सर्सर्ती हेर्दा
असामान्य लाग्ने
तर सामान्य परिचय बोकेको
उन्नाइस बर्षे एउटा तरुण ।
कोर्न बिर्सिएको,
लामो, जिङ्ग्रिङ कपाल,
टाढै बाट देखिने जुँगाको रेखी,
काट्न बिर्सिएको
अझ भनौ खुइल्याउन अल्छी मानेर
जम्मा भएका बोके दाह्री,
साधारण कमिज
अमेरिकी झण्डाले घुँडा टालिएको
असाधारण जिन्स पाइन्ट
अनि हात्ती छाप चप्पल ।
दुनियाँको कुनै पर्वाह छैन
मनभरि एउटै सपना छ
चन्द्रमालाई धर्तीको धुलो सँग मिलाउने,
असम्भवलाई सम्भव गराउने
कल्पनाको संसारमा मस्त छ उ ।
आफूलाई धर्तीको धुलो स्वीकार्न तयार छ
र पनि चन्द्रमा सँग अगाध स्नेह गर्दछ
यहि प्रेममा एक दिन फल लाग्ने कुरामा
उ विश्वस्त छ, अटल छ ।
उसले कल्पेकाे छ त्यो मिलन बिन्दु
कयौ पटक उसले अन्तरमनबाट
चन्द्रमालाई अँगालेको छ, चुमेको छ ।
उसकाे विश्वासलाई
दुनियाले पागलपनको संज्ञा दिएको छ
तथापि कुनै पर्वाह नगरि
निरन्तर उ लागिरहेको छ
भनिरहेको छ
चोखो प्रेम गर्नु पागलपन हो भने
हो म पागल हुँ
मलाई मेरो प्रेममा बिश्वास छ
त्यसैले दुनियाँको पर्वाह छैन मलाई
तर विश्वास राख,
मेरो पागलपनमा सत्यता छ ।