रक्तदानः बुझे श्रीखण्ड, नबुझे खुर्पाको बिँड
हजुर, वन जंगलमा घाँस दाउरा गर्ने शिलशिलामा त्यहाँका जडिबुटी चिन्न सक्नेहरुले सोहि अनुरुप सदुपयोग गर्न सक्दछन् र सोको पूरा मूल्य निकाल्न सक्दछन् भने नचिन्नेहरुका लागि घाँस दाउरा र जरिबुटीमा केहि फरक रहँदैन र उपयोगी तथा बहुमुल्य जरिबुटीहरु पनि अन्जानमै खुर्पाको बिडँमा प्रयोग गर्दछन् भनेर युगाैं देखि चलन चल्तिमा रहेको नेपाली उखान “बुझ्नेलार्इ श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड” बाट शब्द सापटी लिएर लेखको शिर्षक जुराएको छु ।
शिर्षकले दर्साएको भावना अनुरुप धेरै भूमिका बाँध्न म जरुरी ठान्दीन, तथापी रक्तदानका सन्दर्भमा संकलित केहि महत्वपूर्ण सूचनाहरु संप्रेषण गर्नु र जीवनदानका लागि हरेक मानिसलाई आन्दोलित बनाउनु मेरो लेखाइको उद्धेश्य हो ।
बैज्ञानिकहरुको अनुसन्धानले पाँच सय प्रकारका रक्त समूह पत्ता लागेपनि रक्त संचारका हिसाबले नेगेटिभ र पोजेटिभ दुइ समूह भित्र ए, बि, ओ र एबि समूहको रगतहरु बर्गिकरण गरिएको छ । रक्तदान प्रकृयामा यहि रक्त समूहको पहिचान गरेर मात्र एकको रगत अर्कोलार्इ प्रयोग गर्ने र जिवनदान दिने परम्परा रहेको छ । जीवित प्राणीहरुको जिवनचक्र चलाउने पहिलो अत्यावस्यक बस्तु भन्नु नै उसको शरिर भित्र दौडीरहेको रगत हो । दुनियाँमा अनेकौ अपत्यारिला र भयानक आविस्कारहरु भइरहँदा कृतिम रगतको आविस्कार गर्न बैज्ञानिकहरु आज सम्म असफल रहेका छन् । यस अर्थमा पनि मानविय जीवनमा जिवीत मानिस भित्र दौडिरहेकाे रगतको महत्व बढेको छ । मानविय जिवनमा दुर्घटनाहुंदा, बिभिन्न रोगको उपचारका क्रममा शल्यक्रियागर्दा बढि रक्तस्राव भएमा, हेमोफिलिया, एनिमिया, थेलेसिमिया, अल्सर, लिभर तथा क्यान्सर जस्ता रोग लागेमा एवम् प्रसुति सम्बन्धि समस्याका महिलाहरुमा जिवन रक्षाका लागि आवश्यक पर्न सक्ने रगतको महत्व बुझ्नसके हामी सबै रक्तदान गर्ने अभियानबाट भाग्ने छैनौं भन्ने कुरामा म आशाबादी रहेकोछु ।
सबै भन्दा पहिले रगत के हो र हाम्रो शरिरमा यसको भूमिका के हो भन्ने सम्बन्धमा हामीले जान्नु जरुरी छ । रगत हाम्रो शरिरको मुटु र रक्तनलीहरुमा निरन्तर बगिरहने एउटा तरल पदार्थ हो । शरिरमा रगत नभएमा हाम्रो मस्तिष्क ४ मिनटमा र मुटु छ घण्टामा निष्कृय हुन सक्दछ । रगतमा ४५ प्रतिसत कोशिकाहरु छन् जसमा तीन प्रकारका रक्तकणहरु (RBC, WBC & Platelets) हुन्छन् भने ५५ प्रतिशत तरल पदार्थ (Plazma) मा क्लटिंग रहेका हुन्छन् । हाम्रो शरिरका विभिन्न अंगहरुलार्इ आवश्यक पौष्टिक तत्वहरु रगतमा पाइन्छ र शरिर भरि दौडिएर पौष्टिक तत्व पुर्याउनु यसको बिषेशता हो । आरबिसिले फोक्सोबाट कोशिकाहरुमा अक्सिजन पुर्याउने र कोशिकाबाट फोक्सोमा कार्वनडाइअक्साइड फर्काउने काम गर्दछ । त्यसै गरि डब्लुबिसिले हाम्रो शरिरको रक्षा गर्ने काम गर्दछ, प्लेटलेट्सले रक्तस्राब हुँदा रगत जमाउन सहयोग गर्दछ भने क्लटिंग तत्वहरुले रक्तस्राब हुँदा रगत जमाउदछ ।
हाम्रो शरिरमा रगत बोन म्यारोमा बन्दछ । रगत बनाउन लौह तत्व, फोकि एसिड र अन्य भिटामिनको आवश्यक्ता पर्दछ । जुन हामी खानाबाट सजिलै लिन सक्दछौं तर भ्रुण अवस्था तथा नवजात शिशुको रगत कलेजो र फियोले बनाउँछ । हाम्रो शरिरमा नयाँ रगत बन्ने र पुरानो रगत नष्ट हुने प्रकृया निरन्तर चलिरहन्छ । यसरि तयार हुने आरबिसिको आयु १२० दिनको हुन्छ र पूनः पुरानो रगत नष्ट भइ नयाँ रगत बन्दछ । यो प्रकृयामा नष्ट हुन लागेको रगत हामीले दानगर्न सक्यौ भने हामीले जिवनदान गर्न सकेको मान्यता राख्दछौं र मलाई लाग्छ यो भन्दा ठूलो पूण्य अरु केहि छैन संसारमा । यहि बुझाइमै मैले पनि रक्तदानलाई निरन्तरता दिइरहेको छु र सम्भवत मैले दान गरेको रगतबाट झण्डै चालीस जिन्दगीहरुले जिवनदान पाएको मेरो बुझाइ रहेको छ ।
कस्ता मानिसले रक्तदान गर्ने, मानिसको शरिरमा कति नै रगत हुन्छ र कति दान गर्ने भन्ने सम्बन्धमा पनि केहि कुरा राख्न चाहन्छु । पुरुष वा महिलालाई दैनिक कार्य संचालनका लागि प्रति केजी मानब शरिरमा ५० मिली लिटर रगतको आवश्यक्ता पर्दछ तर स्वस्थ्य पुरुषको शरिरमा ७६ मिलि लिटर प्रति केजी तथा महिलाको शरिरमा ६६ मिलि लिटर प्रति केजी रगतको मात्रा भेटिन्छ । यस अर्थमा पनि प्रति पुरुष २६ मिलि लिटर तथा प्रतिमहिला १६ मिलि लिटर रगत जगेडा पाइन्छ । तथापी प्रति केजी ८ मिलि लिटर स्वस्थ्य मानिसले सजिलै रक्तदान गर्न सक्दछ । यदि उ न्युनतम ४५ केजीको छ भने ४५x८=३६० मिलि लिटर रक्तदान गर्न सक्षम मानिन्छ । तर हामीले रक्तदान गर्ने ब्यागको क्षमता ३५० मिलि लिटरको हुने गर्दछ र ५० मिलि लिटर रगत जम्न नदिने औषधी राखिएको हुन्छ ।
तसर्थ १७ वर्ष पुरा गरेका ६० वर्ष नकटेका, न्यूनतम ४५ केजी तौल भएका, ब्लड प्रेसर १००/७० देखि १६०/९५ भित्रका स्वस्थ्य मानिस जो शारिरीक परिक्षणमा मुटु, फोक्सो तथा कलेजो क्रियाशिल रहेको, जन्डीस, मलेरिया, टाइफाइड, एड्स जस्ता कुनै पनि रोगबाट ग्रसित नभएका र निरन्तर औषधी सेवन नगरेकाहरु रक्तदानका लागि सक्षम ब्यक्ति मानिएका छन् । पुरुषका लागि हरेक तीन महिनामा र महिलाका लागि हरेक छ महिनामा रक्तदान गर्नु मानवियता भित्र पर्ने जिवनदान हो भन्दा फरक नपर्ला । शुभ समाचार के पनि छ भने केहि समय अघि सरकारले नयाँ निति पनि ल्याएको छ, पच्चिस पटक भन्दा बढी रक्तदान गर्नेहरुका लागि रक्तपरिक्षणमा ९० प्रतिसत सम्मको छुट । सकारात्मक सुरुवातको सम्मान गर्दै यहाँहरु सम्पूर्ण स्वस्थ्य नागरिकहरुलाई जिवनमा एक पटक मात्रै भए पनि रक्तदान गनुहुर्न हार्दिक अनुरोध गर्दछु ।
Posted on 2014-09-06
