Manoj Dhungana

ऊ पागल अवश्य छ तर विश्वास राख, उसको पागलपनमा सत्यता छ !

बरु बेचौँ न नेपाल

शुक्रबार, भाद्र २५, २०७२

सधै म आफूले आफैलाई नेपालको छोरो भन्न रुचाउने मान्छे । हुन पनि त हो नि, मेरो जन्मको आधारमा मैले पाएको परिचय हो यो । आज पनि म यहि अस्तित्वमा जिवीत छु र यसको निरन्तरताको अपेक्षा गर्दछु । म नेपालमा जन्मिएको मान्छे, अर्थात बिश्वलाई चिनाउनु पर्दा बुद्धको जन्मभूमि, सगरमाथाको आँगन अथवा पूर्व मेची देखि पश्चीम महाकाली सम्मको सिंगो नेपालमा जन्मिएको मान्छे । यस्तै छ नेपालको पहिचान जहाँ हिमाल छ, पहाड छ, तराइ छ, नदीनाला छन्, बनजंगल छन् अनि चारजात छत्तीस वर्ण छन् तव त यो सिंगो नेपाल छ, । जसलाई बिश्वले चिनेको छ, अनेकतामा एकता भएको सुन्दर, शान्त नेपाल भनेर ।
मेरो जन्मभूमि म संवृद्ध भएको हेर्न चाहन्छु । सम्भवःत जो कोहिले आफ्नो जन्मभूमि प्रति यहि चाहना राखेको हुनुपर्दछ । यदि म गलत छैन भने हरेक व्यक्तिले आफ्नो जन्मभूमिलाई चिराचिरा परेर टुक्रिएको हेर्न चाहँदैन र पनि मेरो देश टुक्रिन खोजेको छ । कसैले डरको आगो सल्काइदिएको छ ति सोझा निमूखा नागरीकहरुको मनमा । तेरो जन्मभूमि भन्नु नै तँ बसेको गाउँ टोल, समाज हो, तेरो जाती सँग अरु जाती मिल्नै सक्दैन, यसको छुट्टै पहिचान हुनुपर्दछ । यस्तो भयो भने तिमीहरुको छुट्टै अस्तीत्व र पहिचान रहन्छ, यो पहिचान नयाँ संबिधानमा कायम नगरि हुदैन भनेर झगडाको बिउ रोपिदिएका छन् प्रदेशको नाममा, संघियताको नाममा, जातियताको नाममा, हिमालीको नाममा, पहाडीको नाममा अनि मधेसीको नाममा ।
देशको राजनैतिक अवस्था र यसले निम्त्याएको दुर्दशा देखेर मन चसचसी घोचेको छ । हिजो सम्म संगै हासखेल गर्ने मधेसका दाजुभाइहरु आज फोन उठाउन छाडेका छन् ,उठाइहाले पनि गाली गलौजका भाषा प्रयोग गर्न बाध्य छन् । पहाडे र मधेसीको दुरीले ज्यान लिन सम्म तयार भएका छन् ।
तराई आन्दोलनको आगोमा सल्किदै गएको यो परिस्थितीमा सहजकर्ताका भूमिकामा देखिनुपर्ने महापुरुषहरु कहाँ गएँ यतिबेला, जसले आफूलाई मानव अधिकारकर्मीको संज्ञा दिने गर्दछन् ? महिनौ बितिसक्दा पनि सरकार किन मौन छ ? वार्ताको ढोका खोलेर समाधानको खोजी गर्न किन गम्भीर छैन सरकार ?
दैनिक जसो कफ्र्यू लगाएर जनजीवन थप कष्टकर बनाउनु, नाका बन्द,स्कूल बन्द, कलकारखाना बन्द अनि अनिवार्य आवश्यक्ताका सामग्रीको बजार भाउमा कालाबजारी हुनु रहस्यमय लाग्न थालेको छ । नेताहरुले आफ्नो अभिष्ट पुरागर्नका लागि सोझा र निमुखाहरुलाई तारो बनाएका हुन् भन्ने मेरो बुझाइ छ । त्यसो नहुदो हो त महिनौ सम्म चलेको तराइको आन्दोलनमा किन नागरिक मात्र मरिरहेका छन् ? आखिर नेताहरु पनि त पर्न सक्थे नि त्यो आन्दोलनमा ? नेताहरु कहिले उठ्छन् ब्यक्तिगत र दलगत स्वार्थ भन्दा माथि ? सरकार चलाउन अघि बढेका नेताहरु यदि बदमास हैनन् भने उनीहरुले सम्हालेका कुर्सीहरु नै जादुमय हुन त ? अथवा कुर्सीको रिमोट गैर नेपाली जादुगरको हातमा पो हो कि ? यदि यस्तो होइन भने किन सुध्रिदैनन् त यिनीहरु ? देश र जनता प्रति किन इमान्दार हुन सक्दैनन ? जनताकै बलमा ६०१ को बरखास्त गरेर नयाँ ढंगबाट देशको अमन चैन र शान्ति सुरक्षालाई नियन्त्रणमा ल्याउन धेरै ढिला भइसकेको छ ।
जति जति नेपालको इतिहास केलाउँछु त्यति त्यति मन छिया छिया भएर आउँछ । छिमेकी मूलुकहरु सँग गरिएका पुराना सन्धिहरु हेर्दा कसैले सिमाना बेचेको सुनिन्छ, कसैले पानी बेचे भनिन्छ, कसैले जंगल बेचे रे , आखिर हरेक पटकको खरिद बिक्रीमा कोहि न कोहि नेता वा मन्त्री वा कर्मचारी मोटाए वा आर्थिक लाभ लिए भन्ने हल्ला हामीले धेरै सुन्यौ । सबैले सधै देश बेचेरै मोटाउने हो भने किन हामी नागरिकहरु देश बेचाएर नेतालाई मात्र पोषाउने ? आन्तरिक द्धन्द मच्चाएर किन देश टुक्य्राउने तिर लाग्ने ? बरु बेचौँ न सिँगै नेपाल, राखिदिउँ न लिलामीमा !
जुन देशले आम नागरीकलाई रोजीरोटीको ग्यारेन्टी गर्दछ त्यसैलाई बेचौँ नेपाल । रोजगारी भएपछि अन्याय, अत्याचार, शोषण, दमन जे भए नि फरक पदैन हामीलाई । नुन देखि सुन सम्म आखिर बिदेशीकै साहारामा त पाउँछौ नि हामी । किन बनाइरहनु पर्यो पासपोर्ट ? किन पोसाइरहनु पर्यो वैदेशिक रोजगारमा पठाइदिने दलाली ? बस् काम अनुसारको दाम भए पुग्छ ।
अहिले पो हामी देश भित्र छौ र जे पनि गर्न सक्छौँ । चक्का जाम गर्न सक्छौ, नेपाल बन्द गर्न सक्छौँ त्यस्तै परे मान्छे मार्न सक्छौं र लगेर थुन्यो भने फेरी धर्ना दिएर, जुलुस निकालेर, पार्टीको सिफारीसमा छुटाउन समेत सक्छौँ । तर परदेशमा त हामी यो सबै कहाँ सक्छौ र ? घुँडा टेकेर, तेल मालिस गरेर पनि खुसी पारी हाल्छौं नि परदेशीलाई । आखिर हाम्रो जस्तो लोकतन्त्रको नाममा छाडा तन्त्र कहाँ छ र परदेशमा ?
हो हामी जे पनि गर्न सक्छौ नेपालमा । चाहेमा देश बनाउन सक्छौ, नचाहे तहसनहस हुने गरि भत्काउन सक्छौं । यो हाम्रो शक्ति हो र यसलाई राम्रो कामका लागि प्रयोग गर्यौँ भने देश बनाउन असम्भव कहाँ छ र ? रोजाइ हामी सबैको अन्तरआत्मामा छ ।

Posted on 2015-09-11