Manoj Dhungana

ऊ पागल अवश्य छ तर विश्वास राख, उसको पागलपनमा सत्यता छ !

“मायालु हुम्ला” भित्र हराउँदा

 

       फागुन Mayalu Humla२० गते काठमाण्डौ महानगरपालिका अगाडी साइत जुर्यो दामोदर पुडासैनी सर संग भेट्घाटका लागि । वहाँ आफ्नै कामको शिलशिलामा हेटौंडा आउँदा गजलकार मित्र बिमला कार्कीको पहलमा पहिलो पटक परिचित हुने अवसर पाएको थिएँ । यो मेरो दोश्रो भेट थियो वहाँ सँग, तर पनि सामाजिक संजाल र मोवाइल सम्पर्कका कारण हामी धेरै नजिकिइसकेका रहेछौँ । वहाँकै आतिथ्यतामा एउटा रेष्टुरेन्टमा करिव तीस चालीस मिनेटको चियापान सहित वर्तमानका साहित्यकार तथा साहित्यिक गतिबिधिमा चर्चा चलायौँ । बिदाइ सँगै कोसेलीको रुपमा वहाँका दुइ कृति “मायालु हुम्ला” र “सिमानाका रङ्ग सिमानाका तरङ्ग” पोल्टामा हालिदिनु भयो । कोसेली पाउँदा मेरो हर्षको सीमा रहेन । कहिले घर पुगौं र पढौँ भन्ने कौतुहलतामा जलिरहेँ केहि दिन, आफ्नै वाध्यताका कारण ।
२०१९ सालमा काठमाण्डौको जितपुरफेदीमा जन्मनु भएका दामोदर पुडासैनी “किशोर” १५ वर्षको किशोरावस्था देखि नै साहित्यिक फाँटमा अलग पहिचान बनाउँदै हिड्नु भएको र २०४९ मा “आफन्तका अनुहारहरु” कविता संग्रहबाट कृति जन्माउने अभियानमा लाग्नु भएको देखिन्छ । बिशेषतः नेपाल सरकार अन्तरगत महालेखा परिक्षकको कार्यालयको जागिरे जीवनमा भौतारिदै जहाँ पुगिए पनि समय अनुरुप आपूmलाई ढाल्न सक्ने, निराशाका काला बादलहरु मडारीरहँदा पनि आशाको किरण जगाउन सक्ने, नआत्तिने, नमात्तिने, मिलनसार, सहयोगी तथा बहुप्रतिभाशाली बिद्धान भएकै कारण वहाँले आपूmले घुमेका, देखेका स्वदेशी तथा बिदेशी स्थान र भोगिएका अनुभवहरुलाई रोचक ढंगमा कविता तथा नियात्राको माध्यमबाट हामी समक्ष कोसेलीका रुपमा पस्कन सक्षम हुनु भएको छ ।
हुम्ला अर्थात कर्णाली अञ्चलको पाँच जिल्ला मध्ये ५६५५ वर्ग कि.मी. मा पैmलिएको सत्ताइस गा.बि.स.मा बिभाजित अत्यन्तै दुर्गम दुरदराजको हिमाली जिल्ला, भौगोलिक हिसाबमा नेपालको दोश्रो ठूलो जिल्ला र जनघनत्वको हिसाबमा पनि सबै भन्दा कम जनघनत्वको दोश्रो जिल्ला, जहाँ करिव ५०–५५ हजारका हाराहारीमा नेपाली नागरिकहरु बसोबास गर्दछन् । राष्ट्रिय राजमार्गको संजालले छुन नसकेको, सरकारको दिर्घकालिन गुरुयोजनामा पर्न नसकेको कारण सधै नुन र चामलको अभाव रहेको मेरो बुझाइको हिमाली हुम्ला । सुनेको, पढेको कुरा थियो यो मेरो लागि तर जव वहाँको पुस्तक मेरो हातमा पर्यो मलाई पनि हुम्लाको बारेमा अझ धेरै जान्ने उत्सुकताले गाँज्दै लग्यो ।
हुम्ला जिल्लाका समग्र सरकारी कार्यालयको लेखा परिक्षण सम्पन्न गर्नुपर्ने जागिरे जिम्मेवारी काँधमा बोकेर सहायक सहित हुम्लाको यात्रामा निस्किनु भएका महालेखा परिक्षक कार्यालयका निर्देशक “किशोर” नेपालगंजको ताज होटलमा बसेर हुम्लाको परिकल्पना गर्दै दैनिकीको रुपमा नियात्रा शुरु गर्नुहुन्छ २०६५ भाद्र १३ गते । असोज ११ गते सम्म आइपुग्दा नियात्राले हुम्ला बसाइका क्रममा भोगिएका, देखिएका जिन्दगीका अनगिन्ती पाटोहरु समेट्दै “सोचे जस्तो होइन जीवन” भन्ने निश्कर्ष सहित नियात्रा तयार भएको देखिन्छ । पढ्दै जाँदा पाठक स्वयम् लेखकलाई पछ्याउँदै हुम्ला घुमिरहेको भान पर्ने लेखन शैली र हुम्लाका वास्तविक यथार्थता संग गराइएको साक्षातकारका कारण यो कृति एक पटक पढ्नै पर्ने तथा संकलन गर्न योग्य रहेको छ । अझ सरकारी निकाय तथा शिर्ष नेताहरु जसको पहुँच सिधा देशको अर्थतन्त्र र विकाश निर्माण सँग गाँसिएको छ त्यस्ता ब्यक्तित्वहरुले कमसेकम एक पटक यो कृति पढिदिनुहुन म जोडदार आग्रह गर्दछु ।
“कस्ती होलिन् हँ हुम्ला ?” कौतुहलता भित्र अनगिन्ती कल्पनाका बादलहरु मडारीएका छन्, कोसौ माइलको दुरी रहे पनि मनका तारहरु जोडीएका छन् हुम्लाका भौगोलीकतासँग । अन्जानै मै प्रेमिका बनेकि छिन् हुम्ला । लेखक सरकारी अधिकारी भएर पनि ६ दिन सम्म टिकट नपाइएको पिडा, ट्राभल एजेन्सी, होटल साहु, रिक्सा चालक र सरकारी संयन्त्रको मिलेमतोमा हुम्ला जाने यात्रुहरुलाई नाङ्गेझार पार्ने परीपाटीको कथाको प्रस्तुती रोचक छ ।
नेपालगन्जबाट पच्चन्न मिनेटको चिलगाडी यात्रा पछि पुगिने हुम्लाको पहिलो दिन नै देखिन्छ, चरम अभावको नुन र चामलको संकट, जसको ठेक्का लिएका थिए सिडियो साब र खाद्य संस्थानले । अनियमितताको तोक आदेश अनुसार बितरण गर्ने परिपाटीका कारण कयौं दिन लाइनमा बसेका सर्वसाधारणले ५ देखि १५ किलो भन्दा बढि चामल नपाउनु तर छट्टु नेता र कर्मचारीहरुका लागि चालीस किलो सम्म उपलब्ध गराउनु, राहतको नाममा सरकारले जहाज चढाएर ल्याएको चामल नै उम्दा खानेकुरा हो भनेर परनिर्भरता तिर उक्साउदै असभ्यताको परिभाषा लादिएको रहेछ जुम्लाबासीहरुको मन मस्तिस्कमा । जसको कारण उब्जाउन सकिने स्थानीय उत्पादनमा कसैले ध्यान लगाएको देखिदैन, फलेका अन्न, फल तथा जडिबुटीहरु पनि पूर्णरुपमा सदुपयोग हुन सकेका छैनन् ।
लेखक लेखा परिक्षणलाई आफ्नो जिम्मेवारी त ठान्नु हुन्छ नै साथमा नयाँ परिवेश प्रति जान्ने बुझ्ने उत्सुकताका साथ साँझ बिहान तथा छुट्टीको समय सरकारी कर्मचारीहरुलाई उक्साउँदै हुम्लाको प्राकृतिक सुन्दरताको रसपानमा चुर्लुम्म डुबुल्कि मार्दै हाम्रा लागि जीवन दर्शनका मोतीहरु निकालिरहनु भएको छ । अर्का तर्पm स्वयम् कर्मचारी भएर पनि दुर्गमका कर्मचारीहरुले गरेका जालसाँझी, बिकास निर्माण, रसरंग तथा सुरासुन्दरी संगको लसपस जस्ता बिषयबस्तुमा शुक्ष्म अध्ययनका साथ चिरफार गर्नुभएको छ । एक त सरकारी अधिकारी, त्यसमाथि शुद्ध साकाहारी रहेर पनि हुम्लाका बिभिन्न घुम्ती तथा मोडहरुबाट हरेक पटक आपूmलाई नबिटुल्याइकन सकुशल निस्कन सक्नु वहाँको बौदिकता तथा मिलनसारिताको उत्कृष्ट उदाहरण पनि मान्दछु म ।
हिमाली स्पर्श सहितको हुम्लाको साक्षातकारमा वहाँ लेख्नु हुन्छ, कस्ती होलिन् हुम्ला ?, ढोकेको ढलिमली, स्पर्शको उच्छवास, प्रसव बेदनामा मृगनाभि, जिन्दगीको उकालोमा उल्लासको इन्द्रेणी, देउडा र जुनको जुहारीमा फाट्दै गरेका रातहरु, जात्रामा खजमजिएको आकास, झिङ्गिनको झकझक, हिउँभित्र हुर्किएको माया, उत्सर्गका धुनहरुमा छामिएको यचाइ, इन्द्रेणी प्यासका शृङ्खलाहरु, रल्लिङको रन्को र तोग्राको बुद्ध, हिमज्योतिका उदास धुनहरु, मृतसञ्जीवनी किनारमा मृत्यूका छायाहरु, मायालु हुम्ला, साकुरामा पलाइरहेका ऐंजेरुहरु, संगालेर राख, सम्हालेर राख र सोचे जस्तो होइन जीवन । हरेक दैनिकीलाई शिर्षक दिएर सान्दर्भिक तस्वीरहरु सहित अठार भागमा बिभाजीत नियात्राले समग्र हुम्ला परिभाषीत गरेकोे छ । जीन्दगीका हरेक पाटाहरुलाई नजिकबाट केलाइएको छ ।
आगोले नपोल्ने तर हिउँले टोक्ने हिमाली मौसम, मयलै मयलको पत्रले सजिएका हिमाली मान्छे, ठाउँ ठाउँमा टालिएको र कहिल्यै नधोइएको बख्खुहरु, बुझ्न असहज स्थानीय भाषा, संस्कृती, चार्डपर्वहरु, आतिथ्य सत्कार, देउडा नाच, जात्रा, अन्धविश्वास, सरकारी अधिकारीहरुको हालीमुहाली, तथा यार्चागुम्वाको खोजी जस्ता बिषयबस्तुहरुलाई चाखलाग्दो ढंगको प्रस्तुतिकरणले पाठकको मन सहजै तान्न सक्ने कला कौशलता वहाँको लेखनमा भेटन्छि । महाभारतको द्रौपतीको कथा जस्तै लाग्ने त्यहाँको बहुपती प्रथा । जति दाजुभाइ भएपनि एउटै स्वास्नी । स्वास्नी कै खटनमा कसैलाई लेक, कसैलाई बेसी त कसैलाई न्यानो माया । श्रीमानहरुले ति श्रीमतीको रेखदेख र चाकडी गर्न सकेनन् भने जारले टप्काइहाल्ने परम्परा । जति धेरै सँग पोइला जान सक्छन् त्यती नै इज्जतदार हुने महिलाहरु ।
निरन्तर बगिरहेको नदिबाट निकाल्न सकिने बिजुली होस वा जडीबुटीबाट प्रसोधन गर्न सकिने औषधी, स्थानीय तहमा फल्ने फापर, जौ, उवा, कागुनु चिनो, सिस्नो तथा तितेपातेहरुको सहि सदुपयोग हुन नसक्दा तथा चौरी, भेडाबाट उत्पादन हुनसक्ने भूवादार न्याना कपडाहरुको बजारीकरणमा कसैले चासो नदिँदा हुम्ला सँधै अभावमा अल्झिएको दमदार प्रस्तुति भेटिन्छ मायालु हुम्लाका गह्रागह्रामा । हिमाली जिल्लाहरुमा देखिने हिउँहरुमा रमाइरहँदा बिदेशीले आफ्ना हिमप्रदेशहरुलाई सजाएर, पर्यटक आकर्षणको केन्द्रबिन्दु बनाइ आत्मनिर्भर बन्न गांसिएका प्रसंग मनन योग्य छ । आम नागरिकले देख्ने हरेक अफ्ट्याराहरुमा वहाँले आशाका किरणहरु जगाउनु भएको छ । अभावहरुका बिच पनि स्थानीय स्रोत साधनको उपयोग गरि आत्मनिर्भर बन्न÷बनाउन सकिने अनगिन्ती आधारहरु प्रस्तुत गरिएको पाइन्छ ।
खानलाई चामल नभए पनि पिउनका लागि रक्सी र पहिरिनका लागि सुन प्रसस्त भेटिन्छ हुम्लामा । कर्मचारीहरुले नै बंकर नामाकरण गरेका छन् होटलहरुलाई, जहाँ छिरे पछि हरेक कुरा खान, पिउन, बस्न तथा अन्य सबै रसरङको बन्दोबस्त । साहुनीहरुले कर्मचारीलाई आफ्नो बसमा पार्ने र कर्मचारीहरु पनि महिला भनेपछि परिवार नै बिर्सने परिपाटी मौलाएका कारण सर्वसाधारणले खानका लागि चामल नपाउने तर हुम्ला भित्रिएका चामलको ठूलो हिस्सा रक्सीमा खर्च भएको प्रष्टिएको छ । त्यस्तै यहाँका युवाहरु बैदेशिक रोजगारबाट फर्कदा कोशेलीमा सुन नै ल्याउने गरेका कारण धेरै महिलाहरुका लागि चामल भन्दा सुन सहज देखिएको छ ।
आँगन मै स्याउहरु लटरम्म फले पनि टिपेर खाने कोहि छैन, बेच्नका लागि बजार छैन, हामी त्यहि स्याउ छिमेकी मुलुकबाट झिकाएर खाँदैछौँ । तिब्बतको पिठ्यूको रुपमा मानिने हुम्ला, हुम्लीहरुका लागि नेपालका अन्य भागमा जोडीनु भन्दा चीनका नाकाहरुबाट आफ्ना घरायसी आवश्यक्ताका सामानका लागि सहज मान्दछन् तर नेपालकै अर्को जिल्ला वा शहर सम्म जाने राजमार्ग बनाउने हिम्मत कुनै सरकार वा नेतृत्व पंत्तिमा छैन बरु दुर्गम भनेर अवहेलना गरिएको छ । सिंगो शरिरमा कुन अंग दुर्गम र कुन अंग सुगम मान्ने ? यदि यो नियम लागू हुन सक्दैन भने समग्र नेपाललाई किन सुगम र दुर्गमको राजनितीमा जोड्छन् शासकहरु ? कर्णलीबाट काठमाण्डौ जोडिन असहज भएपछि काठमाण्डौलाई किन भनिएन दुर्गम ? दुर्गम भनेर बिकाश निर्माणमा ध्यान नदिनु शासकहरुको शोषण शैलीको पराकास्टा मान्ने गज्जबको प्रस्तुति पाइन्छ मायालु हुम्लामा हराउँदा ।
यात्राकै दौरान लेखकको नजर बाटो नजिकैको ढलमा परेको उदाहरण छ यहाँ, ढल खनिएको छ, पानी जमेको छ, सिमेन्टका स्ल्याबहरु बनाएर नाली छोप्ने काम पनि भएको छ । लेखक वरीपरि नजर घुमाउनु हुन्छ, नजिकै रहेको पत्रे चट्टानलाई फुटाएर प्रयोग गर्न सकिने सुवर्ण अवसर देख्नुहुन्छ । हजारौ रुपैया खर्चिएर चिलगाडी वा भेडा, गधाको बुइ चढाएर ल्याइएको सिमेन्ट, रडको प्रयोग गरिएको स्ल्याबको लागत कति बनाए होलान् कर्मचारीहरुले, चासो रहयो लेखकलाई । त्यस्तै सडक निर्माणको नाममा हरेक वर्ष ठेकेदार, स्थानीय राजनैतकि दलको सयन्त्र र कर्मचारीहरु बिच हुने सहमती, कागजी बिकास र भागबण्डा नमिलेको झगडालाई रक्सीको तालमा बेसुरा कर्मचारीहरुले ओकलेका गोप्यकुरा लेखकले बंकर भित्र छिरेर हासिल गरेको वास्तविक उपलब्धि लाग्दछ ।
कर्णालीलाई छामेपछि फरक सोच पलाएको छ लेखकको मन मस्तिस्कमा, जिन्दगीमा । लेखकका तर्क तथा मस्तिष्कमा उब्जिएका सम्भाब्यतालाई मात्र देशले पछ्याउने हो भने हुम्ला मात्र हैन पुरै कर्णाली अंचललाई सक्षम, सम्पन्न र आत्मनिर्भर बनाउन सक्ने खुराकहरु पुस्तकमा प्रसस्त पाउन सकिन्छ । कृतिकार आदरणीय अग्रज दामोदर पुडासैनी “किशोर” तथा वहाँको कृति “मायालु हुम्ला” को पूर्ण सफताको शुभकामना ।

१९ चैत्र, २०७२, मनाेरस वाटिका, हेटाैंडा

Posted on 2016-04-01