साहित्यिक यात्रामा म र काठमाण्डौँ सम्म आइपुग्दा
साहित्यिक यात्राको कुरा गर्दा २०४६ सालको जनआन्दोलन र राजा वीरेन्द्रले जनतालाई बुझाएको प्रजातन्त्र मेरो मानसपटलमा सधैं घुमिरहन्छ । नेपालको अन्तरिम संविधान २०४७ बाट देश गुज्रँदै गर्दा देशको प्रजातन्त्र र देश हाँक्ने नेताहरूप्रतिको मेरो असन्तुष्टिको पेरिफेरिमा अल्झिएको मेरो मनबाट प्रस्फुटित भावनाहरू नै मेरो पहिलो साहित्यिक रचना बनेको थियो कविता बिधामाः ‘प्रजातन्त्र’ ।
जुन कविता तत्कालीन भूटनदेवी माध्यमिक विद्यालय प्राङ्गणमा भएको साहित्यिक कार्यक्रममा वाचन गरी मैले आफ्नो आत्मविश्वास बढाउने अवसर पाएँ । तालीको गडगडाहटले मेरा मनभित्र साहित्यिक ज्वारभाटा चल्न थाले, सानासाना कथाहरू तथा गीति नाटकमा पनि कलम चलाउँदै गएँ, आफ्ना रचनाहरू रेडियो नेपालको कार्यक्रममा बजाउने धोको राखेर हुलाकबाट धेरै गीति, नाटकहरू पठाइयो । चलचित्रको कथा वस्तुमा पनि मेरो मन तानियो, म मा त्यो भन्दा राम्रा कथाहरू फुरेको भान पर्दथ्यो, साथीहरूलाई सुनाउँदा वाह–वाह पनि सुन्न पाइन्थ्यो । बाटोमा देखिने पागलहरू देखेर मन पग्लन्थ्यो, तिनको मनभित्र पसेर सबै सत्यताहरू जान्ने ईच्छा हुन्थ्यो, तिनले बरबराएका वाक्यांशहरूको व्याख्या गर्न मन लाग्थ्यो अनि लाग्थ्यो मलाई, ‘ऊ पागल अवश्य छ तर विश्वास राख उसको पागलपनमा सत्यता छ ।’ कोर्न मन लाग्थ्यो मलाई सत्य घटनाका कथाहरू । भर्खर सोह्रसत्र वर्षको मेरो चञ्चल, वैंसालु मन, अनि त्यस भित्र उठ्ने कयौँ छाल, जिज्ञासा, अनुभव, थामी नसक्नुका रहरहरू, अनि समाजमा देखेसुनेका घट्नाक्रम, मलाई लेख्नका लागि पर्याप्त थिए विषय वस्तुहरू । लेखिएका पाण्डुलिपि केलाउँदै जाँदा ३-४ वटा पुस्तक तयार हुने देखियो, कथाहरूको विनियोजन गर्दै जाँदा एउटा सिङ्गै चलचित्र हेरेजस्तो । आत्मीय मित्रहरूलाई राखेर सुनाएँ, सबै मित्रहरूले यसलाई चलचित्र बनाउनुपर्छ, बरू हाम्रो नाम पनि कलाकारमा राख्न भनेर जुरूक्कै उचालिदिए । अन्ततः आफ्नै प्रेमिकाको नाम पनि लिलाम गरे त्यो कथा पात्रमा ।
करिब २-४ महिना म चलचित्र निर्माताहरूको खोजीमा पनि भौँतारिएँ, साँच्चै यसले चलचित्रको रूप पाउँछ कि भनेर । तर सोचे जस्तो सजिलो कहाँ थियो र त्यो समय ? मेरो पहुच त्यति माथिसम्म पुग्न पनि सकेन । अन्ततः रोशन पराजुलीको भाषागत सम्पादन, एउटी दिदीको सहयोगमा उपन्यासको रूप दिएर प्रकाशित गर्ने जमर्को गरेँ ‘नारी सङ्घर्ष’ र त्यसलाई सार्थकता दियो भण्डारी सरको भूटनदेवी छापाखानाले । २०५० साल, मात्र उन्नाइस वर्षको थिएँ म । मेरो पहिलो कृति ‘नारी सङ्घर्ष’ जन्माउँदा । एक हजारप्रति ती पुस्तकहरु प्रकाशक र बजार ब्यवस्थापकको भूमिका निर्वाहका लागि कहाँ मात्रै पुगिन होला । रेडियो मकवानपुर चोकका मित्र हरिओम (प्रभात थापा) ले धेरै सघाएका थिए त्यतिबेला । आज उन्नाइस वर्षकै अन्तराल पछि फेरि अर्को कृति जन्मिएको छ ‘म र काठमाण्डौ’ कथा विधामा र यहाँको स्थानीय पुस्तक पसलसम्म आइपुगेको छ ।
म नारी भएको भए हरेक डेढ, दुई वर्षमा बच्चा जन्माउन सक्थेँ होला । तर कृति प्रकाशक र बजार ब्यवस्थापकको अभावमा या त गर्भमै रहन्छ या डायरीका पन्नाहरूमा । नारी सङ्घर्षबाट कति सजिलै युवापिँढीलाई समाजको सत्य बाटो र सङ्घर्षको बाटो देखाउने अनि कुरीति विरूद्धमा लड्न सिकाउने यो १९ वर्षे ठिटो स्वयम् आफ्नो जिन्दगीको संघर्षमय र अन्योल जिन्दगी यात्रामा रूमल्लिरह्यो, सुखद भविष्य खोजिरह्यो, जसको कारण प्रकाशनतर्फ ध्यान नदिँदा यहाँहरूको माया, ममता र स्नेहबाट यति लामो समय वञ्चित हुन गएं । नारी सङ्घर्षको प्रकाशनसँगै पागलहरूप्रतिको मेरो आत्मस्नेहको कारण आफूलाई त्यो उपन्यासमा पागल विश्वासबाट परिचित गराएँ ।
मेरो कृति प्रकाशनपछि एक मित्रले साहित्य संगम मकवानपुरको भेलामा लिएर गए, मकवानपुर क्याम्पस परिसरमा । नयाँ सदस्यता बाँडिएको रहेछ, म पनि सदस्य भएछु भन्ने कुरा सदस्यता नम्बर र नाम लेखिएको सानो चिटबाट जानकारी पाएँ । तर दोहोर्याएर न कसैले खबर गरे, न त म त्यसको मुहानसम्म पुग्न सकेँ । कान्तिराजपथका तात्कालीन नमस्कार साप्ताहिकका सम्पादक विनोद कुबरज्यूले मेरो कृति पढेपछि आफ्नो पत्रिकाको तृतीय पेजमा सानो स्थान दिनुभयो अनि मैले नियमित विश्लेषणात्मक स्तम्भ लेख्न थालेँ । कुनै एउटा विषय वस्तुमा ‘पागलपनको विश्लेषण’ शीर्षक दिएर । तर केही अङ्कको प्रकाशनपछि राजनैतिक आस्थाको कुरा आयो, म स्वतन्त्र कलम चलाउने मान्छे भएकै कारण मेरो त्यो स्तम्भ बन्द भयो । केही कविता, कथा तथा लेखहरू फाट्टफुट्ट लेख्ने र पत्रिकाहरूमा छापिने क्रम चाहिँ चलिरहन्थ्यो र केही छापिन्थे पनि । फरक यति हो कि, कुनै बाध्यात्मक परिस्थितिका लेख रचनाहरूमा आफ्नो वर्तमान नामको सट्टा बाल्यकालको नाम ‘मनु’ लाई अघि सार्दथें र प्रकाशित हुन्थे, मनु शर्माको नामबाट । कहिले काहिँ एम्डी दिग्रेट भनेर पनि छापिन्थे । राम कुमार एलनजी ले हेटौडा टुडेमा सम्पादन गर्दा उहाँले मेरो लेख छाप्नुपूर्व धेरै पटक परिचय पनि खोज्नुभयो । तर मैले व्यक्तिगत परिचय भन्दा पनि जनताले जान्न पाउनुपर्ने सूचना मैले आफ्नो लेखमा समेटेको कारण एलनजी र मबीच धेरै इमेल बहसपछि उहाँले मेरो लेखहरु छाप्दै जानुभयो ।
यस्तैमा मलाई जङ्ग चल्यो यो साहित्यिक माहोललाई कार्यक्षेत्रमा पनि लागू गर्न, केही साथीहरू जम्मा गराएर चर्चा सुरू गरें औद्योगिक साहित्यिक पत्रिकाको । व्यवस्थापनको अनुमति नपाएर दश वर्ष यो कदम रोकियो र पछि उहाँहरूकै अग्रसरतामा त्रैमासिक पत्रिका जन्मियो ‘स्पन्दन’ । सारा जिम्मेवारी हामी दुई तीन जनाको काँधमा आइपुग्यो । हामी हर्षित भयौँ, हाम्रो इच्छा दसौँ वर्षमै भए पनि पूरा भएकोमा । तर विडम्बना, अढाई वर्षको अन्तरालमा ६ अङ्क निस्किएर यो पत्रिका आन्तरिक विवादका कारण इतिहासमा परिणत भयो ।
सोहि पत्रिकामा सहकार्य गर्ने तथा एउटै कार्यक्षेत्रका मित्र माधव पोख्रेलजी मातृभूमि साहित्य समाजमा प्रवेश गरेको खबरले मलाई पनि उत्सुकता जगायो । अन्ततः ३ वर्ष अघि उहाँमार्फत् मातृभूमि साहित्य समाजको सदस्यता लिएँ । बुझ्दै जाँदा मेरो बाल्यकालमा आफ्ना मधुरवाणीमा कविता, कथा वाचन गर्ने अनि अत्यन्तै मीठो शैलीमा नेपाली पढाउने आफ्नै गुरू हयग्रीव आचार्य यसको संस्थापक अध्यक्ष हुनुहुँदो रहेछ । म पनि मातृभूमि साहित्य समाजको छैटौ कार्यसमितिको सदस्यमा छनोट भएँ र हाल सातौँ कार्यकालमा कोषाध्यक्षको रूपमा उभिएको छु ।
आफ्नो साहित्यिक संस्थाबाट सधैं झन्डै १३-१४ वटा अरूको कृतिहरू प्रकाशित भइसकेको र हामी स्वयम् साहित्यिक फाँटमा रहेर पनि भागे जस्तो अलि अस्वभाविक लाग्न थाल्यो मलाई । रेडियो मकवानपुरमा बिभिन्न कार्यक्रम सञ्चालन गर्ने तथा मातृभूमि साहित्य समाजकै कार्यसमिति सदस्य विनिता महतज्यूसँग परिचित हुने क्रममा उहाँले मेरो पूर्व प्रकाशित उपन्यासलाई रेडियोसम्म पुर्याउनुभयो र २०६८ फाल्गुनको अन्तिम साता रेडियो मकवानपुरका मित्र सुनिल गौतमज्यूसँग मेरो परिचय भयो । उहाँको हरेक सोमबार प्रसारित हुने साप्ताहिक कार्यक्रम ‘उपन्यासका पन्नाहरू’ मार्फत् चैत्रको पहिलो हप्तादेखि मेरो उपन्यास नारी सङ्घर्ष प्रसारित हुने कुराले म गौरवान्वित भएँ। मैले सुनिलजीसँगको भलाकुसारीमै उद्घोष गरेँ, २०६९ मा मैले दोस्रो कृति जन्माउनेछु भनेर ।
थाहा थिएन यो वर्षमा मैले कस्तो कृति कसरी निकाल्छु भनेर । अर्को पाटो थियो हेटौंडा बजार लायन्स क्लब, जसलाई म लगायत मेरा चौबीस अभिन्न मित्रहरु मिलेर स्थापना गरिएको थियो, सामाजिक सेवा गर्ने उद्देश्यका साथ । सामाजिक सेवाको पहिलो पाटो थियो ढेवा । हामीले अर्थ विनियोजनका बिभिन्न कार्यहरु अन्तर्गत युवा गजलकारको सम्मान पनि हुने र क्लबमा अर्थ संकलन पनि हुने सोचका साथ गजलकार बिमला कार्कीको सशुल्क गजल कार्यक्रम आयोजना गर्यौ। मातृभूमि साहित्य समाजमा कोषाध्यक्ष रहेर अमला अधिकारीको गजल कार्यक्रम गराएको अनुभव मलाई धेरै काम लाग्यो, यतिबेला । त्यस्तै गरी क्लब स्मारिकामा केही बिज्ञापन प्रकाशन गरेर पनि अर्थ संकलन गरियो । प्राप्त धनराशिबाट क्लबले दशैंको मुखमा चुरियामाई २ नयाँबस्तीका सत्ताइस घरधुरी चेपाङहरुलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गर्यौ । हेटौँडा बजारमा वृहत रक्तदान कार्यक्रम गरि ६२ प्रिन्ट रगत संकलन गरियो । बिश्व साइकलयात्री पुस्कर शाहको अगुवाइमा ‘काठमाण्डौ–सौराहा’ साइकल यात्राका ५८ साइकल यात्रीहरुलाई हेटौंडामा स्वागत, सम्मान तथा एक छाक खाना खुवाएर अतिथि सत्कार गरियो । गोल्फिनटार, हेटौँडा ११ का बिपन्न बिद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु तथा बिद्यालयलाई खेलकुद सामग्री वितरण गरियो । यी सबै कार्यका लागि यहाँहरुको सहयोग नभएको भए हामी सफल हुने थिएनौं र भविश्यमा पनि थप सामाजिक सेवाका कार्यहरु गर्न हाम्रो क्लबलाई सहयोगी हातहरुको आवश्यक्ता छ र सदैव रहनेछ ।
आखिर मानिस नै त हो, कति मेहनतले कमाइन्छ पैसा, कसैले राम्रोसँग नबुझाइकनै दानमा माग्छ भने हरेकको कन्सिरा तात्नु स्वभाविक पनि हो । रबिन्द्र मिश्र जस्ता प्रतिष्ठित व्यक्तिले त हेल्प नेपाल नेटवर्क मार्फत् पवित्र कार्यका लागि अक्षयकोष खडा गर्न कयौं दुःख कस्ट झेल्नुपरेको छ भने हाम्रो त यो सुरुवात हो, तथापि सहयोगका हातहरु भने यहाँहरुकै हुने कुरामा दुइमत छैन । तसर्थ एकातर्फ साहित्यिक पाटो त्यसमा पनि युवा वर्गलाई लक्षित गरि केही कोसेली दिनसके खाली हात मागे जस्तो पनि नहुने र क्लबले विपन्न समुदायमा खर्चिनका लागि एउटा दरिलो कोष तयार हुने सोचको परिकल्पना गर्दै खोतल्न थालेँ वर्षौ देखि थन्किएका आफ्ना पुराना पाण्डुलिपिहरू । अर्का तर्फ हेटौंडा जेसीजको आतिथ्यतामा हुन लागेको नेपाल जेसीजको ३९ औं राष्ट्रिय महाधिवेशन, जहाँ देशभरिका युवाहरुको जमघटको केन्द्रविन्दु । म स्वयम् पनि जेसीज सदस्य रहेको र महाधिवेशनमा कामको जिम्मेवारी समेत पाएको कारण पनि अवसरको रुपमा सदुपयोग गर्ने सोचका साथ हेटौंडा जेसीजका केही पूर्व अध्यक्षहरुसँग सल्लाह गरें, सो कार्यक्रममा पुस्तक विमोचनका लागि । सबैले आआफ्ना टाउको जोगाएर वर्तमान अध्यक्ष र नेपाल जेसीजलाई देखाए । उहाँहरुसँग कुरा गर्दा कुनै आपत्ति रहेन बरु उहाँहरुको शुभकामना सहित कृति प्रकाशन गरियो ।
नेपालका बिभिन्न शाखाका जेसीजहरुले आआफ्ना क्षेत्रका युवाहरुलाई अगाडि ल्याएर माननीय सुशील कोइरालाज्यूको हातबाट सम्मान गराइरहँदा म आफै सदस्य रहेको हेटौँडा जेसीजका मुट्टीभर पुर्व अध्यक्षहरु भने चलखेलमा व्यस्त रहे । हेटौंडा जेसीजको प्रतिभाको कदर गरेर एक मिनेटको समय मिलाएर विमोचन गराउँदा कतै ‘म र काठमाण्डौ’ ले राष्ट्रिय स्तरको ख्याती कमाउने पो हो कि भन्ने डर रह्यो सायद उहाँहरुलाई । माननीय सुशील कोइरालाज्यूको भाषण चलिरहँदाको अन्तिम घडीसम्म पनि मैले गुहारिरहेँ, उहाँहरुलाई । उल्टै कार्यक्रम सञ्चालक मित्र माथि धम्कयाइयो । यो परिस्थितिले अन्य जेसीज शाखा र हेटौँडा जेसीजबीचको अन्तर अनि जेसीजमा युवाहरुले पाउने अवसरका लागि कतिसम्म गिर्नुपर्ने रहेछ भन्ने कुरामा म प्रष्ट भएँ । मैले चाहेको भए म पनि आआफ्नो जिम्मेवारी छाडेर भाग्न सक्थें होला त्यो महाअधिवेशनबाट, तर कुकुरले मानिस लाई टोक्यो भन्दैमा मानिसले पनि कुकुरलाई टोक्यो भने त्यो कुकुर र मानिसमा के भिन्नता रहयो र ! तसर्थ जिम्मेवारी छाडेर भाग्न मेरो नैतिकताले दिएन ।
खैर, आम साहित्यानुरागीहरुले यो पुस्तकमा खर्चेको लगानी व्याजसहित असुली हुनुपर्छ र सबैले यो कृति सबैको मनमा बसाउनु पर्ने कुरा मनन गर्दै आजका युवाहरुको जल्दोबल्दो समस्या र तिनका समाधानका लागि भए गरेका दैनिक दिनचर्यालाई यो कृतिमा उनेर यहाँहरूमाझ पस्किएको छु ।
विश्वका सर्वश्रेष्ठ नारी जाति, जसले यो सृष्टि चलाएका छन्, इतिहासका विभिन्न कालखण्डलाई केलाएर हेर्दा पनि नारीको महिमा आजसम्म पूर्ण रूपमा व्याख्या गर्न सकिएको छैन । तथापि आज म नारी चरित्रको माध्यमबाट युवा मनहरूको जिन्दगीको अभिन्न पाटो सङ्घर्ष, साहस, सफलता, प्रेम र यौन जीवनको पेरिफेरिका सत्य घटनाहरू, जो मसँग नजिक मेरा मित्रहरूले विभिन्न परिवेशमा गर्नुभएको भलाकुसारी, नजिकबाट देखिएका, सुनिएका घट्नाक्रम तथा दैनिक रूपमा सञ्चार माध्यममा प्रकासित, प्रसारित समाचारहरूका अंशहरूबाट गरूँगो मेरो मनलाई बिसाउने चौतारी नै यो पुस्तकको वास्तविक रूप हो भन्दा फरक नपर्ला । तथापि कथाले मन छुदै जाँदा आफ्नै जीवनका कथाहरू यहाँहरूले पाउनुहुने कुरामा म विश्वस्त छु । शव्द चयनका कुरा गर्दा धेरै कोसिस गर्दा पनि बोलीचालीका अन्य भाषाका शव्दहरू प्रभावकारिताका लागि समावेश भएका छन् ।
बिषेशतः आफ्नो व्यस्त समयमा पनि सक्रियरूपमा लागि भाषगत सम्पादन तथा सल्लाह, सुझावदिई अमूल्य सहयोग गर्नुहुने मेरा आदरणीय गुरू तथा वरिष्ठ साहित्यकार हयग्रीव आचार्यज्यू, त्यसैगरी आफ्ना अमूल्य समय खर्चिइ पाण्डुलिपि पढी भूमिका लेखिदिनुहुने चितवनका वरिष्ठ साहित्यकार श्रद्धेय धनराज गिरीज्यू, मेरो आग्रह स्वीकारेर पाण्डुलिपि पढी आफ्नो प्रतिक्रिया दिनुहुने वरिष्ठ साहित्यकारहरू श्रद्धेय परशु प्रधानज्यू, पवन आलोकज्यू, कृष्ण धराबासी ज्यु, पुष्प अधिकारी अञ्जलिज्यू, निमेष निखिलज्यू अनि प्रकाशकको भूमिका निर्वाह गरिदिने मेरा क्लबका मित्रहरू तथा हेटौंडा बजार लायन्स क्लब, कलात्मक शैलीमा पुस्तक सेटिङ गर्ने जनक लम्सालज्यू, समयमै उच्च गुणस्तरीय पुस्तक मुद्रण गरिदिनुहुने दाजु इन्द्र नेपालज्यू र उहाँको प्रयास छापाखाना परिवार, साहित्यिक क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्ण सर्जकहरूप्रति म हार्दिक आभारी छु ।
Posted on 2013-01-15