Manoj Dhungana

ऊ पागल अवश्य छ तर विश्वास राख, उसको पागलपनमा सत्यता छ !

बिर्खेको न्यानो आतिथ्यता

पालुङ साहित्य परिषदको आयोजनामा थाहा नगरपालिका, दामनको सभाहलमा भाद्र १२, २०७२ शनिबारका दिन बिहान ११ बजे हुने भनिएको सभ्य र भब्य कार्यक्रममा उपस्थितिको लागि मातृभूमि साहित्य समाज मार्फत संस्थागत निम्तो त थियो नै, परिषदका अध्यक्ष श्री लक्ष्मणप्रसाद बर्तौला “बिर्खे अन्जान” जी को व्यक्तिगत रुपमा बिशेष निमन्त्रणा पनि टेलिफोनबाटै पाइयो । कार्यक्रममा सहभागिता जनाउनका लागि दश दिन अगाडी नै संस्थागत योजना बन्यो, समाजका अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष तथा प्रमुख संरक्षक सहित म पनि सोहि दिन बिहान सबेरै सुमो चढेर जाने भयौँ । स्रष्टा सम्मान तथा पुस्तक बिमोचन समेत रहेको कार्यक्रम त्यसमाथि मातृभूमि साहित्य समाज मकवानपुरका संस्थापक अध्यक्ष श्री हयग्रीव आचार्यज्यू सोहि कार्यक्रममा रुपचन्द्र बिष्ट स्मृति साहित्य सम्मान हस्तान्तरण हुने भएका कारण पनि हामीलाई कार्यक्रमको बिषेश महत्व थियो । साथमा काठमाण्डौका उज्वल जीसी वी. पी. कोइराला स्मृति साहित्य सम्मान, स्याङ्जाका मिलन समीर मदन भण्डारी स्मृति युवा सम्मान र दाङ कि भवानी न्यौपानेलाई पालुङ साहित्य सिर्जनशिल नारी स्रष्टा सम्मान बाट सम्मानित गरिने र परिषदका अध्यक्ष “बिर्खे अन्जान” को समिक्षात्मक पुस्तक शल्यकृया बिमोचन कार्यक्रम रहेको थियो ।
कार्यक्रम हुने दिन रक्षा बन्धन परेको र हयग्रीव सरको मावली पनि बज्रबाराही तिर भएको कारण वहाँ एक पन्थ दुइ काम भनेर एक दिन अगाडी नै जानुहुने भयो । जाने प्रतिबद्दता गर्नुभएका सबै पदाधिकारीहरुले अचानक कार्यक्रमको तीन दिन अगाडी आ–आफ्नो कार्य ब्यस्तता देखाएर पन्छिनु भए पछि म एक्लो भएँ, अलमल्ल परेँ ।
हयग्रीव सरलाई मातृभूमि साहित्य समाजको संस्थापक अध्यक्षको नाताले चिन्नु भन्दा पहिले वहाँ मेरो वाल्यकालका गुरु हुनुहुन्थ्यो । तत्कालिन श्री बालज्योती नि.मा.बि.मा ६–७ कक्षामा वहाँले नेपाली पढाउनु भएको, सार्दुल विकृडित छन्दका कयौं कविताहरु सुनाउनु भएको नाता बलियो थियो, मेरा आदरणिय ब्यक्तित्व हुनुहुन्थ्यो । यस अर्थमा पनि अरु साथीहरुले धोका दिए पनि म वहाँको खुसीमा सामेल हुन जरुरी सम्झन्थे । कार्यालय पनि छुटाउनु भएन, शनिवार भएको कारण बिहान गएर बेलुकी फर्किने मेरो योजना । पालुङको नियमित गाडी हेटौडा बाट बिहान ८ बजे छुट्ने खवर पाएँ, कार्यक्रम शुरु हुने समय ११ बजे, तीन घण्टामा पुगिने संभावना पनि थिएन । तथापी म जसरी पनि जाने नै भएँ तर को सँग र कसरि भन्ने यकिन थिएन । अचानक राजन भाइको याद आयो । उनी पक्कै मेरो सहयात्री हुन सक्छन् भनेर । आखिर उनी पनि हाम्रो संस्थाका आजीवन सदस्य हुन् र रचना वाचनका लागि इच्छुक पनि ।
हाँडीखोला–६, मकवानपुरका एक फुर्तिला र मेहनती युवा राजन ढकाल, नोकरी कै शिलशिलामा युनिलिभर भित्र ठेकेदार मार्फत करारमा काम गर्थे, उनकै भाग्यले उनी ठेकेदारि नोकरीबाट युनिलिभरको स्थायी जागीरे भए । झण्डै तीन वर्ष जति मेरै मातहतमा पनि काम गरे उनले । कामका दौरान हाम्रो आत्मियता बढ्यो, एक आपसका धेरै कुराहरु साटासाट भयो । मैले उन्नाइस वर्ष मै उपन्यास लेखिसकेको थाहा पाए पछि हामी बिच साहित्यिक कुराकानी पनि चल्दै गयो । उनी पनि साहित्यमा रुची भएका मान्छे रहेछन् । उनले लेखेका कविताहरु डायरीका पन्नाहरुमा त्यसै सडाएर राखेको थाहा पाएँ । मैले उनका रचनाहरु पढ्ने जिज्ञासा राखेँ, उनले भोलीपल्टै आफ्ना रचनाहरु मेरो हातमा राखिदिए । निकै चाख लाग्दा समसामयिक तथा श्रृंगारीक रचनाहरु रहेछन् । मैले उनलाई मातृभूमि साहित्य समाजमा आवद्ध हुन आग्रह गरें । उनले मेरो प्रस्ताव सहर्ष स्वीकारगरी सदस्यता ग्रहण गरे । समाजका साहित्यिक कार्यक्रममा निमन्त्रणा दिदैं गएँ, उनी हरेक कार्यक्रममा आउने बाचा गर्थे र सधै भुसुक्कै बिर्सेको बाहना बनाउँथे । साहित्यिक  चर्चा कै क्रममा एकदिन उनलाई आफ्ना रचनाहरु डायरीमा थन्क्याउनु भन्दा साहित्यिक कार्यक्रमहरुमा गइ वाचन गर्ने तथा बिभिन्न पत्रिकाहरुमा प्रकाशित गर्न सुझाब दिएँ । तर उनले वाचनका लागि भन्दा पनि कलेज पढ्दा धेरै प्रयास गरेका रहेछन् प्रकाशनका लागि । कलेजबाट फर्किदा आफ्ना कयौ कविताहरु हेटौडा सन्देशको कार्यालय छोडेर आउने गरेको तर कहिल्यै नछापिएको तितो अनुभव रहेछ उनी सँग । उनको यो अनुभवले मेरो पनि मन चसक्क छोयो । मैले पनि राष्ट्रिय स्तरका भनौदा पत्रिकाहरुसँग यस्तै ब्यवहार खेपेको छु । आखिर चिनाजानी र सोर्स कै भरमा त चलेको रहेछ राजधानी केन्द्रित पत्रिकाको प्रकाशन तस्करी । एउटा हातमा रचना, अर्को हातमा नगद साट्नेहरुले जे लेखे पनि वाह् वाह का साथ छापिन्छन् । अनि हाम्रा निःशुल्क रचनाहरु सँधै डस्ट बिनमा । मैले उनको प्रतिभा नमरोस् भनेर हरेक हप्ता एउटा कविता छपाइदिने जिम्मा लिएँ र उनलाई लेख्नका लागि निरन्तरता दिन आग्रह गरेँ । उनी मेरो कुराले हौसिँदै अर्को नयाँ कविता लेख्न तम्सिए । मैले पनि बाचा पुरा गर्न साझाकुरा राष्ट्रिय दैनिकका मित्र सविनजी सँग कुरा गरेँ, साहित्यिक अंक शनिवार हुने भएकोले शुक्रवार रचना पठाइसके पछि फोन गर्न भने । मैले राजन भाइ लाई मेल खोल्न लगाएर आफ्नै अगाडी बाट पहिलो कविता सो पत्रिकामा पठाउन लगाएँ र सबिनजीलाई उनको नामबाट मेलमा कविता पठाइदिएको जानकारी गरिदिएँ । यता राजन भाइलाई हरेक शुक्रवार यसैगरि आफ्नो रचना पठाउन भने । त्यसदिन देखि हरेक शनिवार नबिराइकन राजन भाइको कविता पढ्न पाउँदा मलाइ आत्म सन्तुष्टि मिलेको छ । उनले भनेका थिए, “अव त म रचना वाचन पनि गर्छु सर, कुनै कार्यक्रम भयो भने जानकारी दिनु है सर ?”
तीन दिन बाँकी थियो, एक पटक सोधौ न त भनेर सोधेँ, “के छ राजन भाइको बिचार, जाने हो त पालुङ रचना वाचन गर्न ?” भनेर । उनका दाजु हरिद्धार बसेर पण्डित भएका नाताले उनी पनि अलिअलि पण्डित्याइ गर्थे मावली र छरछिमेकमा । सो दिन जनै पूर्णिमा परेको थियो, उनले एक दिनको समय लिए र भोलि पल्ट पण्डित्याइ छाडेर म सँग पालुङ जान तयार भएको निर्णय सुनाए । साथी पाइयो, अव समस्या थियो यातायातको । अन्तिम बिकल्पको रुपमा मेरी रामप्यारी (स्कुटर) देखेँ, जसले गन्तब्य सम्म पुर्याउन सक्ने अपेक्षा गर्न सक्थें म ।
११ गते बिहानै सुद्ध भएर भूवनेश्वर मन्दिर गइयो, पण्डितजीले अनुहारै नहेरी हातमा राखेको दक्षिणा लिएर डोरो बाँधिदिए, उनका सहायकले टिका लगाएर एउटा जनै दिए । मन्दिर मै जनै फेरियो र राजन भाइलाई तयारहुन मोबाइलमा सूचना दिदै हेटौंडाबाट लागियो सान्नान्टार तर्फ । म पुग्दा उनी पनि हाँडीखोलाबाट सान्नानटार झरिसकेका थिए । स्कुटरको अवस्था जाँच, इन्धन भर्ने काम तथा हेटौंडा–सान्नानटार–हेटौंडा थप यात्राका कारण हाम्रो हेटौंडा–पालुङको यात्रा बिहान ८ बजे शुरु भयो ।
ढिलो गए अवश्य पुगिन्छ, छिटो गए भन्न सकिन्न भन्ने सिद्धान्त अङ्गाल्दै म डाइभर बने उनी यात्री । सामरी, त्रिखण्डी हुदै भैसे पुगेपछि हामी पालुङको बाटो मोडियौं । त्रिभूवन राजाको पालामा चाइनाको सहयोगमा बनेको यो राजमार्ग हेटौडा बाट छोटो समयमा काठमाण्डौ जान प्रयोग गरिन्थ्यो पछि कुलेखानीको बाटो सूमो चल्न थालेपछि यो बाटो प्राय सुनसान हुने गर्दछ । फाट्ट फुट्ट मालबाहक सवारी साधनहरुले प्रयोग गर्ने यो सडक भरि गफ्फिदै जाँदा हामीलाई सुन्यताले चिथोर्न सकेन । एकसरो कपडाको भरमा निस्किएका हामी दुइ भाइ हल्का चिसो हावाको स्पर्सले जाडो महसुश गर्दै थियौं । लभर्स चियर्स पुग्दा नपुग्दै वातावरण धमिलिन थाल्यो । कुहिरो लागे जस्तो, शित परे जस्तो हिउँ फुस्फुसाएजस्तो हुदै गयो । हामी दुइ थियौं तर वर्षादी एउटा मात्रै थियो । वर्षादिमा भागबण्डा नमिल्ने भएपछि हामीले मौसम केहि बेरमै सामान्य हुने अनुमान लगाउँदै अघि बढ्यौं । दामन पनि पुग्न नभ्याउँदै बादल सँग आन्दोलन गर्दै खस्न थाले पानीका बडेमानका छिट्टाहरु ।
हामी भिज्यौ भन्ने वाहना बनाएर दामनको एउटा होटलमा छिर्यौ, घडी हेर्दा ११ बजिसकेको थियो । हामी दुइभाइ लगभग काँपीहेका थियौं । होटलकी साउनी संग तातो चियाको आग्रह गर्यौ । सेल रोटी र आलुको मन तातो तरकारी भेट्टाएर आँत शान्त पार्यौं । चिया खाउन्जेलमा पानी रोकिने आशा पनि मर्यो बरु झन दर्किदै गयो । साउनी संग नयाँ, पुरानो जस्तो प्लास्टिक भए पनि ओढ्न हुन्थ्यो बरु किनौला हामी भनेर खोज्न आग्रह गर्यौं तर पाइएन ।
बिर्खेजीलाई मोबाइलमा घण्टी बजायौं । त्यहाँबाट कार्यक्रम स्थल पुग्न अजै २०–२५ मिनट लाग्ने रहेछ । कार्यक्रम शुरुहुने तरखरमा रहेको भन्ने खवर पाएपछि हामी झन हत्तारीयौं ।
अन्ततः हामीले भएको एउटा बर्सादीमा भागबण्डा गर्यौँ । माथीको भाग मैले पाएँ, तलको राजन भाइले । आधी भिज्दै, आधी जोगिँदै शिखरकोटको थाहा नगर पालिका सभाहल सम्म पुग्दा दुबैजना भिजेर निथ्रुक्कै त भएका थियौं नै, झण्डै झण्डै बिर्खेजीले चिन्न अस्वीकार गर्नुपर्ने स्थिति आएको थियो ।
झ्वाट्टै भनिहाल्नु भयो पनि, “तपाइहरुले फेर्ने कपडा ल्याउनु भाको छैन ?”
जवाफमा हामी स्तब्ध । हामी मात्र हैन, हाम्रा गोजीका कागजात, रुमाल, मोबाइल, पैसा लगायत भित्री कपडाहरु समेत निथ्रुक्क थिए । बाटोमा यसरी भदौरे झरीले पिट्ला भन्ने एकरत्ति पनि अनुमान थिएन हामीलाई । साँझ नपर्दै आफ्नै गुँडमा आइपुग्नेगरि यात्रा तय गरेका थियौँ हामीले । राजन भाइ र बिर्खे जी को पहिलो भेट भएको कारण वहाँहरुको औपचारिक परिचय पनि गराएँ त्यहि भिजेकै अवस्थामा ।
भोजनका लागि बिर्खेजी ले आफुले ब्यवस्थापन गर्नुभएको भान्साघर लैजानु भयो । खाना खाइ सकेर तल सभाहलमा आउनु होला, म त्यहि ब्यवस्थापन गर्दै हुनेछु भनेर वहा बाटो लाग्नु भयो । हामी सकि नसकि लगाएको लुगा नखोली निचरेर सुकाउने दुस्प्रयास गर्दै तातो खाना तिर लाग्यौ । खानाले शरिरको तापक्रम बढेको महशुस भए पनि शरिर काप्ने क्रमले निरन्तता पाइरहेको थियो ।
निक्ष्पक्ष सक्रियताको अभ्यास “थाहा” का प्रणेता रुपचन्द्र बिष्टको जन्मथलो दामन, समग्रमा रुदाने अर्थात रुपचन्द्र बिष्ट, दामन नेपाल को परिचय बाड्दै हिड्ने उनलाई पहिलो पटक देख्दा सबैले पागल सम्झन्थे । हेर्दै अग्ला, बुद्धिजीवी तथा दार्शनिकका रुपमा चिनिएका बिद्रोहि स्वभावका रुपचन्द्र बिष्ट शुरुमा पालुङ विकास समितिका प्रधानपंच, त्यसपछि जनकल्याण माध्यमिक बिद्यालयका प्रधानाध्यापक र दुइ पटक राष्ट्रिय पंचायतका सदस्य पनि भइ सकेका थिए उनी । पंचायत कालमा आफूलाई जनमुखी सहकर्मीका रुपमा परिचय गराउँदै सबैले सबै कुरा थाहा पाउनु पर्छ भन्दै बिद्रोह गर्दै हिड्ने व्यक्ति, आजको भाषामा उनको सिद्धान्तलाई ब्याख्या गर्दा सूचनाको हक सबैले पाउनुपर्छ भनेजस्तै हो मेरो बुझाइमा ।
हाल उनैको स्मरणमा स्थापित थाहा नगर पालिकाको सभा हल, बाहिर उनकै पूर्ण कदको शालिक स्थापना गरिएको रहेछ । हलका सबै भित्ताहरुमा उनैका महान बाणीहरु लेखिएर सजाइएका थिए । त्यस मध्येको एउटा सानो उनको बिद्रोहको आवाज यस्तो थियो :– एक प्रश्न चार माना माटो सँग तेरो नातागोता पर्यो भनेर, माटोको भाँडोले तँ संग दोस्ती सोस्ती गर्यो भनेर, बसिस कैद गमलामा, सिंगै पृथ्वीलाई छोडेर ?
परिषद सचिब सानुबाबु मोक्तानको उदघोषणमा थाहा नगर पालिका भवनको प्रेक्षालयमा लक्ष्मणप्रसाद बर्तौलाज्यू को अध्यक्षतामा कार्यक्रम शुरु भयो । पल्लव साहित्य प्रतिष्ठान, चितवनका अध्यक्ष ऋषिप्रसाद लामिछाने गोर्खे साइलो ज्यू प्रमुख अतिथिका रुपमा आसन ग्रहण गर्नुभयो । थाहा नगर पालिका प्रमुख, प्रहरी प्रशासन प्रमुख, क्याम्पस प्रमुख, राजनैतिक दलका प्रतिनिधीज्यूहरु, समर्पण साहित्य समाज चितवन कि अध्यक्ष बिष्णु तिवारी उषा, पल्लव साहित्य प्रतिष्ठान, चितवनकी कोषाध्यक्ष मिना कुमारी लामिछाने, संकल्प निर्मोहि, सम्मानित हुनुहुने ब्यक्तित्वहरु मकवानपुरका हयग्रीव आचार्य, काठमाण्डौका उज्वल जीसी, स्याङ्जाका मिलन समीर र गुल्मीका भवानी न्यौपाने संगै मात्रिभूमि साहित्य समाजको सचिवको हैसियतले म पनि स–सम्मान आसन ग्रहणमा परेँ । त्यतिबेला सम्म मेरा भिजेका कपडाहरु केहि ओभाएको देखिए पनि चिसो मौसमका कारण भित्र भित्रै म काँप्दै थिएँ । संगै आसनमा रहेका साहित्यिक मित्र मीलन समीरले थाहा पाउलान् भनेर म झन बढि काँप्दै थिएँ । उनी लगायत उज्जल जीसी र भावना न्यौपाने सामाजिक संजालमा साथी भए पनि पहिलो पटक साक्षातकार हुदै थियो मेरो ।
प्रमुख अतिथी ज्यूले दिप प्रज्वलन गरि उदघाटन गरिएको सभ्य र भब्य कार्यक्रममा सयौं स्थानिय साहित्यानुरागीहरुको सहभागिता थियो । स्थानिय भाइबहिनीहरुको थाहा कला केन्द्रको नृत्य, गीत संगीतले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । उपस्थित साहित्यानुरागि तथा स्रष्टाहरुले पनि रचना वाचन गर्ने मौका पाइरहेका थिए । मैले पनि काप्दै काँप्दै संस्थागत तर्पmबाट कार्यक्रम सफलताको शुभकामना र एउटा स्रिंगारिक गजल पस्किने अवसर पाएँ । राजन भाइले पनि आफ्नो रचना सुनाउने अवसरको राम्रै सदुपयोग गरेको देखियो भन्दै थिए, आजको साझाकुरा राष्ट्रिय दैनिकमा प्रकाशित मेरो कविता भनेर । उनले समय सान्दर्भिक कविता सुनाइ रहँदा मैले आफ्नो बाचा पुरा गरेको महशुस गर्दै थिएँ र अरु भन्दा बढि म हर्षित थिएँ ।
बिच बिचमा सम्मान कार्यक्रम अनि बिर्खे अन्जानले बिभिन्न साहित्यिक ब्यक्तित्व र कृतिहरु पढेर गर्नु भएका समिक्षात्मक चिरफारलाई शल्यक्रिया नाम दिएर कृतिका रुपमा पस्किएको थियो पालुङ साहित्य परिषदले अनि बिमोचन गरिएको थियो प्रमुख अतिथिज्यू को हातबाट ।
फर्किनु पूर्व बिखे अन्जान जी को नयाँ कृति तथा उज्वल जी.सी. का केहि उपहार स्वरुप प्राप्त कृतिहरु बोकियो । करिव साढे तीन बजे तिर हाम्रो फिर्ती यात्रा शुरु भयो पालुङबाट । बाटो भरि एक पटक भिजेर सुकेको कपडा मै ओरालो लाग्यौं । साँझ पर्दै जाँदा असहजता बढ्दै गयो । घरी राजनभाइको मोबाइल बज्थ्यो घरी मेरो, हामी हरेक पटक मोबाइल उठाएर आप्mनो बस्तु स्थिती बताइ रहयौँ । माया गर्ने मान्छेलाई साँझ सम्म आफ्नो मान्छे घर नआइपुगेपछि सारै चिन्ता लाग्दो रहेछ भन्ने कुरा राम्रै सँग थाहा पायौँ । यता हामी भने अनकन्टार जंगलहरु स्कुटरबाट छिचोलिरहेका थियौँ । जंगलहरुको बिच बिच बाट फुत्त फुत्त गाउलेहरु निस्किएर सडकमा आइपुग्दा कसैले बाटो छेक्न खोजेको भान परिरहन्थ्यो भने दुबैको मनमा डर जाग्दथ्यो तथापी दुबै निडर भएको अभिनय गरिरहयौं । अन्ततः राजनभाइ लाई सनान्टार छोडेर घर आइपुग्दा साँझको आठ बजिसकेको थियो । वास्तवमा यात्राका दौरान जे जस्ता परिस्थिति आइलागे पनि यो बिशुद्ध साहित्यिक र उपलब्धी मुलक यात्रा थियो । धन्यवाद प्रिय मित्र बिर्खे अन्जानज्यू लाई जसले यो अमूल्य अवसर उपलब्ध गराउनु भएको थियो ।

शुक्रवार, भाद २५, २०७२

Posted on 2015-09-11