाल ले, अनि कलेज जाने समय पनि ।
बंशिलाल भारतिय मुलका व्यापारी भए पनि बीसौ वर्ष देखि उनी नेपालमै वसेर ब्यापार गरेका कारण सबैका प्रिय पात्र थिए । उनका दुई छोरा र एक छोरी नेपालमै जन्मिएका थिए । श्रीमती तथा छोराहरुको सहयोग पाएर तीन वर्ष अघि मात्र उनले किरानाको गल्ला छोडेर शहर कै सबै भन्दा ठूलो कस्मेटिक स्टोर खोलेका थिए । दैनिक व्यापारकै क्रममा सन्ध्या माथि छड्के नजर पर्दै थियो बंशिलालका जेठा छोरा आदित्यको । घट्नाक्रमहरुले दुबैलाई नजिक गराए, एक आपसमा लुकिछिपि पिरती मौलाउँदै गयो । किशोर मनमा चल्ने समुन्द्री छालहरुले बगाउँदै लग्यो दुबैलाई ।
बंसिलालले यो कुरा त्यतिवेला थाहापायो जतिबेला उनिहरु मनोरम शहर पोखराको बिन्धवासिनीमा बिहे सकेर मधुमासमा थिए ।
“आफ्नै छोराले वर्बाद पार्यो मेरो लगानी, यत्रो पढाएँ, बढाएँ आज काम गर्ने केटि लिएर हिड्यो, बिहेमा आउने तिलक सबै घाटा लगायो” भनेर कुर्लिरहेका बंशिलाल कान्छो छोरो माथि रिस पोख्दै थिए, कतै उसले पनि यसैगरि भगाएर लैजाला कि भन्ने शंकाले ।
बंशिलालको एउटै गुनासो थियो छोरो सँग, “केहि कुराको कमि थिएन, भनेको भए आफ्नै संस्कारमा बिहे गरिदिन पनि तयार थिएँ, मन बहलाउन जहाँ जान पनि स्वतन्त्र थियो, तर अर्कै संस्कारको केटि त्यो पनि आफ्नै कामदार सँग शारिरीक आकर्षणका लागि बिहे नै गर्यो ।”
दुबैले चोखो र पवित्र माया गरेको, एक अर्का बिना बाँच्नै नसक्ने भनेर बाचा कसम खाएर देखाए पनि एक दिन बंशिलालको कुरा सत्य साबित हुन पुग्यो । मुस्किलले चार वर्ष टिक्यो सन्ध्या र आदित्यको जोडी । १५ वर्षको कलिलो उमेरमा गरेको निर्णय आखिर गलत थियो भन्ने कुरा उन्नाइस वर्ष मै थाहा पाए दुवैले । व्यापार घाटा तथा घरायसी उल्झन अनि फरक संस्कार बिच कारक तत्व बन्न बाध्य सन्ध्याले निर्णय गरिन् सम्बन्ध बिच्छेदको । उता आदित्य सम्बन्ध विच्छेदको बिपक्षमा थियो तर कुन्नि के थियो सन्ध्याको मनमा बुझ्न सकेन उसले, बुझ्यो त केवल “छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेढी”। किनकि उ यतिबेला ऋणमा चुर्लुम्म डुबेको थियो ।
यौवनकालको उमेरको दोष थियो त्यो, जिवनको निर्णय गर्ने उमेर थिएन । समयको मागलाई परिपूर्ति गर्दै गए दुवैले । यौवनको समुन्द्रि छालहरुमा निरन्तर वगिरए, प्यास मेटियो पुनः अलग्गिए, दुनियाँका सारा सच्चा प्रेमि–प्रेमिका बदनाम गराएर ।
Posted on 2013-06-12