Manoj Dhungana

ऊ पागल अवश्य छ तर विश्वास राख, उसको पागलपनमा सत्यता छ !

समयको माग

रङ्गी बिरङ्गी ध्वजापताकाहरुले सजाईएको, नौमति र पञ्चेबाजाले रन्किएको घर आँगन परवाटै हेर्दा झिलीमीली देखिएको थियो । आँगन भरि पल्लो गाउँबाट आएका जन्तीहरु र आफ्नै टोलका निम्तालु, टाढा देखि आएका पाहुना तथा तमासेहरु बिहे हेर्न जम्मा भएका । जग्गेमा अन्दाजी पैंतीस चालीस वर्षका एक युवक दुल्हाको भेषमा ।
म त्यस्तै एघार वर्षकी थिएँ हुँला, बा आमाले राम्रा घरका ब्राम्हणलाई आफ्नी कन्या दानगर्ने तयारि गरिरहँदा मलाई पनि गुडिया जस्तै सजाएर एउटा कुनामा राखेका थिए । वरिपरि मेरा साथीहरु पनि नयाँनयाँ लुगा लाएर आएका थिए । पाहुनाहरुले धमाधम मलाई टिका लगाएर कोसेली, उपहार र नगद दिई रहेका थिए । यति धेरै मानिसहरुको माझमा यो कस्तो खेल खेलाउन लागे मलाई भनेर अचम्भित भईरहेको मेरो कलिलो मन, जव सानीमा आएर मलाइ समाउँदै जग्गेका दुलाहा सँग बसालीदिए, तब पो बल्ल थाहा भयो यो खेल हैन साँच्चिकै बिहे रहेछ भनेर । हेदै वा जस्तो उमेरको त्यो दुलाहा सँग मेरो बिवाह शुरु भई सकेको थियो । कानमा एउटा साथी आएर भन्दै थिई आरती तँलाइ डोलीमा चढाएपछि रूनुपर्छ रे रो है ? परम्परा देखि चलिआएको चलनै यस्तै थियो । घरमा मेरो बिहे नजिकिँदै गर्दा आमाले स्वस्थानी कथामा लेखिएको कुरा भनेर गोमाले आप्mनी आमा सँग गरेको भलाकुसारी सुनाईरहँदा मलाई ति कथाहरुको खासै महत्व लागेको थिएन, किन मलाई सुनाएको होला जस्तो लाग्थ्यो । आखिर मभन्दा छब्बीस वर्ष बढी उमेरका युवालाई दुलाहा बनाएर बिदाई गर्न रहेछ । अहिले महसुस गरेँ । बा आमाले डोली चढाए र दुलाहाको घर पुर्याईयो अनि उनी श्रीमान भएर पनि उमेरको कारण बा जस्तो लाग्थ्यो मलाई । कसैले तेरो लोग्ने हो भनेर ढोगाउँथे, कसैले बिचरा वालखलाई के था, पछि बुभ्mने भएपछि आपैंm थाहापाई हाल्छे नि भन्थे, कसैले तेरो लोग्नेको नाम के भनेर सोधे भने नारायण नभन्नु नि, आप्mनो लोग्नेको नाम कहिल्यै उच्चरण गर्नु हुदैन आईमाईले । बिहे पछि दुलाहाका भाई र तिनका छिमेकी साथीहरू मेरा साथी हुन्थे खेल्नको लागि । मैले देवर भन्नु पर्ने कुरा पनि धेरै पछि थाहा पाएँ ।
मेरो लागि कालो अक्षर भैसी वरावर थियो, गोठालो जाँदा तिनै देवरहरुको सहयोगले बालुवामा लेख्न सिकाउँथे र सावाँ अक्षर लेख्न र पढ्न सक्ने भएँ । लुकामारी, डण्डीबियो, गट्टा, कवर्दी, बाघचाल र घ्वाई हाम्रो गोठालो जाने जङ्गलको बिच चउरमा खेल्ने खेलहरु थिए । वयस्यक नभए सम्म घर र माईतको खासै अन्तर पनि रहेन मलाई, घरका सबैले सायद बुहारी भनेर काम अराउँथे होलान् तर सबैले काम लगाउनु स्वभाविक हो भन्ने मेरो बुझाई थियो । माईतीमा छँदा सबैको नजरमा म काली, नेप्टी, डल्ली, र प्यारी थिएँ । कहिल्यै कसैले मलाई “आरती”, भनेर बोलाएनन् । खोटो सिक्का जस्तो भएर बसेको मेरो नाम बिहे पछि दुलाहाको घरमा पटक पटक सुन्न पाएँ । उमेर संगै शारिरीक अवयवको बिकास हुनु स्वभाविक भए पनि यसका असरहरूले बिकराल रूप लिँदारहेछन ।
श्राप स्वरुप हरेक नारीले भोग्नै पर्ने रजश्वला मेरो जीवनमा पनि शुरु भयो । सासुले चाल पाईन, हतार हतार एउटा कोठामा लगेर थुनिदिईन । त्यो समय र परिस्थितीको बारेमा गर्नुपर्ने सावधानीका कुराहरु बताईरहँदा उनले मेरो शिर देखि पाउ सम्म नियाल्दै “ल हेर उमेरमा स्याल पनि घोर्लिन्छ भन्थे हो रहिछ, बिहे गरेर ल्याउँदा इत्री थिई केही न केही की, अहिले त हलक्क बढेर तरुनी पनि देखिएकिछ” भनेर मलाई उखान सँग दाँजीरहँदा उनी चैँ तरुनी नभईकनै बुढी भैछिन कि क्याहो जस्तो लाग्यो ।
चोखिएर बाहिर निस्किएको दिन घरका सबै र अन्य नातागोताका मानिसहरुको पनि म काली नै भए पनि हिस्सी परेकी धपक्क बलेकि चिल्ली, राम्री देखिएको सङ्ज्ञा दिए ।
“आरती अव तेरो जिन्दगीको सुरुवात आफ्नो दुलाहा सँग हुनेछ । बिहे गरेर ल्याउँदा बालख थिईस, हामीले आफ्नै छोरी सरह गरेर स्याहार्यौँ अव किसोरावस्थाको उमेर आफ्नो जीवन साथी सँग बिताउने हो, त्यसैले आज बाट तँ हामी सँग होइन आफ्नो लोग्ने सँग जा, हाम्रा पनि नाती नातिना खेलाउने रहर छ, यस्को जिम्मेवारी तेरै हो ।” भनेर सासुले लोग्ने पर्ने ति बुढाको कोठामा हुलेर ढोका ढप्काईदिए । मन भित्र खेलिरहेको आँधी तुफानलाई एकैक्षण शान्त पारेर सोचेँ, बुढै भए पनि बा आमाले हिन्दु संस्कार अनुसार कन्यादान गरि पठाएपछि सबै कुरा बिर्सिएर जिन्दगीसँग सम्झौता गर्नुपर्दछ भन्ने मलाई लाग्यो कोशिष धेरै गरेँ तिनलाई पति, परमेश्वर र भगवान मान्न, तर मेरो मनको एउटा कुनाले तिनिमा सँधै म आप्mना बा देख्थेँ । तिनी आफ्नो कर्तव्य सम्झेर म सँग नजिकिन्थे, जिस्कन्थे, माया गर्थे आफ्नो अँगालोमा बाधेर रसरङ्गका कुरा गर्थे । म लाचार अवला मनमनै तिनलाई पापीको संज्ञा दिन्थें, सामाजिक बन्धनका कारण ममा यो अनमेल जोडीको बिषयमा कसैसँग बहस र बिद्रोह गर्न सक्दिनथे । लाग्दथ्यो म एउटा खेत हो जहाँ खेतालाले बिउ ल्याएर रोप्छन र म त्यसको फल फलाउँछु बर्षेनी । जुन खेतको नैतिक जिम्मेवारी पनि थियो ।
उन्नाईस बसन्त पनि पार गर्न नभ्याउँदै म एउटी छोरी र दुईटा छोराका आमा भैसकेकी थिएँ । ममा सहनशिल क्षमताको बिकाश भएको थियो त्यो परिवेशमा । घरायसी भाग बण्डा पछि सासु ससुरा पनि देवरहरू सँग बसे । मेरो पनि घरमा हालीमुहाली चल्ने भयो । यत्रो वष मैले आफ्नाे रहरहरु मारेर बाँचे पनि सासु ससुराको बन्धन बाट छुट्कारा पाउनु ठूलो उपलब्धी थियो । मनका कुराहरु श्रीमानसँग राख्दा झर्किनु र उति महत्व नदिनुले ममा उनि प्रति हेर्ने दृष्टिकोण परिवर्तन हुन सकेन । कहिलेकाहीँ धुनधान झगडा पनि हुन्यो । हामी एउटै छत मुनि रात काट्नुको पछाडी मात्र सामाजिक आडम्बर थियो ।
जीवनको इतिहासको कालरात्री थियो त्यो र आज वर्तमान छ म संग । मलाई लाग्छ उमेर छिप्पीँदै जाँदा धेरै कुरा सिकाउँदो रहेछ उमेरले पनि, जसलाई म समयको माग भन्न रुचाउँछु । आज म शीबराज कि श्रीमती र ११ वर्षे छोरी गरीमाकी ममी भएकिछु । मेरो बिहे गर्दाको उमेर पनि एघारै वर्ष थियो । आज उसको जीवन र त्योे मेरो जीवनमा जमीन आसमानको फरक थियो । म डोली चढेकि थिएँ त्यो उमेरमा, गरीमा टेलिभिजनको सिरीयल, कार्टुन, इन्टरनटेमा झुमिमएर गीत, भिडीयो डाउनलोड गर्ने देखि लीएर फेसबुक, ईमेल चलाउने र आवश्यक सूचनाहरु गुगलमा सर्च गरि पढ्ने सम्म भएकिछ, अझ मोवाईलको नयाँ सेट पाई भने त त्यस्का सबै फिचरहरु हेरेर, प्रयोग गरेर नसकिएसम्म भोक पनि लाग्दैन उसलाई । घर, स्कुल, गाउँटोल जहाँ गए पनि सबैको विश्वासपात्र बनौ, सबैले माया गरुन, मेरै कुरा सबैले सुनुन भन्ने सोचको भावना बोकेर हिड्ने मेरी गरीमा अलि चुलबुलि पनिछ । उसको दाँजोमा म केही न केहि कि गोवर गणेश थिएँ । मेरा पालाका भैसी बराबरका अक्षरहरु उ पटटट अङ्ग्रेजीमा बोल्ने, गाउने र लेख्ने सबै गर्न सक्छे ऊ । हरेक कुरामा अरु भन्दा अलग देखिन चाहने उसको रुची रहेकोछ, देखेपछि गर्न मन लागि हाल्ने खराब स्वभाबका कारण छिमेक तथा स्कुलका साथीहरुले पनि उत्ताउली, छाडा, नखरमाउली, नक्कली केके भन्छन के के, तर उसलाई कत्ति पनि डर लाज, सङ्कोच छैन । किनकि ऊ शहरमा पलेबढेकीछे । झलझली याद आउँछ मेरा ति बचपनका दिनहरु । आज पनि थाहा पाउन सकेकी छैन त्यो रहस्य कि आखिर बा आमाले किन मेरो बिवाह यसरी सानो उमेरमा त्यो पैतीस कटेका सँग गराए ।
शीबराज मेरा देवरका साथी र बिहे पछि मेरो बचपनमा सँघै गाईबस्तु तथा बाख्रा चराउन जाने साथीहरु मध्येका साथीहुन । उमेरले पनि मिल्दोजुल्दो र कहिलेकाही म बिरक्तिएको बेला मेरा कुरा ध्यानपूर्वक सुनेर मन हलुका पारिदिने आत्मिय थिए उनी । वयस्यक हुँदै जाँदा बुढो पोई परेकामा पछुतो मान्न नहुने र समय भन्दा पहिले र भाग्यमा भन्दा बढि यो संसारमा कसैले केही पाउँदैन भनेर मलाई सान्त्वना दिने उनै शीबराज थिए । एकातिर श्रीमान सँग सँधैको रडाको, अर्को तिर शीबराजले दिने सान्तवनाले हामी बिच मन मनको सम्बन्ध घनिष्ठ हुदै गहिरहेको थियो । एक्लै हुनासाथ हामी एकान्त खोजेर मिल्न चाहन्थ्यौँ । समाजको नजरमा यो माया अनैतिक सम्बन्धले परिभाष्ति हुने हुँदा हामीले यसलाई बचाएरै राख्यौँ ।
श्रीमान सँग झगडाको लागि कुनै बिषय बस्तु चाहिन्नथ्यो हरेक दिन उज्यालो हुनासाथ सानो सानो बिषय बस्तुमा पनि शुरू भईहाल्थ्यो । तथापी छोरा छोरी बुझ्ने भैसकेकाले उनीहरु अगाडी पर्दा स्थगित हुन्थ्यो हाम्रो झगडा । श्रीमान पेशाले खेती किसानी भएपनि पछिल्लो समयमा सानातिना ब्यापारमा पनि हात हालेका थिए । वालबच्चा हुर्किदै गएपछि खर्च धान्नै भए पनि दुई तीन दिन बिराएर सदरमुकाम जाने र मानिसका अनिवार्य आवश्यकताका सामानहरु थोक मूल्यमा ल्याएर खुद्रा मुल्यमा बेच्दथे । त्यसै सिलसिलामा उनी सदरमुकाम गएका थिए, छोरी र कान्छो छोरा मामाघर । घरमा जेठो छोरा र म थियौ । अचानक शीबराज मेरो घर आईपुगे । “आरती के गरिरहेकी ?” उनको आवाजले म झस्किएँ, देखिरहनु भएकै त छ नि, आईमाईको घरधन्दा कहिले पो सकिन्छ र भनेर मुला चाना बनाउने आप्mनो कामलाई निरन्तरता दिईरहँदा उनले फेरि प्रश्न गरे, “अनि नारायण दाइ खोई त?”
वहाँ त सदरमुकाम जानुभो आज, भोली मात्र आउनु हुन्छ, मेरो जवाफ सुनेर शीवराज मुख मिठ्याउँदै म सँग नजिकिएँ, मैले चाल पाएर छोरा कता गएछ भन्दै चारैतिर नजर घुमाएँ, उनी झस्किएर सबैकोठा र आँगन सम्म चहार्न गए, “सायद खेल्न गयो होला कतै देखिँदैन भन्दै मेरो कपाल तानेर छुस्क्याए । मैले एउटा मुला चानाले उसलाई झटारो हानेँ । उनले फेरी मेरो कपाल ताने । केहि क्षण यो क्रम दोहोरी रहँदा उनले मलाई अङ्खोराको पानीले चिसो लगाईदिए । म अकस्मात लगाई दिएको चिसो सहन नसकेर उनलाइ झम्टन पुगेँ तर उनी बाँदर उफ्रिएझै गरि उफ्रिएर भागे । म पनि के कम थिएँ र पिछा गरेरै भए पनि उनलाइ भेट्टाए, मैले पनि चिसो लगाईदिने जमर्को गरेँ तर उनले सहेरै सजिलै गरि चिसो लगाउन दिइरहे । ममा दया जागेर आयो र मैले छोडेर पुन फर्किन लाग्दा मेरा हातहरु उनका हातहरुमा अल्झिए । उनी सँगको सम्बन्ध अनैतिक हुनेछ भन्ने जान्दा जान्दै पनि दियोको उज्यालोमा आकर्षित भएर गएका पुतलीहरु भैm म पनि होम्मीन पुर्गे । मनको सम्बन्ध त गाँसिएकै थियो आज समयले तनको सम्बन्ध पनि सायद जुराएछ भन्ने लाग्यो ।
वर्षौ भई सकेको थियो श्रीमान मेरो तन मन बाट टाढिएका । उनी त खाली आजकाल धनमा अलि बढी झुकेका थिए । कहाँ बाट, कसरी, के ल्याएर बेच्यो भने अलिकति धन जम्मा गर्न सकिन्छ भन्ने धुनमा ।
खाना खाएर सदरमुकाम हिंडेका मेरा श्रीमान ढोकामा बसेर एकनासले हेरिरहेका थिए हामी दुईको गएका चर्तिकला । शीवराम वतास झै बेपत्ता भए, म माथी तथानाम गालीका वर्षा हुनथाले । केहि समय त सोचेँ, गल्ति भएकै हो सहनै पर्छ तर सीमा नाघ्दै गएपछि मैले पनि खुलेरै बोल्नु परयो उनी सँग, हो यो समयको माग हो, लोग्ने मानिसहरुले खुट्टा भए जुत्ता कत्ति कत्ति भनेर श्रीमति फेर्न हुने । हामी आफ्नै घरमा शोषित, पिडित भएर अनमेल बिवाहको कारण आफ्ना इच्छा, आकाँक्षा मारेर तनावको जीवन बाँचिरहनु पर्ने भन्ने वाध्यता कहाँछ ?
उनले धेरै सम्झाए मलाई, आफ्ना बालबच्चा र ईज्जतको लागि घर छोडेर नजान । वर्तमान अवस्था जे जस्तो भए पनि सम्झौता गरेर अगाढी बढ्न तयार हुदै घुँडा धसे मेरा अगाडी । उनको अवस्थालाई मध्यनजर गर्दै म मौन रहेँ, तर उता शीवराजले म सँगको सम्बन्ध लाई प्रचार प्रसार गर्दै म सँग बिहे गर्न तयार रहेको ढोल पिट्न थाले । गाउँ भरि यो कुरा एक कान दुइ कान हुदै सर्वत्र फैलियो । मैले घर बाहिर गन्हाएकी आईमाइ को दर्जा पाएँ ।
गाउँका पञ्च भलाद्मीहरुले हामी तीन लगायत गाउँका सबैलाई भेला गराए । र सबैको पालैपालो कुरा सुन्न थाले । शुरूमा त म लाजले बोल्न सकिन, जब बहस गरमागरम चल्न थाल्यो तब मैले पनि मौका यहि हो भन्ने सोचेर आप्mना असन्तुष्टिका कुराहर राखेँ । मैले बिषय वस्तु जे जस्तो भए पनि समयको माग अनुसार चल्न म जस्तो पनि सजाय भोग्न तयार भएको दर्शाए । अन्ततः शीवराज संग बिहे गर्न पाएँ र त्यो गाउँ छाडेर शहर पस्यौ । जहाँ समयको माग अनुसार माया प्रेम सँगै सभ्य र आर्दश जीवन यापन गर्न सकियोस ।

रचना मितिः २० कार्तिक २०६९, म र काठमाण्डाै कथा संग्रह २०६९ मा प्रकाशित नवाैं कथा

Posted on 2012-11-05