हे क्रान्तिका ज्वालामुखी युवक हाे
तिम्राे हाम्राे दाइजाे अाज हराएकाे छ ।
दिदीकाे सिउँदाे पुछिएर पार्काे दाइजाे,
दाजुकाे जिन्दगी रितयाएर पाएकाे दाइजाे,
निर्दाेष सानाे भाइ गुमाएर पाएकाे दाइजाे,
बहुदलिय प्रजातन्त्र नै हाम्राे दाइजाे ।
हे जनशक्ति युवा हाे ,
प्रत्येक कुना काप्चामा हल्ला फिजिएकाे छ ।
पूर्खाहरूकाे सपना बाेकेर
प्रजातन्त्र घर दैलोमा छाएको छ
प्रत्येक नेपालीले आफ्नो हक भित्र
स्वतन्त्र बाच्ने पालो आएको छ ।
आँखा च्यातेर हेर वीर हो,
यहाँ कस्तो प्रजातन्त्र आएको छ ?
तातो गोलीलाई छातीले छेकेर
क्रान्तिको ज्वाला सेलाएको छ
प्रजातन्त्रको प्रभात बोकेर
उल्टै तानाशाही छाएको छ ।
हे झुपडीका तमाम शक्ति हो,
तिम्रो दाइजो कसरि हराएको छ ?
मन्त्रीज्यू का भब्य भवनहरुमा
नयाँ कार ज्यादै सुहाएको छ
संघर्षमा रित्तिएका ढुकुटीहरुलाई
खांदी खांदी भर्न पाएको छ ।
हे नेपाल आमाका सन्तान हो
आफ्नी आमाको अस्तित्व हराएको हेर ।
बेकसुर दिदी-बहिनीहरुलाई
बम्बै निवासी बनाएको छ
लुटपाट र गुण्डागर्दीलाई
पुरा स्वतन्त्र छाएको छ ।
राष्ट्रका बफादार फौजी हौ भने
नियालेर हेर यो दुर्दशा ।
ब्यापारीहरु संग कमिशन मिलाई
बजार भाउ चुलीमा चढाएको छ
तिमी हामी झैँ झुप्रेलाई
बाच्न मुस्किल गराएको छ ।
हे क्रान्तिका कोपिला बालक
तिमी पनि हेर आफ्नो प्रजातन्त्र ।
झ्यालमा बसेको सानो भाईलाई
गोलीको पर्रामा उडाएको छ
खेल मैदान बाट सानी बहिनीको
आफ्नो कुमारीत्व हराएको छ ।
हे संघर्षशील ज्वालाका प्रतिक
के तिम्रो पुर्खाको चाहना यहि थियो त ?
देशका पबित्र गंगाहरुलाई
कमिशनको भाँडा बनाएको छ
देशमा प्रजातन्त्र भित्र्याएर
प्रतिफल यहि नै पाएको छ ।
हातमा राँको लिएर उठ,
यहाँ अस्तित्वहीन प्रजातन्त्र आएको छ ।
सारा अन्याय र अत्याचार ढाल्न
तमाम शक्ति एक जुट हुन बाँकि छ
हाम्रो पुर्खाको सपना साकार पार्न
फेरी भिषण युद्ध हुन बाँकि छ ।
रचानाकाल: २०४९ अाश्विन ७ गते