दुइ छाक मिठो ख्वाएर
एक सरो राम्रो लगाइदिने ठेक्का
सुर्योदय संगै हरेक बिहानीमा शुरु भएर
साझ अबेर सम्म निरन्तरता
मेरो दैनिकी,
हरेक दिन नाप्नु पर्ने राजमार्गको आयतन
छिचोल्नु पर्ने चौरस्ता
कालिकाथान गल्ली।
पुराना र थोत्रा थांगनाको अङालो
नाकैमा ठोकिने अमिलो दुर्गन्ध
भुस्या कुकुर सङग दोस्ती
एउटा निर्दोस अनुहार ।
हरेक मौसममा
साझ बिहान एउटै सडकपेटीमा
बटुवाहरुको नाकै खुम्चिने परिदृस्य
कहिले चिने झैँ खिसिक्क हास्ने
कहिले डराए झैँ तर्सिरहने
आखिर को हुन सक्छ त्यो मान्छे ?
सबैको एउटै जवाफ छ,
यो., यो त पागल, सन्की
नजानु है नजिकै, जे पनि गर्न सक्छ ।
कोहि भन्थे बहुलाएको
कोहि भन्थे हावा फुस्किएको ।
आतंकित केटाकेटीका एक हुल,
तुरुन्तै जन्मिएको चक्चके अर्को हुल
उसलाई डर देखाएर तर्साउथे, भगाउथे।
हो म प्रत्येक दिन यहि आखामा देख्छु उसलाई
हेर्दा उ, म जस्तै मान्छे
तर देखिन कोहि उसको नजिक गएको,
कसैले आत्मियता बाडेको
उ मान्छे भएर समाजमा रमेको।
बरु धर्म कमाउन धाएका भक्तालुहरुको समेत
उ तारो भएको छ ,
दुर्गन्ध हटाउन उसलाई भगाउनु परेको छ
बिचरा !
जाडो बिहानीमा
गंगाजलको नाममा पुजारीको अत्याचार
अनि सहनशिल, लाचार त्यो आत्मा।
र ढुङाबाट पुलुक्क चिहाउने भगवान |
तथापी म देख्थे
उसले चलाएको दैनिकी
अंगालेको चिसो सडक,
भगवान बनेर बसेको अजङको ढुङो
निस्पट्ट हेरिरहन्थ्यो निरन्तर शान्त श्यामस्वयत हेराइ |
हाम्रो जम्का भेट हुने एउटै समय, एउटै स्थान
उसका निर्दोष र लाचार अनुहार
मनमा ठूलो भारि बोकेर
बिसाउने ठाउँ नपाए जस्तो,
कहिले स्मृतिमा केहि हराए जस्तो,
कहिले संसारकै ठूलो खुसी भेट्टाए जस्तो,
गुनगुनाइ रहने उसको स्वभावले
कहिले कहिँ म पनि झुक्किने गर्छु
कतै मै संग केहि भन्न खोजे जस्तो ।
छर्लङ लुकाइएको एउटा अलौकिक सत्य
पौष माघको जाडो छल्न थांगना भित्र लुक्ने
झरीबाट समान बचाउन प्लास्टिक ओढाउने
कसैले दया गरि दिएको खाइ दिने
लाज ढाक्ने,
ज्ञानी शान्त स्वभाब
यदि उ पागल थियो भने
उसको लाचारिपनमा पनि आक्रमण गर्ने
हामी को थियौ ?
२६ पौष २०५२