Manoj Dhungana

ऊ पागल अवश्य छ तर विश्वास राख, उसको पागलपनमा सत्यता छ !

नयाँ राष्ट्रिय गान र नयाँ नेपाल

सयाैं थुंगा फुलका हामी, एउटै माला नेपाली,
सार्वभौम भई फैलिएका, मेची–महाकाली ।
प्रकृतिका कोटी–कोटी सम्पदाको आँचल,
वीरहरुका रगतले स्वतन्त्र र अटल ।
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल,
अखण्ड यो प्यारो हाम्रा मातृभूमि नेपाल ।
बहुल जाती, भाषा, धर्म, संस्कृति छन् बिशाल
अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल ।

नयाँ लोकतान्त्रिक नेपालको उदय संगै सिर्जीएको याे नयाँ राष्ट्रिय गानले दर्शाउने अभिव्यक्ती प्रति वर्तमान परिपेक्षमा गम्भिर भएर हेर्दा जो कोहि सच्चा नेपालीहरुको मन एक पटक चसक्क पोल्ने गर्दछ । भनिन्छ, सयौं थुंगा फूलहरुको पहिचान हामी नेपाली भनिए पनि हाल देशमा चलिरहेको आन्तरिक द्धन्द भित्र मधेसी र पहाडी बीच पानी दुस्मनी बढेकोछ । सार्वभौम भै फैलिएका नेपाली भू–भागहरु बिदेशीहरु द्धारा बर्षेनी अतिक्रमण गर्ने क्रम तिब्र रुपमा बढिरहेकोछ । वर्षेनी बहुयपयोगी जडिबुटी, ऐतिहाँसीक मूर्तिहरु तस्करीका कारण बिदेशीने रहे–बचेका बनहरु पनि गैरकानूनी रुपमा नष्ट हुंदै जानुले पनि कोटि–कोटी आँचलहरु रित्तीसकेका भान परेकोछ । वीरहरुको रगतले यो देश स्वतन्त्र र अटल हुंदो हो त लोकतन्त्र प्राप्ती पछि पनि कयौं नागरिकहरु बेपत्ता भए, अवोध बालकहरुको अपहरण पछि हत्या भए, बिभिन्न स्थानमा पत्रकारहरु अपहरण र हत्याका क्रम रोकिएको छैन, राजनैतिक दलका नेताहरु समेत मारिएकाछन्, खोइ कहां छ त स्वतन्त्र ?

ज्ञानभूमि र शान्ति भूमि भनिए पनि न त कुनै नेताहरुले देश बनाउने अभियानमा ज्ञानी भएको देखियो, न त तराईमा हिन्सात्मक द्धन्दका कारण पहाडी मूलका जनताले शान्ति संग बस्न पाए । बरु मधेसीहरु पहाडमा पनि निर्धक्कका साथ बस्ने सौभाग्य पाएकाछन् । कहिल्यै खण्डित नहुने हाम्रो प्यारो नेपाल हामी नेपाली कै आन्तरिक द्धन्दका कारण टुक्रिन खोजेकोछ । बिभिन्न जात–जाती, भाषा, धर्मका धनी हाम्रो नेपाल समानुपातीक निर्वाचन प्रणालीमा जान नसक्दा जातीबादको लडाई हुनेपो हो कि भन्ने भान परिरहेकोछ । राष्ट्र अग्रगामी हुनु भन्दा पहिले राष्ट्रलाई हांक्न सक्ने अग्रगामी सोचका कुनै महांपुरुष पनि त चाहियो नि !

कान नभए कर्ण बहादुर, आंखा नभए नेत्रलाल भने झैं देशका नासिएका, भत्किएका बस्तु स्थितीको संगालो हो आजको नयाँ राष्ट्रिय गान । जनताले जीवनको बलिदान दिएर ल्याएको लोकतन्त्रमा नेताहरुले सत्ताको घिनलाग्दो राजनिती गर्न थालेको पनि बीस महिना भईसक्यो । शहिदका सपनाहरु साकार गर्न भन्दा पनि ज्यालामा नमिलेको केजाती जस्तै भागबण्डाको लडाई र औपचारिकताका बैठकहरु मै सिमीत सरकार बाट जनताले के अपेक्षा गर्ने र कहिले सम्म ? के पुस्तौ देखि बसोबास गरिरहेका ति पहाडी मूलका नागरिकहरु नेपाली होइनन् ? मधेसमा पहाडी लखेटींदा पहाडमा मधेसी सुरक्षित रहन सक्छ र? यो हिंसामा मिसिएका वास्तबिक अपराधी सरकार नै होइन र ? यदि सरकार निर्दाेष छ भने दोषी लाई किन कार्वाही गर्न सक्दैन सरकार ? शान्ति सम्झौतामा हस्ताक्षर भएको एक बर्ष नाघिसकेको परिस्थितीमा पनि न त सरकार न त मावोबादी, दुबै पक्ष मौन छन् बेपत्ता नागरिकको सवालमा । छानबिन कमिटीले दोषी ठहर्याएकाहरु लाई कार्वाही गर्न सक्ने कुनै निकाय छैन । हरेक दिन मानब अधिकार हनन का कयौ घट्नाहरु घटिरहेकाछन्, तर जनता ले न्याय पाउने कुनै निकाय छैन ।

निस्कृय सरकार र सक्रिय अपराधका कारण जस्ले जे गरे पनि छुट छ नया नपालमा । देश बाहिरका शक्तिहरु आप्mनो सांचोमा नेपाल लाई ढाल्ने तयारी गरिरहेको परिस्थिती देखिएकोछ । सहयोगको नाममा कयौ बिदेशी राष्ट्रहरुले दिएका अनुदानहरुको लेखाजोखा गर्ने हो भने पनि सबै नेपालीहरुले आराम संग दुई छाक खान र राम्रो बास बस्न पुग्ने देखिन्छ तर पनि छापामारहरु को स्थिती दयनियछ । देश भित्रको आन्तरिक द्धन्द कम गर्न नेताहरुले सहि र गलतको जानकारी जनतालाई गराउनु त कता हो कता उल्टै नेताहरु नै मधेसी र पहाडीका पक्ष लिइ पार्टी तथा जनता फुटाउनमा व्यस्त देखिन्छ । संबिधान सभाको सफलताको लागि इमानदारीताका साथ अघि बढ्ने अग्रगामी सोचका नेतृत्वको कमि रहेकोछ नयाँ नेपालमा ।

जनताका आकांक्षा, शान्तिसुरक्षाका सवाल, आन्तरिक द्धन्दका समाभान, मानवअधिकार तथा व्यक्तिगत स्वतन्त्रता, रोजगारी एवं सहिदका सपनाहरु लाई सरक्क पन्छाएर, व्यक्तिगत तथा दलगत स्वार्थमा अल्झीएर मन्त्रालय÷सत्ताको सिटको भाग बण्डा, राजदुत नियूक्ति जस्ता क्षेत्रमा बरिष्ट नेताहरु समेत अल्मलिन थाले पछि कसरी बन्छ नयां नेपाल ? तर जे होस नेपालीको एउटा राम्रो बानी छ, त्यो हो धैर्यता गर्न सक्ने बानी, आखिर बीसौ महिना लगाएर आठ दलका नेताहरुले कस्तो नेपाल बनाउने रहेछन् त जनता लालायीत भएका छन् नया नेपालको वास्तबिक नयां बिहानी उदाएको हेर्न ।

हेटाैंडा जेसीज २००९ काे वार्षिक स्मारीकामा प्रकािशत

Posted on 2009-11-16