Manoj Dhungana

ऊ पागल अवश्य छ तर विश्वास राख, उसको पागलपनमा सत्यता छ !

नजुरेको पोई

“भान्जी हजुर तयार हुनुभो त ?” माइजूको आवाजमा म झस्किएँ ।

“किन र माइजू, कहाँ जाने ?”

“बजार जाने होईन, म त तयार छु, हजुरको केही ल्याउनु छ कि?”

“म त अस्ति भर्खर गएकै हो नि माइजू, हजुर मात्रै जानु न ।”

“ल.., मेरो त के काम छ र, म त हजुरको लागि जान लागेको ।”

सायद यो माइजूको मप्रतिको माया थियो या मेरो बजार जाने लत छुटाउने फर्मुला, त्यस दिन देखि बजार मोहले छाड्यो मलाई, कामै नपरी घुम्ने पुराना वानीहरू छुट्दै गए, कहिले काहीँ माइजूसँग वा साथीहरूसँग जानथालेँ । मैले आफूले आफैँलाई केलाउन थालेँ । मामा माइजूको माया, हजुरआमाको अर्ति उपदेश, घरका आमा, बुबा र दिदी, सँगै पढ्ने सङ्गीनीहरू, सबैलाई सम्झँदा घरिघरि आफूलाई कहिले भाग्यमानी त कहिले अभागीको संज्ञा दिन थालेँ । आफ्नो मानस पटलमा भविष्यको ठूलो मान्छे वन्नु पर्ने, त्यसको लागि धेरै पढ्नु पर्ने र पढ्नको लागि मेहनती हुनुपर्ने निष्कर्ष निकालेँ र सबै ध्यान पढाईमा लगाएँ ।

चितवन जिल्लाको रामपुर घर भएँ पनि म सानैदेखि मामाघरमा हुर्किएँ, हामी जुम्ल्याहा दिदी बहिनी भएँको र मामाको बिहे गरेको पाँच वर्षसम्म पनि कुनै सन्तान हुन नसकेको कारण मैले माइजूको काख पाएकी थिएँ । मावली परिस्थिति जेजस्तो भएँ पनि मैले कहिल्यै घरको अभाव महसुस गर्नुपरेन । निजगढ बजारबाट करिव ५ किलोमिटर भित्र थियो मेरो मामाघर । खेतवारीमा फलाएका अन्न तथा तरकारीहरूको विक्री तथा दैनिक आवश्यक्ताका उपभोग्य वस्तु खरिदारीका लागि निजगढ बजारमा लाग्ने हाट हाम्रो प्रमुख बजार थियो र विभिन्न समारोह, बिहे वर्तमान जस्ता उत्सवहरूका लागि बिरगंज तथा रक्सौलसम्मको यात्रा तय गर्नु पर्दथ्यो हामीले ।

सानैदेखि मलाई माइजूसँग हाट बजार घुम्न पाउँदा, किनमेल गर्दा सारै रमाइलो लाग्दथ्यो । माइजू पनि हरेक पटक बजार जाने काममा मलाई लैजानु हुन्थ्थो । एक समय ममा हाट बजारको नसा यस्तो छायो कि स्कुल छोडेर मामा माइजूलाई थाहै नदिई हाट बजार जान थालेँ । थाहा थिएन म किन जान्थेँ हाटबजार, के हो मेरो आवश्यकता ? र पनि केही खोजे जस्तो, केही नपाए जस्तो म निरास भई फर्कन्थेँ घर । तर माइजूबाट यो कुरा धेरै दिन लुक्न सकेन । माइजूको प्यारी भएकीले पनि होला वहाँले गाली गर्नुको सट्टा मलाई बजार लिएर जानुभयो अनि भन्नुभयो, “आज केके किन्न इच्छा छ सबै किन्नू भान्जी, हजुरलाई सबै चिज किनिदिन्छु ।”

भर्खरै १४/१५ वर्ष कि थिएँ होला म, माइजू रिसाउनु भएँजस्तो भान पर्यो मलाई, मन भरि डर भरिएर शब्द विहिन भई खिस्स हाँसिरहेँ, उहाँले मायालु भावमा हावाले उडिरहेका मेरा कैला कपालहरू स्याहार्दिंदै मेरो गालामा मीठो चुम्वन दिनुभयो, म लाजले रातो भएँ अनि मेरा अघिका सबै डरहरू हराएर गए । वहाँले साँच्चीकै मलाई जे पनि किनिदिने भन्ने कुरा पक्का भएँ पछि म के किनाऊँ भनेर बजारका हरेक पसल चाहार्न थालेँ । चार घन्टा घुमिसक्दा मेरा अनि माइजूका गरी चारै हातहरू झोलै झोलाले भरिएका थिए । एउटा हाफपाइन्ट सारै मन परेको थियो । कहिलेकाँही टिभिमा हिन्दी सिनेमाका हिरोइनहरूले लगाउने गरेको त्यो हाफपाइन्ट मैले जिन्दगीमै लगाएकी थिइन तर मनभित्र रहरहरू उर्लिरहँदा पनि माइजूसँग किनाउने साहस वटुल्न नसक्नु सायद मेरै कमजोरी या भनौँ मैले पाएको संस्कार अनुसार मेरो छनोट अस्वभाविक थियो ।

“अव त मेहनत अलि वढाउनुपर्छ है भान्जी, हजुरले जसरी पनि दिदीको भन्दा वढी नम्वर ल्याएर एसएलसी पास गर्नुपर्छ, वरू कुनै विषयमा ट्युसन लिनु पर्ने भएँ पनि लिनुस् साथीहरू सँग मिलेर ।”

मामाको यस प्रकारको इच्छा सुनेर मेरो हौसला वढ्नुको साथै चुनौती थपिन गयो । मामा-माइजूको छोराछोरी जे भने पनि म नै थिएँ भविष्यको सहारा ।

“म सक्दो कोसिस गर्छु मामा, हजुरहरूको सपना म पूरा गर्नेछु ।” आफ्नो रसाएको आँखा लुकाउँदै जवाफ त दिएँ मामाको आत्म विश्वास वढाउनको लागि तर स्वयम् अङ्ग्रेजी र गणितमा कमजोर रहेको कुरा नकार्न पनि त सक्दिन ।

गणितमा कमजोर केही साथीहरूसँगको सल्लाहमा हामीले ट्युसन लिने निर्णय लियौँ अनि सुरू भयो म, रविना र चन्दाको एकैखाले दैनिकी ।

विहान छ बजे घरबाट हिँडेर साढे छ बजे सरको घर, साढे आठ बजे सरको घरबाट र्फिर्कँदा नौ बजे आफ्नो घर, अनि खाना खाएर स्कुल पुग्न हतार, कहिलेकाहीँ उखु वारीमा पस्यो भने त झनै ढिला ।

एक दिन विहानै वाहिर कसैले ठूलो स्वरमा भजन वजाइरहेको भान भयो, म पनि त्यतै हुदैँ ट्युसन जाने वेला थाहा भयो चन्दाको घर नजिकैको राजकुमार दाइले क्यासेट, रेडियो तथा टिभि मर्मतको पसल खोलेका रहेछन् ।

“ओहो, बहिनीहरू टाढै ?” ट्युसन पढ्न जान लागेको दाइ, राजकुमार दाइको जिज्ञासालाई मैले पूरा गरिदिएँ ।

“के गर्नु बहिनीहो, पढ्न त मलाई पनि मन थियो तर घरको जेठो वाठो भएँपछि कमाउनु पर्ने, घर चलाउनु पर्ने रे, त्यसैले सुरू गरेँ मैले त व्यापार, ल ल प्रसाद खाएर जाऊ, तिमीहरू लाई ढिला होला ।”

“धन्यवाद दाइ,” राजकुमार दाइले दिएको लड्डुले मुखमा वुजो लगाउँदै हामी तिनैजना आफ्नो वाटो नाप्न थाल्यौँ ।

राजकुमार दाइले पनि हाम्रै स्कुलबाट पोहर एसएलसी पास गरेका थिए प्रथम स्थानमा । निम्न वर्गका बाआमाले खेती किसानी गरेर निकै मेहनत गरेका थिए उनलाई यो स्थानसम्म ल्याउन । एसएलसी दिएपछिको फुर्सदको समयमा कलैयामा सञ्चालन भएको निशुल्क तीन महिने रेडियो टिभि मर्मत तालिम लिएका राजकुमार दाइ एक वर्ष त हल्लिएरै वसे । के गरौँ, कसो गरौँ, पढौँ कसरी पढौँ, जागिर खाउँ कसले दिन्छ जागिर भन्ने वित्तिकै । अन्ततः आज उनले आफूले सिकेका सिपको सदुपयोग गर्दै आत्मनिर्भर वन्ने जुन कोसिस गरे, सारै सह्रानीय काम गरेको हो भन्छु है म त ।

“हैन किन टोलाउँछे यो अम्रिते ....?”

रविना र चन्दाले अनेक प्रश्न गरेछन् मलाई, तर म राजकुमार दाइको विगतमा अल्झिरहँदा केही थाहा पाईन, “सरी यार म त त्यो राजकुमार दाइको कुरा सुनेर उनले पढ्न नपाएका कुरा पो सोच्दै थिएँ त ।”

साथीहरूले सानो कुरा के पाएथे, तिललाई पहाड बनाउन थाले । “हेर न त्यो राजकुमार दाइले पोहर त्यति राम्रो नम्वर ल्याएर पनि कलेज जान पाएनन् । घरको आर्थिक अवस्था कमजोर भएँपछि कसैको केही नलाग्ने रहिछ है” मेरो प्रतिक्रियामा रविनाले थपी ।

“हो त नि विचरा राजकुमार दाइ, एक वर्ष त त्यसै वर्वाद पारे, कतै पढ्न पाइन्छ कि भनेर धेरै धाए ठूलावा र माईलावाको आँगन । कसैले सहयोग नगरेपछि भाग्य नै खोटो रैछ भन्नु पर्यो उनको ।”

हिसाव ट्युसनको तीन महिनाको निरन्तरता पछि आज हामीमा धेरै सुधार आएको कुरा गणित क्लास टेस्टमा सबैभन्दा अव्वल नम्वर ल्याउन सक्नुले सजिलै दर्साईरहेको थियो । तर मेरो अङ्ग्रेजीमा सुधार हुन सकिरहेको थिएन । एसएलसीमा उत्कृष्ट नम्वर ल्याउन मैले अझै वढी मेहनत गर्नुपर्ने कुरा मलाई राम्रै थाहा थियो । स्कुलबाट घर फर्किने क्रममा यही कुराले मेरो मन खाइरहेको थियो । चन्दा मबाट बिदा भएँर घर पसी । म राजकुमार दाइको पसलमा गएर वसेँ । उनी मीठोमीठो गीत वजाउँदै रेडियो बनाइरहेका थिए । मेरो आगमनले उनले गरिरहेको काम रोके ।

“मैले तपाईलाई डिस्टर्व गरेँ कि दाइ ?”

“ओहो ! के भने कि बहिनी तिमीले, म पनि त मान्छे हुँ, थकाइ लाग्छ नि, तिमी आयो मैले थकाइ मार्ने वाहना पाएँ ।”

राजकुमार दाइको कुराले म हासेँ, मेरो हाँसोमा वहाँले हाँसो थप्नु भयो । अलिकति व्यापारका कुरा अनि अलिकति पढाईका कुरा पनि भएँ हामीवीच । मैले आफ्नो समस्या दर्साएँ, कतै कुनै समाधान हुन्छ कि भनेर राजकुमार दाइलाई, किनकि उनको पढाइ राम्रै थियो ।

“ओहो ! यो त मेरो सौभाग्य हो आफूले जानेको कुरा अरूलाई सिकाउन पाउनु, मैले छुट्टै समय त दिन नसकौँला तर कुनै पनि समय यहीँ आयौ भने मैले जानेका कुरा म सिकाउँला, रह्यो कुरो नोट्सको, त्यो पनि यदि मैले खाली सिसी पुराना कागजलाई वेच्न भ्याएको रैनछ भने खोजेर राखिदिउँला एक दुइ दिनमा फुर्सद मिलाएर ।”

हजुरले यति भनिदिनुभयो मेरो मन धेरै हल्का भयो राजकुमार दाइ, म उल्झनमा थिएँ, के गरौँ कसो गरौँ भनेर ।

राजकुमार दाइले मेरो जीवनमा नौलो विहानीको प्रकाश छरे, उनको वुद्धिले भ्याएसम्मको सहयोग मैले पाएकै कारण मेरो अङ्ग्रेजीमा पनि सुधार हुँदै गयो । म फुर्सदको समय उनको पसलमै बसेर विताउँथे । अङ्ग्रेजीमा हामी दोहोरो कुरा पनि गर्न थाल्यौँ । म मेरा ससाना देखि जटिल कुराहरू पनि उनीसँग सेयर गर्न थालेँ, साथीहरूले मेरो नाम राजकुमार दाइको नाम सँग जोडेर जिस्क्याउन थाले । साथीहरूले मलाई जिस्काउने कुरा राजकुमार दाइले पनि चाल पाए । तर उनी निकै आत्मियताका साथ मलाई सम्झाउँदथे, साथीहरूको कुरामा नलाग्न र आफ्नो भविष्य निर्माण गर्न । म उनको कुराले निकै प्रभावित भएँ, फुर्सदमा सधैँ उनका तर्कपूर्ण कुराहरू सुन्न लालायित हुन्थेँ ।

मैले मामा-माइजूसँग राजकुमार दाइले पढ्न सघाएको र ममा सुधार आएका लगायत सबै कुरा सेयर गर्दथे । वहाँहरूले पनि राजकुमार दाइलाई धन्यवाद ज्ञापन गर्दै समय मिल्दा घरमै आएर सघाउन आग्रह गर्नुभयो । उनले मेरो एसएलसी ताका रात, विहान निकै समय खर्चेर मलाई सघाए । मैले पनि राम्रै नम्वर ल्याउने आत्म विश्वासका साथ परीक्षा दिएँ ।

परीक्षापछि नतिजा नहुँदासम्मको समयमा चन्दा मामाघर जाने भई, रविना सिलाई बुनाई सिक्ने भई तर म बाल्यकालदेखि नै मामाघरको आँगनमा हुर्किएँ, वढेँ । म जाने ठाउँ भएन । मलाई मामा माइजूले नर्सिगको वृजकोर्स गर्न वीरगंज बसेर पढ्न सल्लाह दिनुभयो । यता राजकुमार दाइले पनि टेलिभिजन एसेम्वल गरी बनाउन सिकाइदिने कुरा गर्नुभयो । त्यतिवेला हाम्रोे गाउँका धेरै घरहरूमा टेलिभिजन थिएनन् । एउटा श्यामस्वेत टेलिभिजनको छ हजार भन्दा वढी पर्दथ्यो । तर आफैँले रक्सौलबाट सामान ल्याएर एसेम्वल गर्दा तीन हजार र रक्सौल आउन जान भाडा र खाजा खर्च गर्दा तीन सय थप खर्च पर्ने रहेछ । मैले आफूलाई रक्सौल पनि घुम्न मन लागेको र घरमा टेलिभिजन नभएँकोले मामालाई सबै कुराको विस्तार लगाएँ । मामाले एकै वचनमा स्वीकृति दिनुभयो साथै वृजकोर्सको क्लासको पनि वुझेर आउन सल्लाह दिनुभयो । मामाको कुराले ममा हर्षको सीमा थिएन, राजकुमार दाइसँग दुई दिन पछि रक्सौल जाने र सामान किनेर ल्याएपछि मेरो आफ्नै हातले टेलिभिजन तयार पारिने कुराको कल्पनामा म पौडिरएँ ।

चन्दाको मामाघर वीरगंज थियो । मैले चन्दाको ममीसँग ठेगाना लिएर चन्दालाई पनि भेटेर आउने निधो गरेँ । वहाँले चन्दाको भाइ सुरजलाई पनि सँगै लगेर मामाघर छोडीदिन भनेपछि मलाइ अझै सजिलो भयो राजकुमार दाइसँगको यात्रा । विहान १० बजे खाना खाएर म, भाइ सुरज र राजकुमार दाइको यात्रा सुरू भयो वीरगंज हुँदै रक्सौलसम्मको लागि । परिवारका सदस्यभन्दा वाहेकको व्यक्तिसँग पहिलोपटक म घरवाहिर हिँडेकी थिएँ । मनको एउटा कुनामा डर जागिरहेको थियो त अर्को कुनामा त्यो छिमेकी मुलुकको सहर रक्सौल कस्तो होला भन्ने कौतुहलता ।

“अम्रिता दिदी, हजुर के किन्न जाने रक्सौल?”

सुरजको आवाजले मेरो कल्पना भङ्ग भयो, “हेरौँ के के हुन्छ, दुरदर्शनमा महाभारत हेर्नै भएँ पनि एउटा टेलिभिजन चाहिँ ल्याउने हो ।”

मेरो कुराले राजकुमार दाइ मुसुक्क हाँसे । मैले पनि उनको हाँसोमा हाँसो थपेँ । केही पड्केझै ठुलो आवाजसँगै पथलैया पुग्नै लाग्दा बस अचानक रोकियो । पन्चर भएको रहेछ ।

“ल है २० मिनेट लाग्छ चक्का साट्न, कसैलाई दिसासिपाव गर्नुछ भने भ्याउनुहोला ।”

खलासीले गाडी २० मिनेट नचल्ने सङ्केत दिएपछि वसका सबै यात्रुहरू ओर्लिन थाले । बस भित्र हामी तीन यात्रु थियौँ दुई सिटमा । राजकुमार दाइले मलाई आँखाले इसारा गरे । मैले वुझेँ ओर्लने हो कि भनेको र धार्नीको टाउको हल्लाउँदै नओर्लने जवाफ दिएँ । राजकुमार दाइ ओर्लिए । सुरज मेरो काखमा बसेर टोलाउन थाल्यो म आफ्नै भविष्यको कल्पनामा हराईरहेँ ।

अम्रिता.., अम्रिता, किन टोलाएकी?, राजकुमार दाइले खाजा किनेर ल्याएछन । बस पनि चल्न थालेछ । मायालु स्वभावको भाइ सुरज मेरो काखमा लोभ लाग्दो निन्द्रामा थियो । राजकुमार दाइले ल्याएको खाजा सेयर गरेर खाँदै गर्दा उनले वसले गर्दा ढिला भएँको र रक्सौल घुमेर भरे घर फर्किन नभ्याइने सम्भावना सुनाए । मैले वृजकोर्सको जानकारी पनि ल्याउनु पर्ने वताएपछि आज नफर्किने पक्का भयो । वाटाभरि उनले आफ्नो पढ्ने ईच्छा हुँदाहँुदै पनि पढ्न नपाएको आफ्नो पुर्पुरोको कथा सुनाए । मेरा आँखाहरू रसाएर आए । ममा सहन सक्ने क्षमता भएन । उनको आँखाबाट पनि तपतप आँसु झरेको मैले देखेँ । आफ्नै हातले आँसु पुछिदिएँ । उनले आत्मियताका साथ मलाई अँगालो हालेर मेरो निधारमा चुम्वन गरि मेरा सारा सरिर कम्पायमान महसुस गराए । त्यो चुम्वन अनि स्पर्शले सारा शरीरभरी काँडा उम्रिए । यस प्रकारको अनुभव सम्भवतः जीवनको पहिलो थियो मेरो लागि । कता कता डर र आत्मियताको मिश्रित प्रतिक्रिया !

मध्यान्ह १२ बजे हामी वीरगंज पुग्यौँ । राजकुमार दाइले भरे लजमा वस्नको लागि कोठा लिने कुरा गर्नु भयो । म चन्दालाई भेटेर उसैको मामाघरमा वस्न भन्दै थिएँ । तर चन्दा मेरी पो साथी थिई । उनको त छिमेकी बहिनी मात्र हो । त्यसैले उनी एक्लै भए पनि लजमा वस्ने भए । हामी सबै लजमा गएर फ्रेस हुने र चन्दाको मामाघरमा सुरजलाई छोडेर रक्सौल जाने, फर्केर म चन्दाको मामाघरमा वस्ने र राजकुमार दाइ लजमा वस्ने पक्का भयो । उनले मध्यम स्तरको एउटा लजमा लगे, सिङ्गल वेडको कोठा पाईएन, फर्किन लाग्दा लजका साहुले डवल वेडको नविकेको कोठा सिङ्गल वेडको रेटमा १०० रूपैया पेश्की लिएर दिए । एउटा सानो भाईले साँचो लिएर कोठा देखाउन अघि लाग्यो पहिलो तल्लामा । हामी तीनै जना उसलाई पच्छ्याउँदै गयौंँ ।

कोठा देख्नासाथ आँग तान्दै म विछौनामा लडेँ थकान मेटाउन । राजकुमार दाइले खिसी गरे, “ल हेर, धेरै थाक्यौ कि जस्तो छ नि ! कि आज यतै बसेर भोलि जाने घुम्न..?” अँह, कहाँ हुन्छ त्यसरी, म त आजै घुम्ने हो, मैले राजकुमार दाइको कुरा सक्न नपाउँदै जुरूक्क उठेर कुरा काटेँ । “मैले त जिस्किएको पो त, जाने हो नि अव फ्रेस भएर । पहिले सुरजलाई मामाघर छोडिदिेने अनि रक्सौल घुमेर आएपछि तिमीलाई छोडिदिउँला चन्दाको मामाघर । वरू तिमीले ल्याएको पैसा कहाँ ंछ ? छुट्ला नि, त्यसलाई साटेर भारू वनाएर लैजानुपर्छ है?” मैले हतार हतार पैसाको विटो छामेँ, सुरक्षित रहेछ भनेर खुसी भएँ ।

कत्ति पनि हतार नगरी चन्दासँग “भरे भेटौला खाना वनाईराख है” भनेर रक्सौल जाने टाँगा चढ्यौँ राजकुमार दाइ र म । म सँग भएका सबै पैसा मैले थमाईदिए राजकुमार दाइलाई । धुवाँ, धुलो अनि क्षणक्षणमा जाम भईरहने वीरगंज रक्सौल सडक झण्डै पैतालीस मिनेटपछि रक्सौल पुग्यौँ । उनले मप्रति विशेष केयर गर्दै निकै आत्मीयताका साथ रक्सौल सयर गराए । मैले मामा, माइजू र हजुरआमाको लागि केही सामान किन्न चाहेँ । उनले वढो दिमाग लगाएर सामान किन्न सघाए । हजुरआमालाई ओढ्ने, मामालाई आकर्षक टिसर्ट अनि माइजूलाई स्वीटर । उनको छनोट देख्दा मलाई उनी अति व्यावहारिक र मिलनसार महसुस गरेँ । मनमनै आफ्नै मान्छे जस्तो लाग्न थाल्यो । मेरो बस चल्ने भए उनलाई मेरो सानो अँगालोमा पलभरको लागि वााध्ने जङ्ग चल्यो तर त्यो सम्भव पनि थिएन । अन्ततः एउटा सानो फ्रेन्ड लेखेको हातमा लगाउने फित्ता उपहार किन्न लगाएँ मेरो पैसाले र उनको हातमा लगाईदिएँ । उनी सारै खुसी भए ।

उनले टेलिभिजनको पाटपुर्जा वेच्ने पसलमा गएर लिस्ट पढेझैँ गरी सामानको नाम भन्न थाले र सबै सामान पोको पारेर थमाइदिए पसले भैयाले । हाम्रो हात पोकाले भरियो । मैले घडी हेरेँ ।

“चार बजिसकेछ अव जाने हैन” मैले कुमले घचघच्याउँदै सोधेँ ।

“जाने नि सारै भोक लागेको छ केही खाएर जाने कि?”

“भोक त मलाई पनि लागेको छ, खाउँ न केही चटपटा” उनले एउटा स्वीट एन्ड फास्ट फुड मा लिएर गए । कफी र चार्ट अर्डर गरेर बसिरहँदा उनले मलाई प्रश्न गरे,” कस्तो लाग्यो त रक्सौल?” सारै रमाईलो, तर धुवाँ धुलो धेरै रहेछ यहाँ ।

रक्सौलबाट ५ बजेतिर फेरि अर्को टाँगा चढियो विरगन्ज आइपुग्दा छ वज्यो । म चन्दाको मामाघर जानु थियो तर मेरो झोला, कपडा लजमा रहेको र यो रक्सौलबाट खरिद गरिएको सामानहरू पनि लजमै राख्न पाए भोलि लैजान सजिलो हुने हुँदा म पनि लज गएँ । तर त्यहाँ लोडसेडिंगले अन्धकार थियो लज र कोठा । विस्तारै हामी कोठामा पुग्यौँ, म दिनभरको थकाइ मार्न ढलेँ विच्छ्यौनामा, राजकुमार दाइ मैनवत्ती र सलाई लिन तल झरे । केही बेरमै कोठामा कोहि आएको आभास पाएँ “को हो..?” मेरो सवाल सक्न नपाउँदै राजकुमार दाइ रहेछन भन्ने थाहा पाएँ, “तर मैन वत्ती खै त दाइ ?”

“एकै क्षणमा विजुली आउँछ भनेर मैनवत्ती दिएनन् लज साहूले ।”

राजकुमार दाइले विस्तारै मेरा हत्केलामा आफ्ना हत्केला राखेर आफ्नो उपस्थिति जनाए त्यो चुक घोप्टीएझैँ अँध्यारोमा । मानाँै म अँध्यारोदेखि डराइरहेछु र उनी मेरो डर भगाईरहेछन् । आखिर समय नै त रहेछ वलवान ! विहान घरबाट हिँडेदेखि अहिलेसम्मका सारा कुरा मेरो मानसपटलमा सल्वलाउन थाल्यो । उनको त्यो स्पर्शको काउकुतीले म व्याकुल हुदै गएँ । ममा एक प्रकारको आनन्दको अनुभूति वढ्दै गयो । त्यो यौवनको रापमा म सल्कँदै गएँ । साँच्चै म डराएझैँ भएँ त्यो अँध्यारोमा । मैले महसुस गरे अव मसँग राजकुमार दाइ हैन मेरा असल मित्र, असल पे्रमी अनि असल जीवन सखी पाएको महसुस गर्दै थिएँ । राजकुमार दाइ एउटा कुरा भनाँै ?, भन न, के कुरा हो? “म तपाईबाट असाध्यै प्रभावित छु, के तपाईं मलाई माया गर्नुहुन्छ ? तपाईं मसँग बिहे गर्न तयार हुनुहुन्छ ?” मेरो कुरामा उनी क्षणभर मौन रहे, “मैले चाहेर के हुन्छ र अम्रिता, समाजले के भन्ला?, तिमी वाहुनकी छोरी म नेवार केटो, के हामी सफल हुन सकौँला ?”

“बस्, राजकुमारदाइ बस्, मलाई तपाईंको प्रतिकृया मात्र सुन्नु थियो । समाजको चिन्ता गरेर सकिँदैन, आइ लभ यु सो मच..,” मैले पलभरमै उनलाई अँगालोमा बाँधे । पलभरको लागि हामी दुई एक भयौँ । हामीले एक अर्कामा प्रेम रोप्यौँ । भविष्यको सपना सजायौँ ।

लजमा वत्ती वल्यो । हामी सम्हालियौँ । म झोला वोकेर तल झरे उनीसँगै । उनले चन्दाको मामाघरसम्म पैदल हिड्दै छाडिदिए । मुटुमाथि ढुङ्गा राखेर छुट्टियौँ हामी ।

उनले सिकाएर मेरै हातले पूरा सात दिन लगाएर एसेम्वल गरेको त्यो टेलिभिजन आज पनि मामाघरमा सुरक्षित छ । एसएलसीको नतिजामा डिस्टिङ्सन ल्याएपछि स्टाफनर्स वन्ने सपना पूरा गर्न वीरगंज बसेर पढ्न थालेँ । वीचवीचमा मेरो छुट्टी हुने दिन मिलाएर मेरो राजकुमार भेट्न आउँथे । कहिले रक्सौल घुम्न त कहिले बीरगन्जका एकान्त र रमणीय स्थलमा गएर मनका कुराहरू साटिरहँदा दिन वितेको पत्तो हुँदैनथ्यो । सानैदेखि नजरमा गडेको अनि माइजूसँग किनाउन नसकेको त्यो हाफपाईन्ट एक दिन राजकुमारले जन्मदिनमा उपहार दिएर मेरो मनमा अझ गहिरो चोट लगाए पवित्र प्रेमको । राजकुमारको घरायसी समस्याको कारण उनले बिहे गर्नु पर्ने भयो, उसले अन्तिम घडिमा मसँग बिहेको कुरा गर्न कलेजमै आएर भेटे, तर म आफ्नो क्यारियर बनाउने अभियानमा थिएँ । मैले केही वर्ष पर्खन अनुरोध गरेँ, दिनभरि हामी सँगै बसेर रोयौँ पनि । जसोतसो उनले दुई वर्ष कुरे मेरो लागि । तर विडम्वना..., मलाई बिहे गर्न अस्ट्रेलिया वसेका पिआर भिसा लागेका राम्रा केटा माग्न आएछन् चितवन घरमा । बा र मामाको सल्लाहमा खवर मसम्म आईपुग्यो । मैले टार्नकै लागि भएँ पनि स्टाफनर्स नवनेसम्म पढाई नछाड्ने अड्डी कसेँ । राजकुमारलाई दिलमा सजाएको कुरा माइजूलाई पनि सुटुक्क भने । तर यो कुरा मेरा लागि दुर्भाग्य हुने र कसैले नस्वीकार्ने तर्कहरू माइजूले प्रष्ट्याउनु भयो ।

अन्ततः केटाले बिहे गरेर जाने र पढाइ सकेपछि मात्र आफूसँग लैजाने सर्तमा अस्ट्रेलियाको पिआर होल्डरसँग मेरो विवाह हुने पक्का भएँको खवरले राजकुमारको मनमा आघात पुग्यो । उनले घर चलाउनै भए पनि मुटु माथि ढुङ्गा राखी अन्यत्र विवाह गरे । एक हप्ताको विवाहको औपचारिकता सकाएर म पनि पुनः होस्टेलमा बसेर पढ्न थालेँ । आज म साँच्चै स्टाफनर्स पनि भएकी छु । अव मेरो अस्ट्रेलिया जाने दिन पनि नजिकिँदै छ तर मभित्र मेरो जीवनसाथीको रूपमा राजकुमार नै सजिएका छन् । एकपटक उनको जोई हुने रहरमा बज्रपात भएको छ । मेरा अन्तिरिक चञ्चलता मुर्झाएको छ । के राजकुमारविनाको मेरो जीवन सफल होला ? सम्भवतः पहिलो प्रेम यस्तै हुँदो हो मनमा विझेको काँडाजस्तो ।

  • रचना मितिः १५ अाश्विन २०६९, म र काठमाण्डाै, कथा संग्रह २०६९ मा प्रकाशित पहिलाे कथा

Posted on 2012-10-01