Manoj Dhungana

ऊ पागल अवश्य छ तर विश्वास राख, उसको पागलपनमा सत्यता छ !

सफल शल्यक्रिया गर्दै बिर्खे अन्जान

book          खैरहनी चितवनमा २०४० सालको नयाँ वर्षका दिन आमा शान्ता बर्तौलाको कोखबाट जन्मिलिइ दामन मकवानपुरलाई कर्म थलो बनाउँदै साहित्यिक फाँटमा मौलाएका स्रष्टा लक्ष्मण बर्तौला, जसलाई हामी बिर्खे अन्जान का नामबाट पनि चिन्दछौं । बिद्यालय जीवन मै साहित्यिक क्षेत्रमा विषेश रुचि राख्ने बर्तौलाले चौध वर्षकै कलिलो उमेर देखि जिल्ला स्तरिय निवन्ध प्रतियोगितामा सहभागि भएर आफ्नो उत्कृष्टताको पहिचान देखाउन सफल थिए ।

पालुङ साहित्य परिषद, दोभान पुस्तकालय र बचत पीडित सङ्घर्ष समितिमा अध्यक्षको जिम्मेवारी सम्हालिरहेका बर्तौला झण्डै आधा दर्जन संघ–संस्थाहरुमा आवद्द भइ सामाजिक क्षेत्रमा सकृय योगदान गरिरहेका छन् । निवन्ध, मुक्तक, कथा, गजल, कवितामा तथा समालोचनामा कलम चलाउने बर्तौलाले हाल सम्म दुइ दर्जनको हाराहारीमा पुरस्कार तथा सम्मान ग्रहण गरिसकेका छन् भने एकल तथा संयुक्त लेखन गरि ६ पुस्तकहरु प्रकाशन भइसकेकका छन् । पछिल्लो समयमा एक दशक भन्दा बढि समय उनी समालोचना तर्पm आकर्षित हुनुले पनि देश भरीका स्रष्टाहरुका माझ समालोचकका रुपमा ख्याति कमाएका छन् र त्यसैको प्रतिफल हो प्रस्तुत कृति शल्यक्रिया ।

शल्यक्रिया अर्थात चिरफार । डाक्टरहरुले बचाउनका लागि र कसाहिहरुले मार्नका लागि चिरफार गर्छन् । कुनै पनि बस्तु चिरफार गर्नुपूर्व त्यस बस्तुका अवयव, गुण, अवगुणहरु थाहा हुन सकेन भने डाक्टर र कसाहिमा कुनै अन्तर रहँदैन ।

बिर्खे अन्जान, एक दशक भन्दा लामो समय देखि उत्कृष्ट समालोचकको रुपमा सुनिए पनि समालोचनामा उनी कति पास, कति फेल भन्ने निर्णय हुन सकिरहेको थिएन । यस अर्थले पनि उनको समालोचना अभ्यासको परिक्षा पछि को नतिजा हो शल्यक्रिया । बिभिन्न बिधाका पुस्तक तथा स्रष्टाहरुको शुक्ष्म अध्ययन गर्दै पुस्तकले उठान गरेका बिषय बस्तुको औचित्य तथा स्रष्टालाई अनुभव गरिएको भोगाइ प्रति सजग रहेर हरेक पाटोको चिरफार गर्नु चानचुने कुरा पक्कै हैन, तथापि एक दशक भन्दा लामो अनुभव र लगनशीलताका साथ लागिपरेकै कारण सफलताको सिंढी चढ्न सक्षम छन् उनी । हरेक शल्यक्रियामा उनले सैद्धान्तिक मान्यता भन्दा पनि आफ्नै मौलिकतामा बैचारिक अभिव्यक्तिको प्रयोग गरेका छन् । भाषागत रुपमा प्रभावकारी ढंगले लेखिएको हुँदा पुस्तक पढ्न शुरु गरेपछि नसकिए सम्म छाड्न मन लाग्दैन र पाठकहरुलाई समिक्षित कृति खोजीगरि पढ्न बाध्य बनाउन सफल छ शल्यक्रिया ।

थाहा नगरपालिकाका मार्पmत पालुङ साहित्य परिषदले प्रकाशनमा ल्याएको समालोचना सङ्ग्रह शल्यक्रिया दिपेन्द्र कुमार जोशी तथा सुमिना जोशीको आवरण कला तथा कम्प्यूटर सेटिङमा पल्लव साहित्य प्रतिष्ठानका अध्यक्ष श्री गोर्खे साईँलोको बिशेष सम्पादनमा चित्रवन प्रिन्टर्स प्रा.लि. चितवनले मुद्रण गरेको छ । मुल्य रु. २००/- राखिएको समालोचना सङ्ग्रहमा लेखकले चिरफारका दौरान बिभिन्न विधाका ११ कृतिहरु, तीन स्रष्टाहरु तथा एक निवन्ध बिधाको समिक्षा गरेका छन् ।

चिरफारमा पहिलो कृतिका रुपमा ‘गजल दर्शन’ का सन्दर्भमा सङ्क्षिप्त अनुभूति शिर्षकमा चितवनका स्रष्टा गोर्खे साइँलोद्धारा लिखित गजल दर्शन परेको छ । जुन २०६९ सालमा प्रकाशनमा आएको हो र गजल लेख्न चाहने तथा भविश्यमा आपूmलाई गजलकारका रुपमा उभ्याउन चाहने जो कोहिलाई पनि गजल कसरी लेखिन्छ, कस्तो हुनुपर्छ र गजलमा के के चाहिन्छ भन्ने खालका मार्गचित्र सहितको अनुशासनको दस्ताबेज मान्न सकिन्छ गजल दर्शन ।

पोखराका स्रष्टा कृष्ण पहारी र उनको ‘परिवेशभित्रका पीडाहरु’ माथि बैचारिक बहस शिर्षकमा मुक्तक संग्रह शल्यक्रियाको दोस्रो स्थानमा परेको छ । २०६५ सालमा प्रकाशित मुक्तक संग्रह “परिवेशभित्रका पीडाहरु” देश प्रतिको चिन्ता, राष्ट्रियताको संरक्षण, मायाप्रिती, सहिदका त्याग र बलिदान, घिनलाग्दो राजनिति, बढ्दो सामाजिक बिकृति, धर्म, संस्कृति तथा देशका मनोरम स्थानहरुका बिषयमा लक्षित भइ २१७ वटा जोडदार मुक्तकहरु समावेश छन् ।

तेश्रो स्थानमा परेका छन् मकवानपुरे कवि देवराज खरेलको कविता कृति, कवि खरेल र उनको ‘आत्मध्वनि’ सूक्ष्म समीक्षा शिर्षकमा । २०५६ साल देखि मातृभूमि साहित्य समाज, मकवानपुर तथा हाम्रो मातृभूमि साहित्यिक पत्रिकामा समृय रुपमा आवद्ध खरेलको कृतिमा देश, राजनिति, प्रेम तथा राष्ट्रियताका चेतनाका बिगुल फुक्न सक्षम तथा आफ्नै मौलिकताका ५६ कविताहरु समावेश छन् ।

शल्यक्रियाको चौथो श्रृंखलामा परेको छ कृष्णादेवी शर्मा श्रेष्ठ र उनको ‘क्रान्तिकारी विश्वेश्वर’ महाकाव्यको सङ्क्षिप्त अवलोकन । साहित्यिक, राजनैतिक तथा सामाजिक क्षेत्रमा आफ्नो वर्चस्व कायम राख्न सफल युगपुरुष विश्वेश्वर प्रसाद कोइरालाको जीवनीलाई केलाएर जन्म देखि मृत्यू सम्मका उनका योगदानहरु समेटिएको २०६९ सालमा प्रकाशित महाकाव्य “क्रान्तिकारी विश्वेश्वर” मा १६ प्रकारका छन्दहरु प्रयोग गरिएका छन् भने २६६० श्लोकबाट कृति तयार भएको छ ।

पाचौँ स्थानमा परेका छन् पर्वत जिल्लाका स्रष्टा शान्तिनारायण श्रेष्ठ । शान्तिनारायण श्रेष्ठ र रचनाको आलोकमा वस्तुवादी विश्लेषण शिर्षक दिएर उनका विगत पाँच दशक लामो साहित्यिक योगदान तथा २०२७ साल देखि हाल सम्म काव्य, गीतीसंग्रह, गजलसंग्रह, हाइकुसंग्रह, नियात्रा संग्रह र मुक्तकसंग्रह गरि प्रकाशित १५ कृतिहरुका बिचको चर्चा परिचर्चा समावेश गरिएको छ ।

छैटौ स्थानमा रोजिएको विषय बस्तुले शिर्षक पाएको छ, बैचारिक कसीमा ‘व्यग्र चाँदनी’ । स्रष्टा खगेन्द्र गिरि ‘कोपिला’ को २०६१ मा प्रकाशित गजल संग्रह सँगै राष्ट्रवादी झल्कने गजलका कारण २०५९ सालमा प्रकाशित अर्को गजल संग्रह ‘उस्तैउस्तै नदीका उस्तैउस्तै छालहरु’ स्वतस्र्पmुत रुपमा तानिएको देखिन्छ ।

राजनीति र साहित्यका नक्षत्र वी. पी. ः सङ्क्षिप्त अवलोकन शिर्षकमा सातौ स्थानमा लेखक स्वयम्ले वी.पी. को राजनैतिक तथा साहित्यिक पाटोमा आपूmले हाँसिल गरेका ज्ञानहरु पत्रपत्र केलाएर आम पाठकहरुलाई वी.पी. संग साक्षातकार गराउन सफल भएका छन् ।

नेपाली साहित्यमा निबन्ध लेखन शिर्षकले आठौ स्थान ओगटेको छ शल्यक्यिामा । नेपाली साहित्यमा निबन्ध लेखनको शुरुवात कहाँबाट, कसरी भयो, बिगतमा चल्ने गरेका निवन्धका बिषय बस्तु र बर्तमानमा चलेका निबन्धहरुको पेरीफेरीमा रहेर १९६५ देखि २०७० सम्मका निबन्धका नालीबेली दस्तावेजका रुपमा लेखकले आफ्नै मौलिकतामा प्रस्तुत गरेका छन् ।

चितवन जिल्लाका चैनपुरे साहित्यकार खिलबहादुर अधिकारी, उर्फ पुष्प अधिकारी ‘अञ्जलि’ को सातौं कृतिको रुपमा प्रकाशित कविता संग्रह नवौ स्थान कब्जा गर्न सफल भएको छ, अनुभूतिको कसीमा पीडैपीडाको शृङ्खला ‘म कवितामा देश खोजिरहेछु’ शिर्षक लिएर । कला, बौद्धिकता, विचार, कल्पना तथा संवेदनामा पौडीएर समय सान्दर्भिक राष्ट्रिय मुद्धाहरुलाई सरल–सरस भावनामा उठान गर्दै आफ्नो कलाकारिता प्रस्तुतगरि पाठकहरुका लागि संकलन योग्य कृति जन्माएका छन् अञ्जिलिले ।

कवि चौलागाईका काव्यप्रवृत्तिको सङक्षिप्त विवेचना शिर्षकको दशौं स्थानमा मकवानपुरे अर्का साहित्यकार आर.आर. चौलागाईले स्थान पाएका छन् । सिन्धुपाल्चोकमा जन्मिएर मकवानपुरलाई कर्मभूमि बनाउँदै उन्नाइस वर्षमै दुइ कृति जन्माउन सफल चौलागाईका आठ कृतिहरुको सेरोफेरोमा गरिएको काव्यप्रवृतिको विवेचना पढ्दा देशप्रेम, राजनैतिक बिकृतिको आक्रोश, बिद्रोह तथा व्यङ्ग्यले भरिपूर्ण उनका रचनाहरु पाठकका लागि बोधगम्य हुनसक्ने अनुमान लगाउन सकिन्छ ।

नवलपरासीका स्रष्टा मुक्तककार श्यामप्रसाद न्यौपानेको दोस्रो कृतिका रुपमा जन्मिएको मुक्तक संग्रह सोह्रदुनी आठ ः सङक्षिप्त विवेचना शल्यक्रियाको एघारौ स्थानमा परेको छ । नेपाली मुक्तकको क्षेत्रमा अलग पहिचान दिन सफल नवलपरासीका प्राध्यापक तथा गजलकारका समेत परिचय पाएका न्यौपानेले कसरी सोह्रदुनी आठ हुन्छ भनेर वर्तमान बिषयबस्तुलाई टपक्कै टिपेर रोचक र मनमोहक मसला प्रयोग गरि पाठकका सामू मुक्तकका रुपमा पस्किएका छन् ।

‘म र काठमाडौँ’ मा मनोज ढुङ्गानाको कथाकारिता शिर्षक दिएर बाह्रौँ स्थानमा चिरफारमा परेका छन् मकवानपुरे अर्का स्रष्टा मनोज ढुङ्गानाका कथा संग्रह । उन्नाइस वर्ष कै उमेरमा उपन्यास जस्तो जटिल बिषयमा हात हालेका लेखकको दोश्रो कृति कथा संग्रहमा समाजको कच्चा पदार्थलाई प्रशोधन गरी तयारी माल बनाएर समाजलाई नै उपहार दिइएका कथाहरु मूल्याङ्कन र चर्चाका दृष्टिले मनन योग्य छन् ।

तेह्रौँ स्थान पाएको छ विमला कार्की र यिनको ‘घाम नभएको आकाश’ ले । मकवानपुर बुढीचौर कि ससक्त गजल हस्ताक्षरका रुपमा स्थापित स्रष्टा विमला कार्की सुसं को दुई गजल संग्रह पथ्थरको मान्छे र घाम नभएको आकाश प्रकाशित भइसकेका छन् । यौन मनोविज्ञान, विसंगती, नारीवादी, राष्ट्रवादी तथा श्रृंगारिक गजल मार्फत आफ्नो मौलिकताको पहिचान बनाउन सक्रिय र सफल विमला सिंगो गजलफाँट कि आशालाग्दो बिहानी हुन् ।

चौधौँ स्थानमा शल्यक्रिया गरिएको छ ‘गाउँमा साइरन बजेपछि’ का केहि कुरा । स्याङ्जाली स्रष्टा द्धय मिलन समीर र लोकहरि पाण्डेय ‘क्ष्तििज’ का संयुक्त लेखनमा सजीएको कविता संग्रह हो । हामीले देखेका, भोगेका घट्ना तथा दुर्घटनाले बिझाएको मनबाट थोरै कुरामा पनि धेरै तथा चोटीलो प्रहार गर्न सक्ने भावुक र संवेदनशील अभिव्यक्तिमा आफ्ना कविता पस्किने युवाहरु नेपाली कविता यात्राका आशा लाग्दा प्रतिभा हुन् ।

पन्ध्रौ तथा अन्तिम स्थानमा परेका छन् साहित्यिक रणभूमिका सकृय सष्टा प्रभाकर पण्डित ‘समय’ माथि सापेक्षिक दृष्टिकोण मार्फत । प्रगतिवादी कित्ताका लेखकका रुपमा आपूmलाई परिचित गराउँदै समाजका वेदनाका भारीहरुलाई, सर्वहाराका पीडाहरुलाई, दुःखका पर्खालहरुलाई गजलका माध्यमले चेतनाको सन्देश बनाएर पस्किदिएका छन् समय गजल कृति मार्पmत ।

बिर्खे अन्जानको यो मेहनतको प्रशंसा त गर्नै पर्छ तथापी पढ्दै जाँदा खड्केको कुरा के हो भने शिर्षक अनुसारका हरेक कृति, स्रष्टा तथा विधाका समिक्षा भइरहँदा विषय बस्तुको इतिहास देखि वर्तमान सम्मका नालीवेली साथै सोहि बिधामा कलम चलाइरहेका अन्य अग्रज तथा समकालिन स्रष्टाहरुलाई आवश्यक्ता भन्दा बढी तन्काइदिएर तिनका बिशेषतालाई टपक्कै टिपेर गाँसिदिँदा पाठकहरुको ध्यान समिक्षीत कृति भन्दा बाहिर जानसक्ने संभावना देखिएको छ ।

समग्रमा मकवानपुरे माटोमा हुर्किएका बिर्खे अन्जान, स्रष्टाका कृतिहरुलाई चिरफारगर्दै आन्तरिक तथा बाह्यि अवयवहरु केलाउँदै अनि सिलाउँदै आज एक सफल र उत्कृष्ट सर्जनको बिल्ला धारण गर्न सफल भएका छन् । उनको शल्यक्रियाको सफलताको कामना गर्दै यहाँहरुले पनि आफ्ना प्रकाशित कृतिको शल्यक्रिया गराउन जिल्ला बाहिर जानु नपर्ने र निष्पक्ष रुपमा यहाँहरुको कृतिको सफल शल्यक्रिया हुन सक्नेमा म आशावादी छु ।

१५ अश्विन २०७२, हेटौंडा

Posted on 2015-10-02