मकवानपुरे साहित्यिक अग्रज तुल्सी थापा
बिक्रम संबत २००२ साल असोज ३ गते तदनुसार १९ सेप्टेम्बर १९४५ मा जन्मनु भएका तुल्सी थापा मकवानपुरे साहित्यिक फाँटका बलिया खम्बा मानिन्छ । भिम बिराग साहित्य कला प्रतिष्ठानमा अध्यक्ष समेत रहनु भएका थापा समयानुसार साहित्यका विभिन्न विधामा कलम चलाइरहनु भएको छ । कृतिका रुपमा “एक निमेष अनन्तको” मसिना कबिता संग्रह र “अमर सिंहको खोजीमा अमर सिंह” नाटक प्रकाशित छन् साथै कथा संग्रह “फरक आकाश” प्रकाशनको तयारीमा रहेको छ । दर्जनौ भन्दा वढी मानसम्मान र पुरस्कार पाउनुभएका थापा साहित्य संगम मकवानपुर, सहिद स्मारक बिकास समिति, मातृभूमि साहित्य समाज जस्ता बिभिन्न संस्थाहरु सँग आवद्ध हुनुहुन्छ ।
बुवा दिलबहादुर थापा तथा आमा उमादेबी थापाको कोखबाट पहिलो सुपुत्रको रुपमा भैसे गा.बि.स. वडा नं. १ मा जन्मदा देशमा राणा शासन कायमै थियो । “सन्तानले डाँडाकाँडा ढाकुन” भनेर ठूलाले सानालाई आशिर्वाद दिने त्यो समयमा वहाँ पनि आठ बहिनी र एक भाइका धनि हुनुहुन्थ्यो । सर्वसाधारणका लागि आजको जस्तो पढ्न पाउने सहज वातावरण थिएन त्यतिबेला । भैसेका एक कप्तानले आफ्ना बालबच्चालाई घरमै पढाउन भनेर भारत मोतिहारी देखि ल्याइएका शिक्षकको सहयोगमा वहाँले पनि सावा अक्षरको प्रारम्भिक ज्ञान हाँसिल गर्नुभयो । श्री सत्यदेव प्रसाद श्रीवास्तवलाई वहाँ आफ्ना आदरणीय गुरुका रुपमा श्रद्धा मान राख्नु हुन्छ ।
२००७ साल फाल्गुन ७ बाट राणा शासनको अन्त्य र प्रजातन्त्र उदय पश्चात राजधानीमा आम जनताका छोराछोरीले पढ्न पाउने वातावरण तयार भयो । छोराको पढाइ प्रतिको लगनशिलता देखेर बुवा दिलबहादुले पनि गाउँमा राखेर छोराको भविश्य बिगार्नु भन्दा शिक्षाको ज्योतीबाट उज्वल भविश्य दिने सोचका साथ काठमाण्डौ स्थित आनन्द कुटी बिद्यापीठमा भर्ना गरिदिनुभयो, जहाँ बौद्धको सम्यक मार्ग अनुसार अंगे्रजी माध्यमले नेपाली लगायत बिषयको अध्ययन गराइन्थ्यो । जसको कारण वहाँको अंग्रेजी असाध्यै राम्रो थियो । बिद्यापीठको अनुशासनमा रहेर वहाँले पाउनु भएको नैतिक तथा परोपकारी शिक्षाका कारण वहाँ बिद्यापीठका शान्त, मिलनसार तथा गम्भीर किशोरको रुपमा परिचित हुनुभयो ।
२०१८ सालमा एस एल सी परिक्षा दिएर गाउँ फर्किदा गाउँको वातावरण फेरिएको थियो । प्राथमिक बिद्यालय पनि स्थापना भइसकेको थियो । धेरै दिन पछि पुराना मित्रहरुसँगको भेटघाट, हर्षेउल्लास एवम् मनोरन्जनपूर्ण रहयो । हरेकका आ–आफ्नै प्रतिभा थियो । कोहि खेलकुदमा निपूण थिए, त कोहि कलाकारितामा, कसैको साहित्यमा रुचि थियो, कोहि गाउन चाहन्थे । प्रतिभा प्रस्पूmटनका लागि मंचको आवश्यकता महशुस गर्दै सबैको सहमतीमा सोहि साल वहाँ संस्थापक सचिब रहेर “भैसे राप्ती क्लब” स्थापना हुन पुग्यो । वहाँ भन्नु हुन्छ “मकवानपुरे इतिहासमा दर्ता भएका संस्थाहरुको दर्ता अभिलेख हेर्ने हो भने यो क्लब सम्भवत दोश्रो स्थानमा पर्दछ ।” जसले त्यो समयका युवाहरुलाई समेटेर भलिवल खेलाउँथ्यो, शेक्सपियरका अंग्रेजी नाटकहरु नेपालीमा अनुवाद गरेर मंचन गर्दथ्यो, साहित्यका बिभिन्न बिधामा छलफल तथा प्रोत्सान दिइन्थ्यो । पुस्तकाल संचालन गर्दथ्यो र युवाका प्रतिभाहरुलाई समाजमा प्रदर्शनगर्ने माध्यम बनेको थियो । वहाँको क्लब सँगको आवद्धताले फाट्टफुट्ट कबिता पनि कोर्न थाल्नु भयो । वहाँको समाजप्रतिको उत्तरदायित्व एवम् सक्रियताको उदाहरण थियो ।
एस.एल.सी. मा उतिर्ण भएपछी वहाँ त्रि–चन्द्र कलेजमा बिज्ञान बिषय पढ्नका लागि भर्ना हुनुभयो । दुईवर्षको अध्ययन पछि घरायसी कारणले वहाँले पढाईलाई निरन्तरतादिन सक्नु भएन र आफ्नै गाउँ भैसे फर्किन बाध्य हुनुभयो । पढ्ने इच्छा हुँदाहुँदै पनि निरन्तरता दिन नपाएपछि आफ्नो जोस मर्न नदिन वहाँले गाउँको बिद्यालयमा स्वयमसेवीको रुपमा पढाउन थाल्नु भयो । बाल्यकालका दौतरीहरु कोहि ट्रक साहु भएका थिए, कोहि ट्रक ड्राइभर, अनि कोहि खेतिपाती, व्यापार मै रमेका थिए । तुलनात्मक रुपमा बौद्धिक क्षेत्र अंगालेका कारण वहाँलाई साथीहरुले हेर्ने नजर बेग्लै थियो तथापी आफ्नो पढाइ रोकिएको र आयश्रोत नभएको कारण केहि त गर्नुपर्छ भन्ने दृढ संकल्प थियो वहाँसँग । घरै बसेर आइ.एस्सी. परिक्षा दिन सम्भव थिएन । फेरि प्रथम वर्षमा भर्ना हुनुपर्थ्यो । परिवारको साथ तथा साथीहरुको सल्लाह अनुसार समय वर्वाद गर्नु भन्दा प्राइभेट परिक्षार्थीका रुपमा आइ.ए. परिक्षा दिनुभयो र उतिर्ण पनि । त्यस पछि पनि कलेजको पढाइलाई निरन्तरता दिन सक्ने सम्भावना रहेन । बिरगंजको कलेजमा केहि समय क्लास लिए पछि वहाँले प्राइभेट परिक्षा दिनेगरि बि.ए. को फर्म भर्नुभयो र वहाँको मेहनतले सफलता हाँसिल गर्यो । एम. ए. अध्ययनका लागि काठमाण्डौ जाने, जागीर र अध्ययन सँगै लैजाने सोच राखेर काठमाण्डौ लाग्नु भयो । तर इच्छा लाग्ने खालको जागीर काठमाण्डौमा नपाएपछि खर्चले धान्न नसक्दा एम. ए. को सपना अधुरो बनाउँदै घर फर्कनु भयो ।
२०२७ सालको कुरा थियो, रुपचन्द्र बिष्ट पालुङको सरकारी बिद्यालयमा प्रधानाध्यापकका रुपमा कार्यरत थिए । अग्ला, बुद्धिजीवी तथा दार्शनिकका रुपमा चिनिएका रुपचन्द्र बिष्ट दामनका विशिष्ट व्यक्तित्व थिए । आकर्षक ब्यक्तित्व र सामाजिक सक्रियताका कारण सबै युवाहरुको रोल मोडल भएका थिए उनी । उनको आफ्नै सपना थियो, उनी पनि आफ्नो लक्षमा अझ अगाडी बढ्ने बाटाहरुको खोजीमा थिए । एक दिन उनले भैसेका प्रतिभासाली, अंग्रेजीमा दक्ष अनि स्वयम्सेवीका रुपमा बालबालिकालाई पढाइरहेका युवा तुल्सी थापाका ’boutमा सुने । हान्निदै आए भैसे, दिलबहादुरलाई भेट्न । भविश्यको सुन्दर सपना देखाउँदै घर बसिरहेको छोरालाई पालुङमा शिक्षकको जागिर दिने आश्वासन दिएपछि उहाँले पनि छोराको राय लिनुभयो । के खोज्छस् कानु आँखा भने जस्तै घरमै आएर रुपचन्द्र बिष्ट जस्तो दार्शनिक ब्यक्तित्वले बिद्यालयको जागिर लगाइदिने भएपछि वहाँ पनि पछि लाग्नु भयो ।
बिद्यालयको संचालक समितीको बैठकबाट रुपचन्द्र बिष्टले वहाँलाई जन कल्याण हाइस्कुलमा सह–प्रधानाध्यापकको नियुक्तिपत्र थमाइदिए । एकातिर सरकारी जागीर अर्कोतर्पm बिरगंज निवासी चुन्नु थापासँग बैवाहिक सम्बन्ध गाँसिनु वहाँको लागि दुइटा हातमा लड्डु सावित भयो त्यस वर्ष । अर्को वर्ष रुपचन्द्र बिष्ट आफ्नो लक्ष प्राप्तीका लागि लागे रसिया तिर । बिद्यालय नेतृत्व सम्हाल्न सक्ने जिम्मेवार र कर्मठ युवा खोजेर सह–प्रधानाध्यापकको जिम्मेवारी उनले त्यसै दिएका थिएनन् सम्भवत यो उनको पूर्व तयारी थियो । यसरी काँधमा बिद्यालयको जिम्मेवारी आएपछि वहाँले बिद्यार्थीहरुको शैक्षिक गुणस्तर बृद्धिका लागि आफ्नो योग्यताको पूर्णरुपमा सदुपयोग गर्ने क्रममा वहाँलाई आत्मसन्तुष्टी मिल्यो । शिक्षणपेशा कै दौरान नयाँ शिक्षा निति लागू भएपछि वहाँले सरकारी कोटाबाटै बि.एड. पनि पूरा गर्नुभयो ।
तुल्सी थापा चेपाङ जातिको उत्थानमा पनि निकै सकृय व्यक्तित्व मानिन्छ । धादिङ, चितबन र मकवानपुरको त्रिकोण क्षेत्र लोपोन्मुख चेपाङ जातिको पुरानो थातथलो । चेपाङ उत्थानका लागि वहाँले आफ्नो जिन्दगीको १२ वर्ष खर्चिनु भएको छ । २०३४ सालमा वहाँ लगायतको समूहले प्रथम पटक बृहत चेपाङ सम्मेलनको आयोजना गर्यो । नेपालका लागि रेडक्रसका संस्थापक अध्यक्ष प्रिन्सेप शाहले उदघाटन गर्नुभएको सो कार्यक्रम सदस्य सचिवको हैसियतले वहाँले संयोजन तथा संचालन गर्नुभएको थियो । तात्कालिन अंचलाधिश अतिथी तथा राजघरानाका नातेदार प्रमुख अतिथी भएका कारण पनि चेपाङ उत्थान सम्मेलनका पूर्ण विवरण दरवार सम्म पुग्यो । फलस्वरुप राजा बिरेन्द्रबाट चेपाङहरुका उत्थानका लागि बिभिन्न शिर्षकमा हुकुम प्रमाणङ्गी भइ जिल्ला पन्चायतको वार्षिक कार्यक्रम मार्पmत सानासाना परियोजनाहरु आउन थाले तर यसको नेतृत्वगर्ने व्यक्ति भएन । सरकारी निकायले चेपाङका क्षेत्रमा नेतृत्व गर्नसक्ने मानिस खोज्ने क्रममा चेपाङ सम्मेलनको स्मरण गर्दै अंचलाधिस मार्फत वहाँलाई बोलाइयो । चेपाङ लक्षित कार्यक्रमहरु दिर्घकालिन नहुने तर वहाँ सरकारी तथा स्थायी शिक्षक भएका कारण वहाँले रुचि भएर पनि जान नपाउने स्थिती श्रृजना भयो । अन्तमा सरकारले वहाँलाई काजकै भए पनि चेपाङ अधिकृतका रुपमा लक्षित कार्यक्रमको अगुवा बनाइदियो ।
चेपाङ बसोवास रहेका आठ गाउँ पञ्चायतको अल्पकालिन कार्ययोजना तयार गर्ने र जिल्ला पन्चायत मार्पmत प्रतिवेदन बुझाउने, आएका कार्यक्रमहरु सोहि अनुसार कार्यान्वयन गरि प्रगति बिवरण बुझाउने वहाँको दैनिकी भयो । तर अल्पकालिन कार्यक्रमले उनीहरुको जीवनस्तर उकासिन नसकेपछि वहाँकै सुझाब अनुससार दिर्घकालिन योजनाहरु आउन थाले । युनिसेफले पनि चेपाङ लक्षित बेसिक सर्भिस इन लोकल डेभलप्मेन्ट कार्यक्रम ल्यायो । यसको कोअर्डिनेसन नेतृत्व पनि वहाँले नै गर्ने अवसर पाउनुभयो । युनिसेफले आफ्नो लगानीको उपलब्धि निरिक्षणका लागि न्यूयोर्कबाट युनिसेफ चिफ जेम्स ग्रान्ट तथा सरकारका प्रतिनिधि लगायतको समूह हेलिकप्टरबाट चेपाङ बस्तिमा ओर्लिए । वहाँले त्यो समूहलाई चेपाङहरुलाई के के शिप सिकाइन्छ, सिकेकाहरुले पाएको रोजगारी, उनीहरुको उत्पादनको बजार ब्यवस्थापन, दिनभर काममा तल्लिन चेपाङहरुका साना नानीहरुको स्याहार केन्द्र, ठूला नानीहरुको शिक्षालय लगाएतका सबै स्थलगत भ्रमण गराउँदा ग्रान्ट सन्तुष्ट भएर प्रसंसा गर्दै धन्यवाद दिएको त्यो क्षण आफू सफल भएको जिन्दगीको अविस्मरणीय क्षण मान्नुहुन्छ वहाँ । चेपाङ उत्थान बिकाशका लागि वहाँले लिनु भएको नेतृत्व, वहाँको मेहनत र लगनसिलताको कदर गर्दै २०४४ सालमा वहाँलाई “गोरखा दक्षिण बाहु” बाट सम्मानित गरियो । यसरी काजको रुपमा चेपाङ उत्थान बिकाश कार्यक्रको नेतृत्व गर्न जानुभएको व्यक्ति एउटै पारिश्रमिकमा १२ वर्ष सम्म चेपाङहरुसँग रम्दै व्यतित गर्नुभयो ।
जिन्दगीको २१ वर्षेे जागीरे जीवनमा सम्पत्तीको नाममा वहाँले एक श्रीमती, एक छोरा, दुई छोरी अनि नगद वीस हजार संकलन गर्न सक्षम हुनुभएछ । वाल्यकालका एक मित्रले हेटौंडा बजारमा जग्गा किन्न उक्साए पछि ४८ साल तिर जग्गा किन्न हेटौडा छिर्नु भयो । गाउँ, पाखा, पहरा संगको साइनोको कारण वहाँलाई नवलपुरको डाँडाले मन छोयो । चारैतिर हराभरा, परपरका बस्तीहरुको दृष्यले मोहित हुदै पन्ध्र हजार रुपैयामा एक कट्ठा जमिन जोड्नु भयो ।
सरकारी जागिरे भएपछि जहाँ खटाए पनि पुग्नै पर्ने वाध्यता थियो । चेपाङ बिकाश कार्यक्रममा कार्यरत रहँदा नै वहाँको सरुवा नामटार भइसकेको थियो । तर वहाँ भने चेपाङ बिकाश कार्यक्रममा काजमा कार्यरत भएका कारण नामटारको कालिका माध्यमिक बिद्यालयले करिव ४–५ वर्ष प्रधानाध्यापक बिहीन हुनपुग्यो । कालिकामा प्रधानाध्यापक सम्हालेपछि फेरी वहाँको दैनिकी शैक्षिक उत्थानतर्फ मोडियो । २०५० सालको बाढी पहिरोले पुरै नामटार बस्ती तथा बिद्यालय सखाप भए । भैसै स्थित आफ्नो घरमा समेत क्षति पुग्यो । त्यसपछि आफ्नो हेटौंडा नवलपुरको जमिनमा दुःखले दुइ कोठा खडा गरेर परिवारलाई बसाइ सार्नुभयो । बिपतको घडीमा वहाँले नामटार छोड्न मान्नु भएन । कुनै पनि बिद्यार्थीलाई गाउँ छाडेर जान पनि नदिने र आफू पनि नछाड्ने प्रण गर्दै बिद्यालय पूर्ननिर्माणमा लाग्नुभयो ।
पुरानो सम्बन्धका आधारमा वहाँले युनिसेफसँग सहयोगका लागि गुहार्नु भयो । वहाँको आग्रह स्वीकार्दै युनिसेफले केही पालहरु उपलब्ध गरायो । स्थानीय गाउँले तथा बिद्यार्थीहरु श्रमदानका लागि राजी भए । जनताको श्रमदानबाट लामा लामा तीन अस्थायी टहरा निर्माण गरि कक्षा संचालन गर्न सफल हुनुभयो । अस्थायी टहरा दिर्घकालिन नहुने भएपछि वहाँले भवन निर्माणका लागि आफ्नो पुरानो सम्बन्धकै आधारमा स्वीस रेडक्रसलाई गुहार्नुभयो । स्वीस रेडक्रस पनि वहाँको पक्षमा रहयो र भवन निर्माणमा अग्रसर भयो । त्यसैगरि थप सहयोगका लागि जाइका नामक संस्थालाई गुहार्नु भयो । हेर्दाहेदै बिद्यालयको नयाँ भवन तयार भयो । भवन उदघाटनका लागि तात्कालिन मन्त्री कमल थापा आइपुगे । वहाँले मन्त्रीज्यू लाई पनि बिज्ञान प्रयोगशाला निर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो । कमल थापा पनि आफ्नो जिल्लामा सहयोग जुटाइदिन पाउँदा गदगद भए र सरकारी बजेट उपलब्ध गराइ तयार गरिदिए बिज्ञान तथा प्रविधि प्रयोशाला । यसरी पूरै बस्ती सहित सखाप भएको बिद्यालयलाई पूर्णरुपमा स्थापित गर्न पाएको क्षण वहाँको जीवनको अर्को अविस्मरणिय मान्नु हुन्छ वहाँ । २०५३ सालमा हात परेका शिक्षा पुरस्कार वहाँको मेहनतको प्रतिफल मान्नुपर्दछ ।
नामटारको श्री कालिका मा.वि. मा प्रधानाध्यापकमा कार्यरत रहँदा रहँदै वहाँलाई युएनडिपिबाट सार्क मुलूकमा संचालित गरिवी निवारण तर्पmको नीति, कार्यक्रम र त्यसका सफलता’bout मुल्याङकन एवम् परिमार्जन गर्ने लक्षले आयोजित सम्मेलनहरुमा सहभागि हुने अवसर पाउनु भयो । यस क्रममा वहाँले सार्क मुलूकका सेभेन सिस्टर्स डिजाइन प्रोग्राम अन्तरगत श्रीलङ्का र बैङ्ककको सम्मेलनमा सहभागिता जनाउनु भयो ।
२०२७ साल देखि सधैं डेराको जीन्दगी, बिद्यार्थी, चेपाङ उत्थान र बिद्यालय पुनर्निमाणमा लाग्दा उमेर बुढ्यौली तर्फ ढल्किदै गरेको पनि वहाँलाई पत्तो भएन । वहाँ सुगर र प्रेशरबाट प्रभावित हुनुभयो, परिवार हेटौंडामा भएको कारण वहाँले आफ्नो सरुवा हेटौंडा माग्नु स्वभाविक थियो । कुनै पनि राजनैतिक धार नसमाएको कारण वहाँको हेटौंडा सरुवा हुने सपना असफल रहयो, बदलामा वहाँले भैसे सरुवा पाउनुुभयो ।
आफ्नो पुरानो जन्मथलो आइपुग्न पाउँदा वहाँ केहि हद सम्म खुसी नै हुनुहुन्थ्यो । तर साथीभाईहरुले भित्री रुपमा वहाँलाई खिसी गर्न थाले । “आफूले आफैलाई धेरै पढेको बिद्धान ठान्थ्यो, के लछार्यो त खै ? आखिर बुढेसकालमा यहि आउनु पर्दो रहेछ त !” साथीहरु यसरी सोच्दा रहेछन् भन्ने थाहापाए पछि वहाँलाई भैसे बस्ने इच्छा मरेर आयो । अवकाश पाउन दुइ वर्ष बाँकी छंदै जागीर राजीनामा दिएर आफ्नो परिवार संग रहने गरि हेटौंडा आउनु भयो ।
जागिरे जिन्दगीको नियमीततालाई चटक्कै छाडेर बस्दा वहाँलाई के गरेर, कसरी दिन कटाउने भन्ने समस्याले पिरोल्न थाल्यो । चुरोट पिउने लतको सुरुवात सँगै वहाँको साहित्यिक क्षेत्रको सक्रियता पनि बढ्दै गयो । त्यसो त २०२४ साल मै वहाँले आफ्ना फाट्टफुट्ट कबिताहरु गोरखापत्र लगायत राष्ट्रस्तरका पत्रिकामा प्रकाशित गराउन थालिसक्नु भएको थियो । सिर्जनामा भन्दा अध्ययनमा बढी रुची भएका कारण वहाँले फूर्सदको क्षण बिभिन्न पुस्तक, पत्रिका पढेर बिताउन थाल्नु भयो । मानिसले सोचेजस्तो सबैकुरा नहुने रहेछ । वहाँको पहिलो कृति मसिना कविताहरुको संग्रह “एक निमेष अनन्तको” प्रकाशन पश्चात वहाँको व्यक्तित्वले त्यो कृति बिक्रि गर्दै हिड्न दिएन, बरु भेटिएका स्रस्टाहरुलाई निःशुल्क बाड्नु भयो । बाँकी पुस्तक घरमै थन्किएका थिए, अचानक एक दिन हिमाल पत्रिकामा साहित्यकार सुलोचनाले वहाँको कविता संग्रहको समिक्षा गरिदिएकी रहिछन् । जसको कारण पुस्तक खोजी गर्दै बिक्रेता घरमै आइपुगे र सफलताका साथ सबै पुस्तक बिक्रि हुन थाले । २०५९ सालमा वहाँलाई यहि कबिता संग्रहले “नारायणी वाङमय पुरस्कार” दिलाउन सफल भयो । नाटक “अमरसिंहको खोजीमा अमरसिंह” वहाँको राष्ट्रियता र मानविताको प्रतिनिधीत्व गर्ने अर्को कृति हो, जुन मण्डेला थिएटरमा हेटौडाका कलाकारहरुले प्रदर्शन गरेर चर्चा पनि बटुलिसकेका छन् ।
शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका सेवा निवृत वहाँ घरमा थन्किएको देखेर हेटौडा नगरपालिकाका पूर्व मेयर डोरमणी पौडेलले वहाँलाई हेटौंडा एकेडेमीमा तलवी रुपमा शैक्षिक सल्लाहकार हुन आग्रह गरे । आफ्नै कार्य क्षेत्रको बिषयबस्तु अनि घरपायक पाएपछि वहाँले सहर्ष स्वीकार गरि दुइ वर्ष करारमा काम गर्नुभयो । त्यस पश्चात अर्को सामुदायिक बिद्यालय ज्ञानदिप शिक्षा निकेतनले पनि आफ्नो बिद्यालय सम्हालिदिन प्रस्ताव गरे । त्यहाँ पनि दुइ वर्षे करारमा प्रधानाध्यापकको नेतृत्व सम्हाल्नु भयो । वहाँलाई लाग्दै थियो अव शरिर बुढो भएको छ, आरामको खाँचो छ, त्यसैले पनि दुइ वर्षे कार्यकाल सकिएपछि निरन्तरताका लागि गरिएको आग्रह अस्विकार गर्नुभयो ।
ब्रिटिस काउन्सिल अन्तर्गत शिक्षकहरुले कसरी बिद्यार्थीलाई अंग्रेजी पढाउने भन्ने बिषयमा तयार पारिएको तालिम (TOT) का लागि इन्स्ट्रक्टर आवश्यक थियो । बिद्यालय निरिक्षकले वहाँको योग्यताको प्रशंसा गर्दै सिफारिस गरिदिएका कारण फेरी वहाँको ब्यस्तता शुरु भयो । काउन्सिलकै योजना अनुसार कहिले सिन्धुपाल्चोक, कहिले लमजुङ त कहिले मोरङ, कहिले सुनसरी जिल्लाहरुमा अंग्रजी भाषा शिक्षण कार्यमा प्रशिक्षकको रुपमा आंशिक व्यस्तता केहि वर्ष रहयो ।
अन्ततः २०६९ सालबाट पूर्णरुपमा अवकाश जीवनमा रहनुभएका थापा २०६७ सालमा यति फाइनान्स साहित्य पुरस्कारबाट सम्मानित हुनु भएको छ । त्यसैगरि २०६८ मा देवकोटा स्मृति पुरस्कारबाट पनि सम्मानित हुनुभएको छ । सानै उमेर देखि बौद्ध दर्शनको सम्यक दृष्टीकोणबाट प्रभावित भएका कारण वहाँले सदैव आफ्नो कर्तव्य पथमा पाएको जिम्मेवारी इमानदारिताका साथ पूरा गर्नुभएको देखिन्छ । आफूले गरेका कामहरुको आफैले समिक्षा गर्नुपर्दछ तव मात्र सफलता हाँसिल गर्न सकिन्छ भन्ने सोच राख्नुहुने तुल्सी थापा निकै सरल स्वभावका हुनुहुन्छ । वहाँले चाहनु भएका भए कमाउने अवसर प्रसस्त आएका थिए वहाँको जिन्दगीमा । तर वहाँको नैतिकताले वहाँलाई कहिल्यै गलत बाटो हिडाएन ।
जिविको पार्जनका लागि गरिने आफ्ना दैनिकी भित्रका हरेक कार्यलाई वा भनौ आफ्ना जिम्मेवारीलाई संघर्षको उपमा दिनेहरु प्रति वहाँको बिमती छ । आफ्नो जीन्दगीलाई सरलतामा ढाल्न सके दुःख सुख सबै बराबर हो भन्ने सोच राख्नुहुने श्रद्धेय तुल्सी थापा मकवानपुरेहरुका लागि पढेर कहिल्यै नसकिने ज्ञानको भण्डार हुनुहुन्छ, चाहे बौद्धिकताको हिसाबमा होस, चाहे साहित्यिक क्षेत्रमा होस वा सामाजिक क्षेत्रमा । वहाँले मकवानपुरे माटोमा गर्नुभएको संघर्ष मकवानपुरवासीका लागि प्रेरणाको स्रोत बन्ने छ । वहाँ मकवानपुरको चम्किलो तारा हुनुहुन्छ । हामीले वहाँको जीवनबाट अझै धेरैकुरा सिक्न बाँकी छ ।
Posted on 2015-07-27