Manoj Dhungana

ऊ पागल अवश्य छ तर विश्वास राख, उसको पागलपनमा सत्यता छ !

प्रसाद

तिम्रो निमन्त्रणा
तिम्रै सयन कक्ष
गुधुली साँझ अनि तिमी र म ।

हिजै जस्तो लाग्छ
तिमी तिर्थ गएर आएको,
साँझमा तिमीले बोलाएको,
आफ्नै अंगेनाको छेउमा राखेर
चिउरा र पेडा मलाई
प्रसाद भनेर ख्वाएको ।

जाडो छ, टन्नै खाउँ है भन्दै
भरि भरि गिलास चिया खाएको
यात्राका सबै नियात्रा सुनाएको ।

प्रसाद लगाउनु पर्यो
हात थाप्नुस् त ! भन्दै
मेरो दाहिने हातको नाडीमा
टन्न रातो धागो बाँधेको ।

हो त्यो साँझ,
मैले कहिल्यै भूल्न सकिन
तिमीले प्रसाद कै वाहनामा
दिएको निमन्त्रणा,
म सँग साटेको समय,
तिम्रो आत्मियता
त्यो भन्दा पनि धेरै
अघोषित र आन्तरिक
अनगिन्ती स्पर्सहरु
अनि
त्यसबाट उत्पन्न ज्वारभाटाहरु ।

अँह मैले केहि सुनिन
तिम्रा नियात्राका कुरा,
थाहा पाइन चियाको स्वाद,
मात्र तरंगित भइरहेँ तिम्रो स्पर्समा,
बगिरहेँ करेन्टरुपी छालहरुमा ।

आज पनि
जव म आफ्ना हातमा राता धागाहरु देख्दछु
त्यसै त्यसै काउकुति लागेर आउँछ
तिम्रो सम्झनाले सताउँछ
के जादु चलायौ त्यो साँझमा
तिमीले लगाइदिएको प्रसादमा ।

शनिवार, श्रावण १९, २०७०

Posted on 2013-08-03