Manoj Dhungana

ऊ पागल अवश्य छ तर विश्वास राख, उसको पागलपनमा सत्यता छ !

बदनाम हुदैछु म तिम्रै कारणले

भनिन्छ संसारमा सबैभन्दा चोखो उमेरमा लाएको माया प्रीति हो रे, तर आज भोली मायाप्रीति विद्यालय र विश्व विद्यालयका अल्लारे नानी बाबुहरूको कब्जामा पर्न थालेपछि उतिबेलाको परिभाषा बदनाम हुदै गएको छ | यसमा प्रमुख भूमिका निभाएको छ पश्चिमी संस्कृति तथा मल्टिमिडीया मोबाइलले |

हुन त आजको परिवर्तनकारी युगमा सारा दोषहरू विद्यार्थीको काधमा थोपरेको भनेर सोझा विद्यार्थीहरू लाई नरमाइलो पनि लाग्ला तर म दोषारोपणको लागि वाध्य छु l स्कुलदेखि कलेजसम्मका कुरकुरे बैसका धनी वयस्कहरू, जो हिजो आज खुलेआम मायाप्रीति साट्ने वाहनामा आफूले आफै लाई हरेक दिन नंग्याइरहेका हुन्छन l सायद हग्नेलाईभन्दा देख्नेलाई लाज भनेको पनि यही हो ।

यहाँहरूलाई थाहा भएकै कुरा हो टोकरीमा राखेको टमाटर मध्ये कुनै एक टमाटर कुहियो भने सारा टमाटर कुहिएको टमाटरको असरबाट अलग रहन सक्दैन त्यस्तै केहि किशोर किशोरीका छाडापन कारण कयौ निर्दोष, सच्चा प्रेम जोडी बदनाम हुदैछन, वावु आमाले आफ्ना असल सन्तान माथि पनि शंकाको दृष्टिले हेर्न वाध्य हुनु परेकोछ l

यो पनि भनिन्छ कि, लगाम बिनाको घोडा, इख नभएको मान्छे अनि बिख नभएको सर्पले आफ्नो अस्तित्त्व बचाएर राख्न सक्दैन । तथापि यहानेर बयस्कहरूको एक जमातको भनाइ छ कि उमेरमा आएको जवानीको सदुपयोग उमेर मै गर्नु पर्छ न कि बुढेसकाल मा, वहाहरूको बुझाइमा बैस नभएको तन्नेरी के तन्नेरी भन्ने पनि हुन सक्छ । तर के मेरो जवानी चढ्यो भनेर एक बित्ताको फ्रक लगाएर नगर परिक्रमा गर्न जरुरि छ ?, बैसालु मैयाले लिफ्ट मागी भनेर पल्सरमा राखेर बीच सडकमा प्लेन उडाए झैँ गरि कुदाउन जरुरि छ ? सोम’bout ब्रतको बहानामा पबित्र मन्दिर परिसर लाई मिलनबिन्दु बनाउन जरुरि छ ? यस्ता सवाल मसँग मात्र हैन तपाईहरूसँग पनि कति होलान, कहिले कहिँ आफ्ना परिवारसँग घुम्न निस्किदा बाटोमा वा बजारमा लाजै मर्दो दृश्य पनि देख्नु परेको होला तपाईले, यो सारा समस्याको जड भनेकै पश्चिमी संस्कृतिको नक्कल गर्ने अभियानमा लागेका अनि मल्टिमिडिया मोबाइलको पहुच भएका आजकाले अल्लारेहरूको हो ।

एउटा तन्नेरीहरूको जमातको बुझाईमा आजकल मल्टीमिडियाको जवाना छ रे अनि हरेक कुराको प्राक्टिकल र थेवरी हुन्छ रे । तपाईलाई थाहा छ, विद्यालयमा स्वास्थ्य बिषय पढाउने शिक्षक लाई कक्षा कोठामा मानिसको जीवन चक्र तथा उत्पादन प्रक्रियाको ब्याख्या गर्न कति गार्हो हुन्छ ? शायद यो स्वास्थ्य शिक्षक कै मुखबाट सुन्नु होला, मल्टीमिडियामा कार्टुनको एनिमेसन गराएर बुझाउनु एउटा कठिन परीक्षा हो, तर एक प्रकारका साहसी विद्यार्थीको कुरा अर्कै छ, आफूसँग नजिक बिपरित लिंगी साथीसँग सो बिषयमा चर्चा शुरु गर्ने अनि प्राक्टिकलको लागि भनौ वा अनुसन्धानको लागि वन वन चाहार्ने । अनि रिजल्ट, कलिलो उमेरमा अनावस्यक गर्वधरण, बिकृति, छाडापन, त्यति मात्र होर त्यो पनि मोबाइलमा रेकर्ड गरेर साथीहरू लाई बाढ्ने, बाकी रहेका साथीहरू, अस्लिल विडियो हेर्ने जो अनि अन्जान, बिबश लाचार बालबालिकाहरूलाई सिकार बनाउने ।

मेरो बुझाईको माया प्रीति एक आपसको पबित्र बन्धन हो र मायालुहरू मायामा अल्झिएका हुन्छन न कि शारिरिक आकर्षणमा । यहाँ त आजकल पाइला पाइलामा माया बेच्न बसेका मायालु अनि तिर्खा मेटाउन माया किन्दै हिंड्ने प्यासीको भीड भेट्न थालेको छु । अनि बाटोमा दुई बचन मिठो कुरा गरेर फकाउनेको पछि लगेर बेचिन पनि पुगेका छन् कयौ चेलीहरू ।

तसर्थ बेलैमा विचार गरौ है मायालुहरू, माया बदनाम हुनबाट त बचाउनु नै छ, इज्जत अनि स्वतन्त्रताको पनि सवाल छ, कतै बाबु आमाले यहाँहरूको चर्तिकला थाहा पाएर साझ बिहान हिड्न डुल्न पाएको स्वतन्त्रता पनि खोसिने त होइन ?

Published on Sajhakura National Daily (14th Aug 2011) 29 Srawan 2068

Posted on 2011-10-15