Manoj Dhungana

ऊ पागल अवश्य छ तर विश्वास राख, उसको पागलपनमा सत्यता छ !

दोश्रो बिहे

जुनेली र मदनको वैवाहिक जीवनले आज सोह्रौँ वसन्त पार गरिसकेको छ । मदन पेशाले सफल ब्यापारी हुन् भने जुनेली गैर सरकारी बिद्यालयकी शिक्षिका । परिवारमा एक छोरा मिलन अनि छोरी बिन्दु सहितको सानो परिवार अनि भौतिक सुविधा सम्पन्न बडेमान घर । स–साना पारिवारिक खुसीहरुमा पनि यिनीहरुले टोलै हर्षौल्लासमय बनाउने गर्दछन् । घरेलु नारीको आफ्नो स्वाभिमान तथा स्वतन्त्रता एवं समाजका हरेक क्षेत्रका उदाहरण हुन मदन र जुनेलीको जोडी ।

समय बित्दै जाँदा मदनले ब्यापारमा अत्यधिक सफलता हासिल गरे, ब्यवसाय बढोत्तरीसँगै कर्मचारी भर्ना गर्दै गए । मिलन—बिन्दुको गुणस्तरीय शिक्षामा कुनै कमि हुन दिएनन् । मिलन आठ कक्षामा पढ्दथ्यो, उसको पढाई तथा अनुशासन नबिग्रियोस भनेर राम्रो छात्रवास सहितको बिद्यालयमा भर्ना गरिदिए । बिन्दु घरै नजिकको बिद्यालयमा कक्षा ६ मा पढ्दछिन् । कक्षामा पढाईरहँदा एक दिनको कुरा हो, जुनेलीको पेट अचानक नराम्रोसँग दुख्यो केही समय आराम गरेपछि दुखाई बन्द भयो, तर उनले यसलाइ सामान्य रुपमा लिइन् यो क्रम हरेक २÷३ दिनमा दोहोरिन थालेपछि मदनलाइ बताइन् । मदनले राम्रो अस्पतालमा लगेर परिक्षण गराएपछि थाहा भयो कि जुनेलीलाई पाठेघरको क्यान्सर भएको रहेछ । मुना–मदनको भन्दा पनि गाढा मायाप्रिती रहेको जुनेलीको जीवनमा यो दुर्घटना औंसीको रात भैm अन्धकार साबित भयो ।

मदनले धेरै सम्झाएर आफ्नो माया सदैब बराबर रहने बचन दिएपछि जुनेली उपचार गराउन राजी भईन् । उपचारपछि बिश्रामको क्रममा केही महिना घर रहँदा उनको शिक्षिकाको रोजगारी पनि हातबाट गयो । मदनको जीवन पनि घरायसी तथा ब्यापारिक उल्झनमा अल्झदै गयो । एकातिर ब्यापारको शिलशिलामा हुने शहर बाहिरका गोष्ठी तथा भेटघाट, अर्कोतिर घरमा थला परेकी श्रीमती । सघाउने, सहारा दिने कोही थिएन उसलाई । मिलन शहर बाहिरको छात्रबासमा, बिचरी १० बर्षकी बिन्दुको भरमा के घर चल्नु । अपरेसनपछिको बिश्राममा रहेकी जुनेलीलाई फेरि एक पटक गाह्रो भएपछि मदनले एम्बुलेन्समा अस्पताल लगे, परीक्षणपछि डाक्टरले पथ्थरी भएको पत्ता लगाए । ब्यवसाय र घरायसी उल्झन बिच फसेका मदनले जुनेली को उपचार तथा स्याहार गर्नुपर्ने भएपछि कर्मचारीहरु मध्येका बिश्वासिली नूतनलाई थप जिम्मेवारी दिने सोच राखे ।

नूतन, पारिवारीक आर्थिक स्तर कमजोर भएको कारण दश कक्षा पढ्दा पढ्दै बिगत तीन वर्षदेखि मदनको व्यापारमा भर्ना भएकि ईमानदार सहायक कर्मचारी हुन् । मदनले थप जिम्मेवारीको काम दिएर आर्थिक सुबिधा बृद्धि गरिदिएपछि अझ बढी सक्रियताका साथ कारोवार तथा सामान्य घरायसी कार्यहरुमा समेत सघाउन थालिन् । जुनेलीको अस्वस्थता र मदनको नैरास्यता विच सान्त्वना दिने नजिक कि नूतन नै भरपर्दो व्यक्ति भइन् ।

कामको सिलसिलामा मदन र नूतन विचको दुरी नजिकिदै गयो । आवश्यकताको परिपूर्ति वा भनौ एक अर्काको परिपुरक, दुबैको बिचारमा समयको माग हो त्यो । ब्यापारको काम भनेर पटक–पटक मदन र नूतन शहर बाहिर जाने गरेको जुनेलीले थाहा नपाएकि त होइन, तर बिचरीलाई के थाहा, सधैं कर्मचारी भनेर साथ लिएर हिड्ने कर्मचारी नूतन आफना पतिकै रखौटी भई सकिन् भनेर ।

पतिले बिवाहका सुरुका दिनहरुमा अरुको श्रीमतीसँग लागेको, केटीहरुलाई प्रेमपत्र पठाएको कुरा जुनेलीले बिर्से जस्तो गरे पनि मदनलाई यो राम्रो अवसर थियो कर्मचारीसँगको शहर बाहिरको यात्रा । नूतनले आफ्नो घरको आर्थिक अभावलाई नजिकबाट नियालेकि थिईन् तसर्थ उनको लागि यौवनको भरपुर आनन्दको अनुभूती गर्न पाईने, आर्थिक लाभ पनि हुने र इज्जतमा दाग लाग्ने डर पनि नरहने आप्mनै साहुसँग हिड्दा । नूतनले ख्यालख्यालैमा अवसर प्राप्त गरिन सर्वश्व सुम्पिइदिन भोको अनि प्यासी मदनलाई ।

करिब एक बर्ष, मदन नुतनको प्रेम प्रसँग राम्रै चल्यो, त्यसपछि नूतनलाई लाग्यो कि कति दिन यो गुपचुपको जीवन जिउने ?, म पनि त मदनको जीवनको हिस्सा भईसकेकी छु ।, के म समाजको अगाडि मदनको हुन सक्दिन र ? मदनको राम्रो मुडको लगन मिलाएर आफ्नो कौतुहलता पस्किदै नूतनले थपिन्, म हरेक कुरा मान्न तयार छु, मलाई नोकरनी सरह तपाईको घरको एउटा कुनामा वास दिनुस्, म घरका सबै काम गर्नेछु, जुनेली दिदीको पनि राम्रो स्याहार गर्नेछु, मिलन–बिन्दु लाई पनि म रिझाउँछु । मदन नूतनको कुरा सुनेर केही क्षण स्तब्ध भयो । मनमनै साच्यो, यो कसरी सम्भब छ., अर्को सोचमा जुनेलीलाई राहत पनि हुनसक्छ, तर मनाउने कसरी ?, उनले आफ़्नै सौता कसरी स्विकार्लिन् । मदनले नूतनलाई आश्वासन स्वरुप जुनेलीसँग समय मिलाएर कुरा गर्ने वाचा दिए ।

मदनले आफ्नो मनको भारि बिसाउन कयौँ पटक जुनेलीको अघि पुग्यो तर आफुले गरेको गल्तीका कारण उसले हिम्मत जुटाउन सकेन । लामो समयसम्म मदन यो प्रसंगमा असफल हुँदा नूतनले मदनमाथि शंकाले हेर्न थालिन् । अन्ततः नूतनको नजरमा विश्वास टिकाई राख्न मदनले मन्दिरमा गई नूतनसँग बिहे गरे । नूतनलाई लाग्यो घर नपाए के भो र कमसेकम बैसका गल्तीहरुलाई समाजका अगाडि आधिकारिक लालमोहर त लाग्यो । साउनमा आँखा फुटेको गोरुले सँधै हरियो देख्छ भने भैm मदनले नूतनसँगको बिहेपछि जुनेलीको अगाडि आफू सधैँ दोषी महशुस गर्दथ्यो । यता जुनेली पनि निरास आफ्ना पति लाई शारिरीक सुख दिन नसक्नुका कारण आफू दोषी भएको ठान्थिन् । दुबै एक आपसमा दोषी भएपनि बाहिरी रुपमा उनीहरुको जीवन खुसी–सुखी देखिन्थ्यो ।

लक्ष्मीपूजाको दिन, रमझम र खुसीको वातावरण, तिहारको छुट्टीमा घर आएको एघार कक्षामा पढ्दै गरेका दाजु मिलन अनि नौ कक्षा कि बहिनी बिन्दु साथीहरुको समूहमा भैली खेल्न गएका थिए । मदन जुनेलीलाई सेल पकाउन सघाईरहेका थिए । जुनेली पनि प्रसन्न थिईन्, यो सही मौका हो आफ्नो कुरा राख्ने मदनले सोच्यो अनि सुरु गर्यो,

“जुनु, हाम्रो बिहे भएको पनि उन्नाइस बर्ष हुन आँटेछ है ? अव एक महिना त बाँकी रहेछ, समय बित्न केही बेर नलाग्ने, अस्ति मात्र जस्तो लाग्छ त्यो बिन्दु जन्मेकि, त्यो पनि पन्ध्र बर्ष भईसकिछ त ।”
जुनेली मुस्कुराउँदै, “मेरो पनि त कपाल फुलिसक्यो, रोगी पनि भए, अव कति दिन बाँचौला र, बरु तपाई अझै जवान देखिनु हुन्छ, तपाई त धेरै बाँच्नुछ, छोराछोरीलाई राम्रो घरमा बिहादान गराउनु, म त. . . ,”

मदनले जुनेलीको बोली रोकेर मुख छोप्दै, “के भनेकि यस्तो, यो पनि गर्ने कुरा हो, तिमीलाई केही हुँदैन म रहेसम्म, हरेक कुराको समाधान गर्न सक्छु म, तिमी आरामले बसेर खाउ, घरका सारा काम गर्न म नोकरनी राखिदिन्छु ।”
जुनेली मदनको कुरा काट्दै, “हजुरले सक्नु हुन्न मैले कहाँ भने र, बरु मैले पो सारा खुसी जीवन भर दिन सकिन भनेको त ।”

गम्भीर हुदै मदन अगाडि भन्छन्, “हेर जुनेली, यो विषयमा मैले पनि तिमीसँग धेरै कुरा गर्न खोजेको थिए तर सकिरहेको थिईन तर आज म आफ्नो गल्ति भनौ वा समयको खेल, म सबै कुरा भन्छु, कोठामा हिड, बसेर कुरा गरौँ ।”
मदनका कुराहरुले जुनेलीका पाईलाहरु बिस्तारै भारी हुँदै गए, खुसीका चमकहरु खलखल निस्किएको पसिनाले पगाल्दै लगे, मदनले आफू र नूतनबीचको प्रेम कथा एक पटक आँखा पनि नजुधाइ स–बिस्तार बर्णन गरे । जुनेली बेहोस् भई भुईमा लडिन्, मदन हतार हतार भान्साबाट पानी लिएर आउँछ र जुनेलीको निधारमा छरेपछि बिस्तारै जुनेलीले आँखा खोलिन्, मदनमा नजर जुधाउने हिम्मत पनि रहेन । तथापि उसले आफ्नो प्रयासमा निरन्तरता दिईरहेकोछ,,

“नगर्नु पर्ने गल्ती गरिहाले, आखिर त्यो पनि कहाँ जावस्, म तिमीहरु दुबैलाई मिलाएर राख्छु तिम्रो पनि हेरचाह हुन्छ, म पनि बाहिर गएर बिग्रनबाट बच्छु ।”
बलिन्द्र आँसुका धारा बगिरहेका थिए जुनेलीको, मुटुमा कसैले सियो रोपेको थियो, उनलाई सहिसक्नु भएन, रिस र क्रोधले देवी चढेको थियो उनलाई ।

“आफ्नो उमेर र त्यसको उमेरको ख्याल छ तिमीलाई ?, यत्रो मान प्रतिष्ठा दिएको समाजमा त्यो छोरी सरहको केटी मेरी श्रीमती भनेर चिनाउन सक्ने हिम्मत छ तिमीमा ?, छोराछोरी को भविष्यको चिन्ता छ तिमीमा ?, तिमी यति निच छौ भन्ने मेरो कल्पनामा पनि थिएन, बरु प्यासी नै थियौ भने बजारमा भोक मेटाउने कयौँ उपाय थियो होला, तर तिमी नामर्द रहेछौ, एउटा घर परिवार इमानदारीका साथ सम्हाल्न नसक्नेले कसरी आँट गर्दैछौ दुई घर चलाउन . . ?”

बाहिरबाट कोही आएको आवाज आउछ, उनी रोकिन्छिन्, छोराछोरी आएका थाहा पाएर दुबै नाटकीय रुपमा दुबै सम्हालिन्छन् । खानपिन सकाएर सबै आ–आफ्नो कोठामा लाग्छन्, जुनेली र मदन बन्द कोठाको एउटै पलङ्गमा रहे पनि दुबैको मन कोसौ टाढिएका थिए ।

“दया कि खानी, ममताकी मूर्ति अनि संयमताकी देबी नारी, हरेक क्षेत्रमा सक्षम रहे पनि सधै पुरुषहरुको शोषणमा अल्झनु पर्ने वाध्यताको जड के हो त ?, पुरुष सरह नारी किन स्वतन्त्र र निडर हुन सक्दैनन् ? पुरुषले जति गल्ती गरे पनि छुट हुने तर नारीले गल्ती गर्न पनि नपाउने यो कस्तो पुरुष प्रधान समाज ?, म मान्दिन यो समाजका कु–संस्कारलाई जसले मात्र मेरो जिन्दगी बर्वाद बनाएकोछ, मेरा छोराछोरीको भविष्य के होला त ?, म मदनलाई माफी दिनै सक्दिन, त्यो नूतन पनि कस्ति आईमाई रहिछे, आज मेरो बिरुद्धमा उसलाई भित्र्याउन सक्ने पुरुषले भोलि उसको बिरुद्ध अर्की नल्याउलान् भन्ने के ग्यारेन्टी छ ? के नूतनको शरिर मेरो जस्तो नहोला भन्न सकिन्छ र ? म पनि त्यो उमेरमा तन्दुरुस्त नै थिए, आखिर मेरो यो हालत हुनुमा पुरुषको कुनै भूमिका छैन र ?”

जुनेलीको मनका हरेक कुनाबाट अनेकौ प्रश्नहरु जन्मिदै गयो तर जवाफ दिने कोही भएन । अर्कोपट्टि फर्किएर निदाएको भूमिकामा रहेका मदन, मनमा अनेकौ सवालहरु खेलाईरहेका थिए ।

“के साच्चै मैले ठूलै गल्ती गरेको हो त ?, सधै तपाई भन्ने मेरी जुनेलीले आज कसरी मलाई तिमी भन्न सकेकि ?, मैले त उसैलाई सहयोग हुन्छ भन्ने सोचेथें तर सोच एक दम उल्टो पो भयो, अव के गर्ने?, कसरी फकाउने उनलाई ?”

मदन बिस्तारै घुमेर जुनेलीलाई अङ्गालोमा राखेर कुरा गर्न खोज्छ,
“नछोउ मलाई, अब यो अधिकार छैन तिमीमा ।”
अकस्मात जुनेली चिच्याएको देखेर मदन झस्कन्छ ।
“मेरो नाममा भएका सम्पत्तिबाट एक कौडी पाउने छैनौ, त्यहीँसँग गए हुन्छ । म मेरो जीवन जसरी पनि छोराछोरी लिएर बिताउँला, तर म त्यसलाइ यो घरमा कदापी स्वीकार्न सक्दिन ।”

बिस्तारै बिस्तारै दुबै विच मनमुटाब बढ्दै गयो, मदनले नूतनलाई घर भित्र्याउन बिस्तारै बिस्तारै आप्mना नातेदारहरुलाई फकाउँदै गयो, यता जुनेलीले पनि आफ्नो पक्षमा धेरै समर्थक जम्मा गरिन्, छोराछोरीको अगाडि नाटक गर्ने गरे पनि छोराछोरीले आप्mनो बाबुको करतुत सबै थाहा पाए । मिलन–बिन्दुको बाबुलाई हेर्ने नजरमा परिवर्तन आएपछि सारा जिम्मेवारी जुनेलीको काँधमा आईपर्यो ।

यता मदन बिना पानीको माछा जस्तै पैसा बिनाको ब्यापारमा धसिदै गयो, बैंक ऋणमा रहेको घर ऋणै तिर्न बेचेर बचेको पैसाले आफ्ना छोराछोरीको लागि जुनेलीले सानो घर बनाईन् । मदन बिरालोले बच्चा सारे झैँ नूतनको साथ कोठा सर्दै, सानोतिनो ब्यवसायमा अल्झदै गयो ।

आखिर के पायो त मदनले यो दोश्रो बिहेवाट ? सानो गल्तीको कारण आज त्यो ठाँटबाँठको जिन्दगी छोडेर भाडाको घरमा आफ्नो परिवार तथा नातेदारबाटै अपहेलित भएर नारकीय जीवन बिताउन बिवश भएकोछ । नूतन उसँगै भएर पनि उसका सारा खुसीहरु उसैको ब्यवहारको कारण खोसिएको छ । मदनलाई आत्मग्लानी भएको छ आफूले गरेको गल्ती सम्झेर तर पनि उसले गल्ती सच्याउन पाउने पश्चातापको अवसर पाएको छैन । आफने छोराछोरी पराई भएका छन् मदनलाई । आखिर यो पिडा कहिलेसम्म, साच्चै कहिल्यै हुन सक्दैन त दोश्रो बिहेले जन्माएको समस्याको समाधान ।

हेटौडा ४, मकवानपुर, ५ पौष, २०६४

Posted on 2013-05-21