नारी संघर्ष (part one)
मेरो नजरमा नहेरि देउ तिमी
नागिन रुपि ती आँखाहरुले I
झुटो प्रेम गरेर नफसाउ तिमी
केवल शब्दका झाकाहरुले I
वातावरण सुनसान, अध्यारा ती औँसीको रात, साथीको घरबाट पार्टी खाएर आफ्नो घर तर्फ अघिबढ्दै थिए । अकस्मात च्याँ……च्याँ …….. मेरो नाममा ठोक्कीयो दायाँतर्फ नजर घुमाएँ । एउटी नारी आफ्नो बच्चालाई फुटपाथे झाडिको जिम्मा दिई फर्कदै थिईन । मैले इशाराले रोक्किन भने, उनी झन अतालिदै भाग्न थालिन् । दोधारे मेरो मन, बच्चा बोकी उनैको पछितिर दौडन थाले । हुरी बतास सुसाइ रहेथ्यो तुफान ल्याउने अठोट बोकेर । दौडदा–दौडदै थाकेका मेरा गोडाहरु धेरै गलेपछि उनको पाखुरी समाउन सफल भए ।
“–बहिनी किन तिमी बालक माथी अत्याचार गर्दैछयौ ?” मेरो सोधाईमा मौनता छायो । मानौ, म भित्र उनी केहि खोजे झै गरी नियाल्दै थिईन । जब उनको नजर मबाट झुकेको मात्र के थियो, मैले त्यो कोमल मुहारको निरीक्षणमा केहि कुराको कमि पाएँ,
“बिचरीले कस्को पाप बोकिछे ?” मेरो मन भित्र प्रश्न चिन्ह खडा भयो । हो, उनको सिउँदोमा सिन्दुर थिएन, गलामा पोते र हातमा चुरा नभएर, रसिला दुई स्याउ जस्ता गाला,सुन्तला केस्रे लाल ओट, उकुसमुकुस भइरहेका उनमत र पोटिला छाती अनि सत्र वर्षे चढ्दो उमेर । बस् यहि थियो उनको साथमा इ
“विचरीको जिन्दगीमा कस्ले खेल्यो यसरी ?” मेरो मुटुमा काउकुती लाग्दै अर्काे प्रश्न जम्यो । संयुक्त उत्तरको आशा बोकेर प्रश्न पछारे ।
“–यो बच्चा कस्को हो बहिनी, नढाँटी भन त ?”
“–यो बच्चा मेरो होईन दाजु … ।”
“–फेरि कस्को त यो बच्चा, किन यहाँ छोडेर जाँदैछयौ ?” व्यदनारुपी आवाजले मेरो कौतुहतला जगायो, चीसो हावाको झोक्काले मुटु चसक्क पोल्यो । प्रश्न गरे उनले प्रतिउत्तर यसरी दिन्छिन् ।
“–आज भन्दा एक वर्ष अगाडिको कुरा हो, जब म स्कुल पढ्दै थिएँ , त्यस बखत सबै साथीहरु भन्दा उत्तौली, घमण्डी र सुन्दरी थिएँ । कयौ केटाहरु मेरो सौन्दर्यमा पागल भएर प्रेमको भिक्षा माग्ने तर मसँग प्रेम नभएर यौवनको चढ्दो घमण्ड थियो । सबैको प्रेमलाई लत्याएर सुन्दररुपसँगै फेशन प्रदर्शन मेरो आदत भैसकेको थियो । यस्तैमा एक दिन मलाई नजिकैको छिमेकी साथी (केटा) ले उही मायाको भिक्षा थाप्दै पत्र कोर्यो जुन केटा मेरो सधै भेटिने भावुक साथी थियो । त्यसैले होला ऊ भित्रका चाहनाहरु मैले बुझ्नै सकिन, जो उस्को पत्र र आजको परिस्थितीबाट भर्खरै बुझ्दै छु ।
प्रिय रश्मी,
सुमधुर मायाँका असीमित लहरहरु !
लेख्नु त के नै थियो र ? दैनिक दर्शन मिलेकै छ, तर पनि यो भावुक मुटुमा अड्किएका शब्द–शब्द संगालेर कोर्ने प्रयासमा छु ।
आज भन्दा एक वर्ष अगाडिको दिनहरु सायद तिमीले भुलिसक्यौ होला, हामी संगै खेल्थ्यौ । हाम्रो खेलमा एक दिन तिम्रो मेरो झगडा भएको याद छ तिमीलाई ? लुकामारी तथा एउटै चउरका नाना खेल, हाईजम्प, लङजम्प, चाक्कल चुक्कल आदि, जस्को झ–झल्कोमा दिन रात तड्पिएर जिउँदैछु । अझ तिमी यस गाउँ छोडेर गएपछि तिमीलाई थाहा नहोला कि, मेरो हालत के थियो ? भनेर । “मैले किन उनीसँग झगडा गरे ?” मेरो मष्तिककमा हरपल यो प्रश्न घुम्न थाल्यो जवाफको आशामा । तिमी बिनाको गाउँ मेरो लागि पानी बिनाको माछा झैँ हुन थाल्यो । थाहा थिएन जीवनमा यति निरस र कहाली लाग्दो दिन बिताउनु पर्ला भनेर, केवल तिम्रै मात्र दर्शनको अभावमा ।
मेरा यी मष्तिस्कहरु विगतमा तिमीसँग बितेका क्षणमा सीमित रहन्थे । मष्तिस्कले सबै काम दक्षरुपमा पूरा गर्न सकेन । परिणाम स्वरूप जीवनका हर मोडमा असफल रहे । बराला र पागल भन्न थालेछन् मलाई । भोक–प्यास विनाको मेरो जीवन एकोहोरो पनामा वित्दथ्यो । यसमा गल्ति तिम्रो थिएन, मनका कुराहरुको भाव पोख्न नसक्नु मेरो कमजोरी थियो ।
सायद तिमी फेरि यस गाउँमा नआएकी भए केहि बर्षमा त जीवनलिला समाप्त हुने थियो होला तर तिम्रो पुनर्आगमनले मेरो दिन फेरि मुस्कुराईरहेछ, रमाइरहेछ । फलस्वरुप आफ्ना कमजोरीहरुलाई दवाउँदै तिनै भावहरु कोर्दैछु ।
वास्तवमा भन्ने हो भने तिमी संगको बिछोड देखि तिम्रो सम्झनाले तडपदा तडपर्दै तिमीसँग कता कता मायाका अंकुसे अल्झिए झै लाग्यो । मेरो यहि अनुभवलाई वास्तविक संसारमा ल्याउन कोरिएको पत्रको जवाफ अवश्य नै दिने छौ भन्ने पूर्ण विश्वासमा कलम रोक्ने प्रयास गर्देछु ।
तिम्रो यादमा अल्झिएको
विश्वास शर्मा
“–त्यस पछि के भयो त बहिनी ? के यो प्रेम तिमीले स्विकार्यौ ?” मेरो सोधाई संगै बिजुली चम्कन्छ । म आफ्नो घर तर्फको बाटो अघि बढ्छु उनी पनि विस्तारै विस्तारै अघि बढ्दै मेरो प्रश्नको जवाफमा लाग्छिन् ।
“– म घमण्डी हुनाले होला यस पत्रलाई ठट्टा सम्झिएँ, किनकी यो पत्र मैले अप्रिल महिनाको पहिलो दिन पाएको थिएँ । हामीले यस दिनलाई झुक्याउने पर्व मान्थ्यौ । दिन कट्दै जाँदा चैत्रको अन्तिम साताको शनिवार, म आफ्नो नातेदारसँग पिक्निक जाने योजनामा थिएँ । संयोगले उ मेरो नातेदारसंग परिचित भएको कारण यस पिकनिकमा समावेश थियो फोटो ग्राफरको रुपमा I पिकनिक पछि हामी पुन: राम्रै सँग बोल्न थाल्यौ । साँच्चै उसले मलाई सच्चा प्रेम गर्दथ्यो भन्ने त्यसबेला मात्र महसुस गरे जब पिकनिक मनाएर घर आइपुगे । यस अघि त मैले सोचेकि थिएँ यो सबै बास्ना रुपी प्रेमको चक्कर हो, यस्तो प्रेममा मलाई घृणा थियो । त्यसैले उस्को पत्रको निष्कर्षको उत्तर स्वरुप ठोस जवाफ पठाउन सकिन । केवल व्यक्तिगत डायरीमा सिमित मेरो प्रेम उस्ले बुझ्न सक्ने सामर्थ्य थिएन । देख्थे म, उ रात दिन तड्पिरहेको, मेरो जवाफको प्रतिक्षामा । केही दिन पछि हाम्रो भेट स्कूलबाट फर्कदा बाटोमा भयो । रातो खाम हातमा लिएर आएको विश्वासले भन्न थाल्यो
“–कति छिटो छुट्टि भएको ? भागेको कि कसो ?”
“–तिम्रो पनि त भयो नि ।”
“–एउटा कुरा दिन्छु, लिन्छयौ रश्मी ?
“– के कुरा हो त्यस्तो ? लिनै नहुने चिज त दिदैनौ ?” त्यहि रातो खामलाई अगाडि तेस्र्याउँदै,
“–आउँदो नयाँ वर्षको उपलक्ष्यमा सानो शुभ कामना । ”
“–धन्यवाद, शुभ कामनाको आकार सानो भए पनि पाउनेको लागि ठूलै हुन्छ ।” उ भन्दै थियो शुभकामना गोप्य राख्नु भनेर यस भित्र शुभ कामना मात्र नभएर उस्को भावहरु पनि पोखिएको थाहा पाएँ ।
“–गोप्य राख्ने कोशिस गरौला तर …. ।”
“–तर तिमीले गोप्य राख्नै पर्छ ।”
यतिकैमा हामी छुट्टिनु पर्ने चौरास्तामा पुगि सकेका थियौ, छुट्टिन बाध्य भयौँ । घर पुग्नासाथ शुभकामना पढ्ने उत्सुकता बोकेर पाईला अघि सारे, तर अर्काे व्यवहारीक काममा भुलिछु । बेलुकि स्कूलको होम वर्क गर्दा याद आयो, हतारिएर खाम खोले जसबाट थाहा हुन्छ की ऊ मलाई जीवनको अन्तिम मोड सम्म पनि आफुलाई भन्दा बढी माया गर्छ । मेरो खुसीमा ऊ आफ्नो गला रेट्न तयार छ । मैले प्रेमलाई घ्वाप्लाक्क अंगाल्नु अघि गहिरिएर सोच्न जरुरी संझे, अघिल्लो दिन यादवले पनि प्रेम पत्र पठाएको थियो । मनभित्र ज्वारभाटा चल्न थाले, दुवै पत्रलाई एकत्रित गरी विश्लेषण गर्न थाले । चन्द्रमा, पृथ्वी र सुर्य बीचमा ज्वार चलेझै विश्वास, म र यादव बीच कयौ ज्वार उठे कयौ भाटा । त्यस रात मेरो नजरमा निन्द्रा देवी हाजिर भईनन् ।
धेरै समयको सोचाई पछि मैले एउटा निष्कर्ष निकाले र आफ्नो लागि निर्धक्क भएँ । भोलिपल्ट मेरो मुटुमा विश्वासको पत्रले अड्डा जमाएको महसुस गर्न थाले । सायद चन्द्रमा र सुर्यको दुरीको फरक नै विश्वास र यादवमा थियो होला । जब फेरि उस्लाई भेट्ने मौका मात्र के पाएको थिएँ, उस्को अन्तर आत्माको परीक्षा लिन थाले, जसमा उस्को प्रेम ५ प्रतिशत पनि फेल हुन सकेन । विश्वास प्रेममा सफल थियो तर म रहे असफल I मैले सारा घमण्ड तोडेर उस्लाई प्रेम दिन चाहे तर मेरो साथी पनि यस्तै घटनाको शिकार भएकी थिईन् बबि I बबिको अर्ति टार्न नसकि यौवनलाई गुम्याउन बाध्य भएँ, तर म सोझै ईन्कार गर्न सक्दिनथें । नाटकीय मायाको भाव देखाउँदै उस्को मष्तिस्क केलाउन थाले । मानौँ, ऊ यति पागल थियो कि बाँच्ने माध्यम नै केवल मेरै सफलता थियो । हलपल ब्यागमा मेरो तस्वीर सजिएको हुन्थ्यो, जुन तस्वीर कहिले, कहाँ र कस्ले खिचेको हो ? म स्वयंलाई थाहा थिएन । हँसिलो मुहार बोकेर त्यस दिन हामी दुवै बिछोडियौ । हाम्रो भेट्ने केन्द्र विन्दु नै स्कुल देखि त्यहि चोकसम्म थियो ।
दिन प्रति दिन ऊ मबाट नजिक हुन थाल्यो, बीचमा यादव रुपी काँढाहरु नपलाएका होईनन् । अन्तमा मैले विवश भएर एक नाटक निर्माण गरी प्रस्तुत गर्न बाध्य भएँ । तर मेरो लागि वास्तविक यहि थियो ।
मेरो प्रतिक्षामा रहेको विश्वासको अगाडि आफ्नो चेहरामा वास्तविक चिन्ताको अभिनय प्रस्ट्याउँदै त्यही बाटोमा हाजिर भएँ ।
“–अरे … तिमी आज किन यति सि …. ?”
“–एउटा कुरा विश्वास गछौ ?”
“– के कुरा हो त्यस्तो ? भनन सुनिहालौँ”
“– हेर विश्वास, आजसम्म जे पनि भयो,सबै बिर्सने प्रयास गर ।”
“– किन र, कतै तिमी जोक त सुनाउदै छैनौ ?”
“– होईन विश्वास सच्चाई हो यो । वास्तवमा मेरो लागि प्रेम ठूलो तगारो भईदिएको छ । तिम्रो प्रेम पत्र मेरो ममीको हातमा पुग्यो ।”
“– यो कसरी भयो रश्मी,कसरी ?”
“– जब म हिजो स्कूलबाट छुट्टिएर घर गएँ, त्यतिबेला त्यो पत्र किताबमा थियो तखतामा, म घरबाट घुम्न निस्के । घरमा सर्पको प्रवेशले कोलाहल मच्चियो, सर्पको खोजी गर्दा गर्दै सर्प त्यही तखता मुनि पुग्यो, फलत: तखता पल्टाउन करै लाग्यो, किताब भित्रको पत्रले च्याएको देखेर किताब मिलाउन लाग्दा ममीले पाउनु भएछ । यो घटनाबाट म अजान थिएँ, केहि क्षणमा म घर पुगे ।
“–रश्मी यहाँ आउ त ।”
“– किन ममी ?”
“–एउटा कुरा नढाँटी भन्छ्यौ ?”
“– कस्तो कुरा हो भन्नुस न ममी ?”
“–हेर रश्मी,तिमी अहिले जुन बाटोमा लागेकी छ्यौ, अहिले तिम्रो लागि वास्तवमा त्यो बाटो एकदम गलत छ । तिमीले अहिले केवल पढाईलाई ध्यान दिनु पर्छ ।”
“–ममी, पढाई मात्र जिन्दगी पनि त होईन ? नियमित समयमा पढे पछि केहिक्षण घुम्नु पनि राम्रो होईन र ?”
“–कुरा घुमाईको होईन, तिमी अब सानी पनि छैनौ, सबै कुरा खोलेर भन्न अभुझ पनि छैनौ । एक पटक आफ्नो नजरले आफ्नो हरेक अंग निरीक्षण गर त्यस पछि तिम्रो किताबमा भएको पत्र सम्झ । नारीको रुप एउटा सुन्दर गुलावसँग दाँजिएको रुप हो यदि सम्हाल्न सकेमा । गुलाबको एक पत्र मात्र खस्यो भने पनि उसको सारा जिन्दगी एउटा दाग लागेर बस्ने छ र त्यो गुलाव प्राय सबैको अप्रिय हुन्छ । त्यसैले आईन्दा यस्ता पत्रहरु नभेटिनु नै राम्रो हुने छ । यो समाजको अगाडि ईज्जत र सम्मानमा बाँच्नु छ भने यस्तो कार्यलाई त्यागेर पढाइमा डटेर अघि बढ र महान बन, देश र जनताले तिमीबाट केहि फाईदा लिन पाउन् । यदि यो बाटो तिमी त्याग्न सक्दिनौ भने तिमीले यो घर त्याग्नु पर्ने हुन्छ । निर्णय तिम्रै मुटु भित्र छ ।”
“– म के गरौ विश्वास तिमीनै भन त ?”
“– त्यसो भए के तिमी म सित प्रेम गदैनौ त ?”
“–ममीको बचन म कसरी काट्न सक्छु र ? मेरो लागि यो समयले प्रेमलाई भन्दा बढी घरलाई महत्व दिइरहेछ तर म प्रेमलाई घृणा गर्दिन ।”
“–रश्मी यसरी समाजको हावादेखि डराएरर प्रेम नगर्ने हो भने संसारमा कयौँं प्रेम जोडीहरु .. तिमी जस्तै थिए त ? सधै तिम्रो लागि त्यस घरमा स्थान त सायद छैन होला, तर पनि तिमी प्रेमलाई किन साधारण धागो सम्झन्छ्यौ ? मायाको डोरी बलियो हुन्छ रश्मी,एक पटक विश्वास गरी हेर त ? ”
“–भयो विश्वास, भयो, तिमी यसलाई सपना सम्झेर विर्सने कोसिश गर, म तिम्रो जीवनमा वसन्त बोकेर आउन असमर्थ छु । मेरा पाईलाहरु स्वतन्त्र भएपनि अगाडि ठूलो खाडल खनिएको छ । ”
“– ठीकै छ, यदि तिमी त्यहि चाहान्छौ र जीवनमा सुखी रहन्छ्यौ भने आँशु पिएर पनि म बाँच्ने कोसिश गर्ने छु तर दुईवर्ष अघि देखि धसिंदै गएको प्रेमको जरा म उखेल्न पनि सक्दिन र चाहन्न पनि । यो जुनीको मिलन असम्भव भए पनि दोश्रो जुनीको प्रतिक्षामा बस्ने छु । त्यसबेला सम्म तिमीले मेरो प्रेमीका को संज्ञा पाउने छ्यौ । ”
“– बस् विश्वास बस् मेरो नजरबाट टाढा भईदेऊ तिमी ता कि मेरो मन कल्पिएर नरोहोस् र म आफ्नो ममीको नजरमा पनि नगिरुँ ।” “– हो रश्मी समयले हाम्रो बाटो जोडीदेलान् । परिस्थितीले नजरहरु ठक्कर खालान्,यी बाध्यताका परिस्थितीमा पागल सम्झि माफी दिनु, अन्यथा म तिम्रो नजर त के जीवनबाटै टाढिने कोसिश गर्ने छु ।”
अतितका कहानी सुनाउँदै रहन्छिन् तर मेरो प्रश्नको जवाफ आउँदैन कहानी अधुृरो भएर होला मलाई गफ खल्लो लाग्न थाल्छ । हातमा बालकलाई राम्रोसँग समाएर फेरि अर्काे प्रश्न गर्छु कहानी टुङ्ग्याउन ।
“– त्यस पछि कहिल्यै भेट भएन उसँग ? ”
“–बेलाबखतमा भेटिन्थ्यो तर बोल्ने साहस दुवैले बटुल्न सक्दैनौ, नजर नजरको मौन हेराई मै बाटो कट्दथ्यो समय यस्तै गुज्रदै जाँदा मेरो दिदीको विवाह भन्दा केहि दिन अगाडि भेटेथे तर म विवाहको लागि जनकपुर तर्फ प्रस्थान गर्दै थिएँ । असारको दोश्रो हप्ताको मध्य समय,स्कूलमा अर्धवार्षिक परीक्षाको समय हुनै लागेको थियो । बिहानीको कक्षाको कारण करीब १० बजेतिर म घर तर्फ प्रस्थान गदै थिए । उ मेरो पछाडि साइकलमा आउँदै रहेछ । जब म पछाडि फर्केर यो चाल पाएँ, नजरको ठक्कर पूरा हुन नपाउँदै धेरै दिनपछि उस्को आवाज सुन्न पाएँ ।
“– चाँडै छुट्टि भएछ, पढाइ छैनकी कसो ?”
“– परीक्षा आउँदैछ खास पढाइ छैन, पढाइ त ठीकै छ ।”
“–परीक्षा कहिले शुरु हुन्छ ? राम्रो संग पढ ल ?”
“– खै … के पढनु ५ दिन बाँकी छ, फेल भईहाल्छ ।”
“– ल हेरहेर… लाटी, बिर्सियौ तिमीले त्यस दिनलाई ? तिम्रा ममीको सपना साकार पार्न तिमीले पढाइमा डटेर महान बन्नु पर्छ । देश र जनताले तिमीबाट फाइदा लिन पाउन् । बरु म तिम्रो साथ दिन्छु यस कामको लागि ।”
“– कसरी साथ दिन्छौ ?” मेरो कौतुलताको प्रश्नमा उनले एउटा कापी निकाल्यो
“– त्यसो त म फेल हुनै पर्छ ।” मैले ढिपी कसे, ऊ मलाई सम्झाउन थाल्छ,
“– चाहे तिमी जे भन रश्मी, मैले केवल तिम्रै प्रगतिको लागि सारा परिश्रम लगाएर यो कापी तयार गरेको छु । जसबाट तिमीले ५० प्रतिशत सफलता पाउने छयौ, म तिमी सफल भएको हेर्न चाहन्छु । यसैको लागि मात्र मैले भेट्ने प्रयास गरे, यसमा मलाई माफ दिएर यो कापी स्वीकार ल ? …….”
उस्को ढिपीमा मेरो बल पुगेन र त्यो कापी बोकेर घर तर्फ आए जुन कापीमा नाम लेखिएको थिएन । यस पटक म सोचमा परें । सधै प्रेम प्रति पवित्र भाव दर्शाउने व्यक्ति आज मेरो सहयोगी भित्र कसरी ? तर ……. घर पुगेर जब कापी पल्टाएँ बीच बीचमा उही प्रेमवाणी, भविष्यवाणी अनि अधुरो प्रेमको सुमधुर संम्झानाका क्षणहरु संगालिएका ती पत्रहरु जस्मा यस्ता भावहरु झल्कन्थे ………………..
रश्मी
लामो सम्झना !
मलाई लाग्छ दुई नजरका तीखा ठक्कर नै हामी बीचको पवित्र प्रेम हो । यदि प्रेम नहुँदो हो त घृणा खोई त ? बेवास्ता किन हुँदैन ? देख्छु म तिम्रो नजरका कोसभरि लाखौ मायाहरु अल्झिएका छन् तर पोखिदैनन्, किन ? हँसिला ती अनुहारहरु एक आपसमा झुक्छन् किन ? यो प्रश्नका रहस्यमय उत्तर मुटु चिरेर खोज्न थाल्छु, भेट्टाउँदिन । तसर्थ यहि उत्तरको खोजीमा अनायासै तिमीसँग बोल्न खोज्छु ।
कुनै कुराको निर्णय गर्नु अघि पून: दोहोर्याएर निर्णय जाँच गर्नु पर्ने हुन्छ । हो, हाम्रो प्रेम दोहोरो छैन, मात्र म तिमीलाई प्रेम गर्दछु तर तिम्रा ती नसालु नजर मेरो आँखाको नानीमा ठककर खान्छ, किन ? मेरो प्रेमपत्रको इन्कार जवाफ खोई ? पत्रलाई इन्कार नगर्नु प्रेम गरेको होइन ? यीनै प्रश्नहरुको ठोस उत्तरको अभावमा म आफै भित्रभित्रै तड्पिरहेछु । यही आत्माबाट फेरी प्रश्न गर्न मन लाग्छ ।
म मरे सबै खुसी हुन्छन् तर तिमी, हुन्छ्यौ की हुँदिनौ भन्न सक्दिन ।
मेरो लास चितामा राखेको हुन्छ तर तिमी,रुन्छ्यौ कि रुदिनौ भन्न सक्दिन ।
म पागल बनि दिए सबै हाँस्छन् तर तिमी हाँस्छ्यौ कि हाँदिनौ भन सक्दिन
म बाँचे सबै दु:खी हुन्छन् तर तिमी दु:खी हुन्छ्यौ वा सुखी भन्न सक्दिन ।
रश्मी, वास्तवमा तिमी संग पत्रचार गर्न कलम चलाउने हो भने, यी कलमका मसी सकिए पनि मनका भावनाहरु बगिरहँदा रहेछन् । बस अहिलेलाई यति मात्र ।
उहि केवल तिम्रै हितैषी,
विश्वास शर्मा
ऊ यसरी आफ्ना भावहरु विभिन्न माध्यमबाट म समक्ष पठाइरह्न्थयो । तर आज ऊ कहाँ छ ? कस्तो छ ? कसरी रहेको छ ? भन्ने कुरा सायद प्रभुलाई थाहा होला तर मलाई … ।”
विजुली चम्किएर उनको आवाज त्यसै रोकिन्छ, घर पनि आइसकेको रहेछ । पानीका मसिना कणहरु बर्सिन थाले । म उनको रहस्यमय कहानीमा हराएको हुन्छु । मेरा कानहरु वास्तविक यो घटनाको बिस्तृत कथा बुझन खोज्छ तर समयले दिँदैन ।
“–बहिनी,पानी पर्न थाल्यो बाँकी कुरा मेरो घरमा गएर गरौला,हिँड ।”
“–तपाई मेरो बाटो नरोक्नुस् दाजु म अलच्छिनी आफ्नो लक्ष्य बोकेर आएको छु र पूरा गर्न जाँदैछु ।”
उनी भाग्ने कोशिसमा थिईन् तर मैले आवेशमा एक हातले बच्चा च्याप्दै अर्काे हातले उनको गालामा झापु मारे तब मलाई याद आयो कि मैले यो कठोर पञ्जा फूलमाथि प्रहार गरेछु भन्ने कुरा ।
“– माफ गर बहिनी आखिर तिम्रो बाटो छेक्ने म को नै हु र ? तर पनि हामी मानव भएर मानवताको नातामा यो बालकको भविष्य सावार पार्ने प्रयास गरेको मात्र हुँ ।”
“– दाजु वास्तवमा गल्ति तपाईको छैन, तर म ….अविवाहितबाट … बच्चा देखेर … के भन्नु होला तपाईकी…. ? ”
“–पीर माग्नु पर्दैन बहिनी अहिले म एक्लै छु , हिड मेरो घर बाँकी त्यही गएर बताउँला ।”
धेरै बेरको करकाप र पानी ठूलै बसिनथालेपछि उनी मसँग हिड्न स्वीकार गरिन् । घर पुग्नासाथ आधी तुफान सहित अँध्यारा रात गुन्जन थाले ।
Posted on 1993-09-19