Manoj Dhungana

ऊ पागल अवश्य छ तर विश्वास राख, उसको पागलपनमा सत्यता छ !

खेलौना

जागीरको शिलशिलामा जनकपुरको बसाइ फिटिक्कै मन परेको थिएन तर पनि अनगिन्ति बाध्यता थिए मेरा । राम्रो र सफा बासस्थानको खोजि गर्दागर्दै थाके पछि म केहि महिना देखि बिवाह मण्डप पछाडी बस्दै थिएँ । अफिस भानुचोक,  बिवाह मण्डप देखि भानुचोक सम्मको आवत जावत मेरो दैनिकी । त्यसमाथि जनकपुर उपनगरपालिकाले जानकी मन्दिर परिसरका सडक तथा ढल निर्माणको काम चलाइरहँदा बाटो अवरोध भएपछि धुलो, हिलो बाट बच्न हरेक दिन बिहानै बेलुकै जानकीको आँगन टेक्नु मेरो वाध्यता । 
पौषको अन्तिम साता, एक साँझ अफिस छुटेर कोठा फर्किदै गर्दा बिवाह मण्डप परिसरमा एक युवती केहि डराए जस्तो, कोहि हराए जस्तो मुद्रामा देखेँ । चिसो मौसम, सुनसान माहौलमा गम्म लुगा लगाएकि बीस वर्ष पनि नकटेझै लाग्ने मधेसी, गोरी, एक्ली केटी, हातमा सानो ब्याग र कसैलाई मोबाइल लगाउँदै गरेको अवस्था । म केहि बेर त्यहि रोकिएर उनको चर्तिकला हेर्दै थिएँ । अचानक उनले मलाइ देखिन् र दौडिदै आएर भनिन्, 
भाइजी, हमर एगो हेल्प करु न । उनको सहजताका लागि मैले पनि कनिकुथि मैथली भाषा नै प्रयोग गरेँ । 
कहु न कि बात है ? 
इ नम्बर मै बात करादुु न, हमर मुवाइलसे नै लाइगरहलअ‍ैछ 
किनकर नम्बर है इ ?
हमर ब्याइफ्रेण्ड के नम्बर है भाइजी, बात करैला एकदम अर्जेन्ट अ‍ैछ ।
रुकु न हम कोशिस कर रहल छि     
मोवाइलको स्क्रिनले ६ बजेर १९ मिनेट गएको संकेत गर्दै थियो, डायल गर्न औलाले स्क्रिन लक खोल्दा मोबाइल वालमा मेरि जीवन संगीनी मसक्कै थिइन् । उनले दिएको नम्बरमा आफ्नो मोबाइलबाट दशौ पटक कोशिस गरें तर हरेक पटक एउटै जवाफ आइरहेको थियो 
माफ गर्नुहोला, तपाइले डायल गर्नु भएको नम्बर अहिले उपलब्ध हुन सकेन, कृपया केहि समय पछि पुनः प्रयास गर्नुहोला ।    
कहु न आँहाँके कि भेलै, कत्तो छोडे पर्तै कि ? 
उनको समस्याको वैकल्पिक समाधान निकाल्न वास्तविकता बझ्न चाहेँ । 
हमरा बहुत टेन्सन भरहल्छै कि, हमर ब्वाइफ्रेण्ड कहल के य साँढे पाँच बजे जानकी मन्दिर मे आवेला, ओकरबाद छे बजेके बस पकेडके काठमाण्डौ जायव, ओकरबाद बिहान भेले कोनो मन्दिरमै जाके बिवाह कलेब, लेकिन एक घण्टा भगेलै, उनकर मोबाइल मै कन्ट्याक नै भरहल छै ।
आजुकलके जमाना मै आँहाँ कैला भाग रहल छि, अपन माँ बाबु के निमन से सम्झाउ न,
आँहाँ केहेन गफ करैछि, मधेश के नियम मालुम नहि आँहाँ के ?
धार्नीको टाउको हल्लाउँदै अँ हँ थाहा छैन भन्ने इसारा गरेर म मौन भएँ उनको सवालमा,
घर कहाँ है आँहाँ के ?
मैले भने, हेटौडा,
उनले सोधिन्, कता छ यो हेटौडा ?
मकवानपुर जिल्ला, ३ नं. प्रदेशको राजधानी
ओ हो यो कुरा छ, पहिले किन भन्नु भएन ?
बल्ल उनको मुहार फेरियो, थोरै खुसी देखिइन् र नेपाली पनि बोल्न थालिन् ।
तपाइले मैथली बोल्दा बुझाउँदैन कि तपाई नेपाली हो, तपाई पनि मधेसी जस्तै लाग्यो ।
के भनेको यो ? तिमी सँग नेपाली नागरिकता छैन र ? मैले उनलाई प्रश्न गरेँ ।
छ कि, पिछला सालमा बनाएको ,
अनि तिमी पनि नेपाली भएनौ र ? 
हो कि, तर हामी पहाडीहरुलाई नेपाली भन्छु, हामी त मधेशी हो नि ।
यो एकदम गलत सोच हो, यदि तिमी आफु नेपाली हैन भन्छौ भने आजै आफ्नो नागरिकता च्यातेर फालिदेउ, नत्र नेपालमा बस्ने हरेक नागरिक नेपाली हो चाहे हिमालमा बसोस, वा पहाडमा वा मधेशमा । भौगोलिक धरातलको हिसाबले हामी हिमाली, पहाडी वा मधेसी जे भए पनि सबै नेपाली नै त हो ।
तपाइले राम्रो बुझाउनु भयो, आज देखि म पनि यो कुरा भन्नमा गल्ति गर्ने छैन, ध्यान दिएर बोल्नेछु ।
तिमी के भन्दै थियौ मधेशको चलन भनेर ? बरु कतै बसेर कुरा गरौ न, म त सारै भोकाएको छु, आज दिउँसो खाजा पनि खाएको छैन । 

मैले मन्दिर अगाडीको हँसराज हा्ेटल तर्पm इसारा गरेँ, उनले सहमति गर्दै अघि बढिन् ।
टेवल कब्जा गर्दै मैले २ प्लेट भेज मःमः अर्डर गरेँ, मैले उनको नाम सोधेँ, के रे तिम्रो नाम ? 
नन्दनी झा
अ के भन्दै थियौ नन्दनी, ल बसेर भन, उनी आफ्नो ब्यथा यसरि पोख्छिन् ।
कन्हैया चार क्लास देखिको बेस्ट फेण्ड, बुवा पुलिस इन्स्पेक्टर, सिराहाबाट जनकपुर सरुवा भएपछि आमा र बहिनी सँगै बसाइ सरेर मेरो घरमा डेरामा बस्न आएको । दुइ वर्ष पछि नजिकै जग्गा लिएर घर बनाएर बसेको छिमेकी । 

पहिलो सन्तान छोरा जन्मिएपछि दोस्रोमा सबैको रहर छोरी भएकोले आमा, बुवा र हजुरआमाका लागि गुडिया थिएँ म । म सँग खेलेर टाइम पास भएको पत्तो पाउँदैनथे परिवारका सदस्य तथा आफन्तहरु । कन्हैया र म सँगै पढ्यौ, सँगै बढ्यौ, धेरै कुरामा हाम्रो मत एउटै हुन्थ्यो, म उसको परिवारमा, उ मेरो परिवारमा सजिलै घुलमिल थियौं । उसका खेलौनाहरु म खेल्थेँ, मेरा खेलौनाहरु खेल्न उ लजाउँथ्यो । बन्दुक, गाडी, पजल जस्ता उसका खेलौना हुन्थे, म भने हजुरआमाले टालोले बनाइदिएको पुतली, आमाले जम्मा पारिदिनु भएको भाँडाकुटी खेल्थेँ । घरमा दाजुको खेल्ने सामान चलाउदा कति पटक कुटाइ खाएको देखेर कन्हैयाले आप्mनो घरमा खेलौना हरायो भन्दै मलाइ ल्याएर दिने गथ्र्यो । म त्यहि खेलौना लिएर उसको घरमा खेल्न जाँदा पोल खुलेर उसले कुटाइ खान्थ्यो तर कहिल्यै म सँग खेलौना फिर्ता लिँदैनथ्यो ।
हामी मिलेको, खेलेको देखेर हामी दुबैको परिवारले भन्ने गर्थे कि ठूलो भएपछि हामी दुइको बिहे गरिदिने भनेर । 
थाहा थिएन त्यो समय बिहेको अर्थ, त्यसैले हाम्रो प्रतिक्रिया केहि थिएन । जब उमेर बढ्यो, शारिरिक परिवर्तन हुन थाले तव बल्ल काउकुती लाग्न थाल्यो बाल्यकालमा अभिभावकले जिस्क्याएको कुराले । कन्हैया पनि एउटै उमेरको त थियो, भर्खर जुँगाको रेखी आउँदै गरेको, सलक्क परेको, अग्लो कन्हैया साँच्चिकै कन्हैया थियो, मन चोर्ने, दुख हर्ने । नौ क्लास सम्म हाम्रो माया मन मुटुमा मात्र थियो त्यसपछि यत्र तत्र, सर्वत्र । 

तातो दुइ प्लेट मम आइपुग्यो टेवलमा, स्टिलको माने गिलासमा पानी पनि ।

तपाई त भोकाउनु भएको छ, मम पनि खाँदै गर्नुस् है भन्दै पोखिँदै जान्छिन् उनी आप्mनो बिगतमा ।
 
उ सँग तीन वर्ष देखि माया साटासाट भइरहेको कुरा परिवारमा कसैसँग लुकेको छैन, तर समाजमा चलिरहेको चलन र त्यहि समाजमा रहेको परिवारको इज्जत बचाइदिनका लागि मैले अयोध्या जानु पर्ने रे । यो सीताको जन्मभूमीमा जन्मिएको हामी सबै सीता, अनि यहाँका किशोरीहरु बैवाहिक जिवनमा बाँधिएर राम जन्मभूमी अयोध्या गएको अति उत्तम, त्यो पनि नभए भारत वर्षमा जानु पर्ने, सम्भव नै नभए आप्mनो शहर छोडेर जानु पर्ने भन्छन् यहाँ । त्यसैले यहाँका सबैजसो किशोरीहरुलाई माया लाउन खासै बन्देज छैन तर त्यो सम्बन्ध साकार पारेर बिवाह गर्ने अधिकार कसैलाई छैन । कसैकि छोरी छिमेकी केटा सँग भागी वा बिवाह गरि भने सारा टोलले उसका सबै परिवारलाई बहिस्कार गर्छन् । आज म पनि त्यहि अवस्थामा छु । एकातिर कन्हैयाको मायाको चिनो हुर्किदैछ, अर्काे तिर आउँदो माघ ३ गते मैले सधैका लागि जन्मभूमी छाडेर उत्तर प्रदेश, अयोध्याको रामनगर निवासी अमीतजी सँग बिहे गरेर जानुपर्ने निर्णय डेढ महिना अघि बुवाले गरिसक्नु भएको छ । जन्मिएर पुरै अठार वसन्त बिताएको मेरो प्यारो जन्मभूमि यो सुनारपट्टी, बाल्यकाल देखि संगै खेलेको आप्mनो माया गर्ने मान्छे छोडेर त्यो अनकन्टारमा कहिल्यै नदेखेको मान्छे सँग कसरि जिन्दगी गुजार्नु ? 

अचानक खिस्स हाँस्दै भन्दै थिइन् मैले किन सुनाएको होला है तपाइलाई यो सबै कुरा ।
मैले पनि मौका छोप्दै भने, भनन भन, आप्mनो कुरा सुनिदिने मान्छे हुदा मन कत्ति हल्का हुन्छ नि, हो कि हैन भन त ?
त्यो त हो नि, यतिबेला केटो सँग भागेर बस चढ्नु पर्ने मान्छे नचिनेको मान्छेलाई कथा सुनाएर बसिरहेको छु । 

तिम्रो केटो चाहिँ कता गएछ त ? सबै कुरा थाहा भएर पनि किन भाग्न लागेको त ? तिमीमा कन्हैयाको माया हुर्कदै गरेको कुरा घरमा थाहा छ ? 
मेरा लागि यो नयाँ बिषय भएकोले आपूm भित्रका जिज्ञासाहरु सबै छरपस्ट पारिदिएँ, उनले बिस्तारै गाँठो फुकाउँदै गइन् ।
केटो कहाँ छ भन्ने थाहा पाएको भए म यहाँ कहाँ हुन्थेँ र, मैले हार गुहार गर्न के बाँकी राखें होला र..., पहिले म इण्डिया बिहे गर्दिन भने कसैले मानेनन्, मेरो पेटमा कन्हैयाको गर्भ छ, म उसै सँग बिहे गर्छु भने, पहिले त पत्याएनन्  पछि मेरो बिहेको हतारो पर्यो एक हप्तामा कुरा छिनियो र त्यसपछिको पहिलो लगन मै बिहे हुने पैmसला । सुन्दैछु बुवाले यो सेटिंगकै कारण भोलि छोरीले दुख नपावस, आगो लागेर खरानीहुन नपरोस भनेर मागे भन्दा बढि तिलक दिनु भएको छ । 
मोबाइलमा घण्टी बज्छ, उ खुसीले बुरुक्क हुदै भन्छे, मेरो हिरोको फोन आयो ।
हामीले मम पनि खाइसकेका थियौँ, उसलाई केटाले जानकि मन्दिर प्रबेश द्धारमै बोलाएको रहेछ तर खुसी मुड छैन भन्दै म सँग बिदा हुन खोजि, म पुर्याउन जान्छु भन्ने बाहनामा तमासे बन्न खोजेँ, तर उनले सँगै नआउनुस् सबैले राम्रो मान्दैन, अलि पछि छुट्टै आएर हेर्नुहोला भन्दै बाहिरिइ, म पनि ममको भुक्तानी गरेर उसको तमासा हेर्न लम्किएँ ।

जानकी मन्दिर कै प्रवेश द्धारमा केहि महिला तथा पुरुष प्रहरी सहित हल्दार र इन्स्पेक्टरको उपस्थिती छ, मुड अफ मुद्रामा हल्दारको पहरेदारी कन्हैया उभिएको छ, उसको ममी, नन्दनीको बुवा, ममी र नन्दनी । कुरा गराइले इन्सपेक्टर कन्हैयाको बुवा हुनु पर्छ । सबै खनिएका छन् नन्दनी र कन्हैया माथि, त्यहाँ सँस्कार बचाउने अभियान छ, इज्जत बचाउने अभियान छ र सीतालाइ अन्माएर अयोध्या पठायने अभियान छ । सीता आपूm रामका लागि अपवित्र भएको बताइरहँदा उनका अभिभावकहरु सम्झाइ बुझाइ गरिरहेका छन् । आखिर सीतालाइ पनि त दाग लागेको थियो, उनले पनि अग्नि परिक्षा दिएकी थिइन् । सबै भन्दा ठुलो कुरा मधेशमा जन्मिएका चेलीहरु जन्मेदेखि आप्mना अभिभावकका लागि भार हुनेगरेको देखिन्छ, अर्काको जिम्मा लगाउनु पर्ने, तिलक सँगै बिदाइ गर्नुपर्ने जस्ता ब्यवहारिकताले गाँजेको छ । बाल्यकाल देखि किशोरावस्थामा यहाँका चेलीहरुले जे जस्ता खेलौनाहरु सँग खेले पनि यौवनकालमा चाहिँ आप्mनै बाबुले किनिदिएको खेलौना सँग खेल्न सक्यो भने मात्र टोल समाजमा बाबुको इज्जत यथावत रहने छ । त्यो पनि चानचुने खेलौना कहाँ हो र.. ? ज्वाइ रुपी खेलौना, जसलाई हैसियत नभएपनि घरजग्गा बेचेर होस वा ऋण काढेर लाखौ खर्चिएर किनिन्छ, मात्र छोरीको सुख, सुबिधा र गाउँको आप्mनो इज्जत धान्नका लागि । 

२ माघ २०७५ ,जनकपुर
 

Posted on 2019-01-16